बगनासकाली अब पूर्ण संस्थागत सुत्केरी गाउँपालिका « Nagarik Khabar

बगनासकाली अब पूर्ण संस्थागत सुत्केरी गाउँपालिका



पाल्पा । स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ ।

नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले झण्डै पाँच हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको छ । घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको सो गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आव २०७५/७६ मा ३७१ महिला विभिन्न स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पूर्ण संस्थागत सुत्केरी घोषणा बनाउन सहज भएको हो । सो अवधिमा युनाइटेड मिसन अस्पतालमा १८०, लुम्बिनी मेडिकल कलेज प्रभासमा ११४ र जिल्ला अस्पतालमा तीन प्रसूति हुन आएका थिए ।

यसैगरी सो अवधिमा तानसेन नगरपालिकाको मदनपोखरा स्वास्थ्यचौकीमा नौ, गाउँपालिकाभित्रको चापपानी स्वास्थ्यचौकीमा २१, खानीछाप स्वास्थ्यचौकीमा ११, नायरनमतलेस स्वास्थ्यचौकीमा सात, अन्य जिल्ला तथा विदेशमा २६ जना गरी ३७१ संस्थागत सुत्केरी भएको उल्लेख छ ।

एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार चारपटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २२५ चक्की आइरन खाएको हुनुपर्नेलगायतका व्यवस्था पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा हुनेछ । त्यस्तै पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाका लागि गर्भावस्थामा पिएमटीसिटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिटी खोप दुईपटक लगाएको हुनुपर्ने, सुत्केरीपश्चात प्रोटोकलअनुसार आमा र बच्चाको जाँच हुनुपर्नेलगायतका सूचक पूरा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: