क्यानको अध्यक्ष बन्ने पालो मेरै हो : नवराज कुँवर (भिडियोसहित) « Nagarik Khabar

क्यानको अध्यक्ष बन्ने पालो मेरै हो : नवराज कुँवर (भिडियोसहित)



काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) का वरिष्ठ उपाध्य नवराज कुँवरले क्यानलाई आधुनिक प्रविधि मैत्री र व्यवसायीको हितका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।

नागरिकखबरको नागरिक संवादमा कुराकानी गर्दै अध्यक्षका उम्मेदवार कुँवरले आफ्नो प्यानलमा लामो अनुभव भएका सक्षम प्रतिनिधहरु उम्मेदवार रहेको समेत बताए ।

‘२७ वर्षदेखि क्यानमा आबद्ध छु । क्यान संघ हुँदादेखि निरन्तर क्यानकै हितमा लागेर वरिष्ठ उपाध्यक्ष भएको छु,’ उनले नागरिक खबरसँग भने,‘अब क्यानको अध्यक्ष बन्ने मेरै पालो हो ।’

आगामी दिनमा झन् क्यानलाई मजबुत ढंगले अगाडी बढाउनको लागि उम्मेदवारी दिएको उनले बताए ।

‘क्यानमा आन्तरिक शुदृढिकरण गर्ने छु भने, अर्को चाहिँ देशमा सूचना प्रविधिको विकास विना कुनै पनि क्षेत्रको विकास हुन नसकेको अवस्था छ,’ उनले भने,‘सरकारले सूचना प्रविधिको क्षेत्रमा ल्याएको विषयलाई व्यावसायिक हिसाबले अघि बढाउन लबिङ गर्छु ।’

नागरिक संवादमा उनले भने,‘अन्तर्राष्ट्रिय च्याप्टर गठन गर्ने योजना छ ।’ त्यसका लागि कम्तिमा पनि सात वटा अन्तर्राष्ट्रिय च्याप्टर बनाएर विश्वमा विकास भएको प्रविधिलाई नेपालमा भित्र्याउने लक्ष्य राखेको उनले बताए । 

अहिले नेपाल सरकारले भिजिट २०२० लाई आधार मानेर र आफ्नो कार्यकालमा आइटी र टिआई (इन्फर्मेसन टेक्नोलोजी र टुरिजम इन्डस्ट्री) लाई मिलाएर उद्योगको रुपमा नेपालमा एउटा सेमिनार गर्ने समेत कुँवरले बताए ।

सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सूचना प्रविधिले मात्रै सम्भव हुने उनको भनाइ छ । पर्यटनको विकास, शिक्षा वा उद्योग लगाएत हरेक क्षेत्रमा सूचना प्रविधिलाई टुल्सको रुपमा प्रयोग गर्न सकियो भने त्यो क्षेत्रको विकास र समृद्धि छिटै हुने उनको भनाइ छ ।

यही मंसिर ७ गते हुने क्यानको निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष कुँवर र उपाध्यक्ष सुनैना घिमिरे पाण्डेको प्यानलबीच नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: