बार्षिक चार लाखभन्दा बढीको मूर्ति निर्यात, कहाँ-कहाँ पुग्छ नेपाली मूर्ति ? (भिडियो) « Nagarik Khabar

बार्षिक चार लाखभन्दा बढीको मूर्ति निर्यात, कहाँ-कहाँ पुग्छ नेपाली मूर्ति ? (भिडियो)



  • सञ्जय श्रेष्ठ

काठमाडौं । नेपालबाट विभिन्न देशमा बार्षिक ४ लाख भन्दा बढीको मूर्ति तथा थाङ्का निर्यात हुने पुरातत्व विभागले जानकारी दिएको छ ।

पुरातत्व विभागको रेकर्ड अनुसार आर्थिक बर्ष २०७४–७५ मा चार लाख १७ हजार एक सय ८३ मूर्ति र थाङ्का निर्यात भएको छ ।

नेपालबाट मूर्ति निर्यात हुने पहिलो मुलुक चीन हो । बिशेष गरी बौद्ध धर्मसँग सम्बन्धित मूर्तिहरु बढी निर्यात हुने पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले बताए ।

चीन बाहेक भारत, बंगलादेश, अमेरिका लगाएत हिन्दु तथा बौद्ध धर्ममा आस्था राख्ने मानिसको बाक्लो जनसंख्या भएको मुलुकमा मूर्तिहरु निर्यात हुने गरेको छ ।

नेपाली मूर्ति विभिन्न प्रयोजनको लागि विभिन्न देशमा पुग्ने गरेको कुँवरले बताए । बिक्रीको लागि, व्यक्तिगत प्रयोजनको लागि तथा मन्दिर, गुम्वा लगाएतक ठाउँमा राख्नका लागि नेपालबाट मूर्ति विदेश लगिने गरेको छ । बिशेष गरी बिदेशमा मेला तथा पर्वको समयमा बेच्नका लागि व्यापारीहरुले नेपालबाट मूर्ति लैजाने गरेको पाइएको छ ।

भिडियो

विदेशमा मूर्ति जाने सिजन भनेको असोज, कात्तिक र मंसिर महिना हो । यो समयमा विभिन्न चाडपर्व तथा मेला पर्ने भएको कारण यस समयमा बढी संख्यामा मूर्ति निर्यात हुने गर्दछ ।

विभागले व्यवसायीक प्रयोजनको लागि बनाएको नयाँ खाले मूर्तिहरुलाई मात्र विदेशमा लैजाने अनुमति दिने गर्दछ । सिजनको समयमा दैनिक १५ सयको हाराहारीमा मूर्ति विदेश लैजानको लागि सिफारिस लिन आउने विभागका कर्मचारी बताउछन् ।

मूर्तिको साइज, बनावट र गुणस्तरको आधारमा मूल्य निर्धारण गर्ने गरएको छ । एउटा ८–१० फिट अग्लो, उच्च गुणस्तरको मूर्तिको मुल्य ५ देखि ६ लाख सम्म पर्ने व्यवसायी बताउछन् । कालिगड तथा मूर्ति पसलेहरुले ग्राहकको अर्डर अनुसार मूर्तिहरु बनाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: