फर्केर हेर्दा : नेपालको जन्म कहिले र कसरी भयो ? « Nagarik Khabar

फर्केर हेर्दा : नेपालको जन्म कहिले र कसरी भयो ?



  • बुध्दिनारायण श्रेष्ठ, सीमाविद्

काठमाडौं । सम्बत् १७७९ पुस २७ गतेका दिन जन्मी बीस वर्षको उमेरमा १७९९ चैत्र २५ मा गोरखा राज्यको राजगद्दीमा बसेका राजा पृथ्वीनारायण शाहलाई सानै उमेरदेखि राजनीतिमा निकै चाख थियो ।

युवराज अवस्थादेखि नै यिनी अरुहरुप्रति जानकारी हाँसिल गर्नुका साथै कुटनीतिमा र देश र देशवार घुमफीर गर्न अभिरुची राख्दथ्ये । भारतमा अंग्रेजको प्रभुत्व बढ्दै गएको, नेपाल उपत्यका र पहाडी राज्यहरुको आपसी बेमेलको स्थिति बढ्दै गएको र बाइस–चौबिस राज्यहरुमा राज्य बिखण्डनको प्रक्रिया तीब्र भएको महशुस यिनले गरेका थिए ।

यी सबै राज्यहरुको एकआपसमा राम्रो सम्बन्ध नभएको खण्डमा अंग्रेजले यी सबै साना तिना राज्यहरुलाई हड्प्न सक्ने सम्भावना देखेर पृथ्वीनारायण शाहले यी सबै राज्यहरुलाई एकताको सुत्रमा बाँध्ने मनसाय गरे ।

कुनै पनि अभियान सुरु गर्नुभन्दा अगाडि त्यस क्षेत्रको समग्र रुपमा वस्तुस्थिति अध्ययन गर्नु आवश्यक पर्ने ठानी पृथ्वीनारायण शाह आफू राजगद्दीमा बसे लगत्तै नेपाल उपत्यकाको आर्थिक, सामाजिक तथा राजनीतिक भ्रमण गर्न निस्के ।

केही महिना भक्तपुरमा बसेर उपत्यकाको आन्तरिक मामिलाको जानकारी हासिल गरी आप्mनो कुटनीतिक आवधारणा बनाउन यिनी सफल भए । यीनले नेपाल उपत्यकामा मलिलो माटो भएको र कुलो सिंचाई सुविधाले कृषि व्यवसाय फष्टाउन सक्ने जानकारी पाए । तिब्बत तथा भारतसँग व्यापार कारोकार गर्न व्यवसायिक मार्गको विकास तथा विस्तार गर्न सकिने र आर्थिक रुपले पनि उपत्यका समृद्ध हुनसक्ने सम्भावनाले पृथ्वीनारायण शाहलाई उपत्यकामाथि सर गर्ने मनसाय भयो ।

तर, त्यस समयमा कान्तिपुरको अधिनमा रहेको नुवाकोट क्षेत्रमा सामरिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण रहेको ठानी यिनले पहिले यसै क्षेत्रमाथि कब्जा जमाउनु पर्ने धाराण राखे ।

नुवाकोट आप्mनो अधिनमा भएमा गोरखा दरबार बलियो हुनसक्ने र अर्कोतर्फ उपत्यका कमजोर अवस्थामा पुग्न सक्ने दूरदृष्टि यिनले बनाए । हुन पनि नुवाकोट क्षेत्रमा लडाइँका किल्ला रहेको र उपत्यकाबाट तिब्बतर्फ पस्ने घाँटीको रुपमा अवस्थित भएकाले यसको ठूलो महत्व थियो ।
नेपाल उपत्यकालाई हात पर्ने लक्ष्य राखी यिनले सम्बत् १८०० मा नुवाकोटमा हमला गरे । तर, त्यसताका गोर्खाली सैनिक त्यति सबल र सुदृढ भइ नसकेको र आप्mना सेनाभित्र योद्धाहरु पाण्डे र बस्नेतका बीच राम्रो सामन्जस्य नभएकोले पृथ्वीनारायण शाह नुवाकोटमा पराजय हुनुपर्यो ।

यस पराजयपछि यनिले कालु पाण्डेलाई मूल काजीको पदमा नियुक्त गरी अन्तिरिक स्थिति मदबुत बनाए । यसरी आप्mनो स्थितिमा सुधार भएपछि पुन आक्रमण गरी १८०१ असोज १५ गते गोर्खाली फौजले नुवाकोटमाथि कब्जा जमाउन सफल भइ गोर्खा राज्यको सिमाना विस्तार गरे ।
यसपछि यिनले उपत्यकाका चारैतिरका नाकाहरुमा कब्जा जमाई ‘‘गाँउले शहर घेरौंै’’ भन्ने रणनीति अपनाई वरिपरिका वस्तीहरु र थुम्का थुम्की आप्mनो मातहतमा पारेपछि उपत्यका नाकाबन्दीमा पर्न जान्छ भन्ने कुटनीति अख्तियार गरे ।

त्यसपछि सम्बत् १८०३ सम्ममा यिनले महादेवपोखरी, फर्पिङ, चित्लाङ, धर्मस्थली, नालदु्रम, सिरानचोक तथा शिवपुरीमाथि विजय हासिल गरे । यसै प्रसंगमा किर्तिपुरको किल्ला र उपत्यकाको दक्षिणमा रहेको मकवानपुरगढी जस्तो क्षेत्र लडाईको हिसावले सामरिक महत्वको विन्दु ठानी पहिले उपत्यका वरिपरिकाका ठाँउहरुमा कब्जा गरेपछि किर्तिपुरमा धावा गर्ने योजना बनाइयो । कीर्तिपुर अग्लो ठाँउमा रहेको र चारैतिर जङ्गगल भई पर्खालले चौबन्दी पारिएको मजबुद किल्ला थियो ।
कीर्तिपुर जित्न सकिए उपत्यकामा सजिलैसित विजयपताका फहराउन सकिने ठानियो । उपयुक्त रणनीतिलाई कार्यन्वयन गर्न १८१४ मंसिर १९ गते गोरखाली फौजले कीर्तिपुरमाथि आक्रमण ग¥यो ।
गोरखा सेनाले यस युद्धको सुरुमा निकै पेले तापनि अन्तिम समयमा गोरखाली सेनापपति कालु पाण्डे त्यहीँ मारिए र पृथ्वीनारायण शाह पनि झण्डै काटिएका थिए । परिमाणतः गोरखा फौजको हार भयो ।
मूलकाजी कालु पाण्डेले पृथ्वीनारायण शाहलाई राज्यको सिमाना फैलाउने अभियानको दौरानमा सहयोग गरी विभिन्न राज्य, रजौटाहरुसँग भएको युद्धमा ठूलो साहस एवंम सौर्य देखाएका थिए । तर, दुभाग्यवश कीर्तिपुरेहरुको हातबाट यिनको मृत्यु भयो ।

यसरी पराजय भए तापनि पृथ्वीनारायण शाह सेलाएर बसेनन् । यसपछि यिनले अब एकैपटक कीर्तिपुरमा आक्रमण नगरी नजिकैको बस्तिहरुमा पाँगा र चोभारमाथि पहिले कब्जा जमाए र १८२१ भदौ महिनामा कीर्तिपुरमा दोस्रो पटक आक्रमण गरे ।

गोरखालीको यस आक्रमणका विरुद्ध किर्तिपुरेहरुले आप्mनै बलबुतामा घमासान युद्ध गरे र गोरखाली सेनाका नेताहरुले सुरप्रताप शाह र दलकाजी शाहलाई सख्त घाइते बनाएका थिए । यसको फलस्वरुप गोरखालीहरुले यस पटक पनि पराजय भोग्नु पर्यो ।

कीर्तिपुरेसँग दुई पटक हार खाएपछि सोझो युद्धले मात्र नजितिने ठानी धानवाली काट्ने मौका पारी गोरखालीहरुले कीर्तिपुरमा घेरा हाले । यसै समयमा बालाजु किल्लामाथि विजय प्राप्त गरे । निकै महिनासम्म घेराबन्दीमा पर्नुभन्दा पानी सम्म पिउन नपाई कीर्तिपुरेहरुले विवश भई १८२२ चैत्र ३ गते गोरखाली फौजसँग आत्मासम्पर्ण गरे । यसरी विना युद्ध नै गोरखा राज्यको सिमाना कीर्तिपुरसमक्ष पुग्यो ।
अघिल्लो दुई पटकको हारको प्रक्रिया स्वरुप पृथ्वीनारायण शाहका फौजद्वारा कतिपय किर्तिपुरेहरुको नाक काटिएको थियो भन्ने भनाइ छ । कतिले चाँही यसलाई कपोलकल्पित घटना भनेका छन् ।

उपत्यकाको दक्षिणी सिमानातर्फ रहेको मकवानपुरगढी भारतसँगको व्यापारिक मार्गमा पर्ने जस्तै उत्तरतर्फको नुवाकोटबाट तिब्बत पस्ने नाका पनि महत्वपूर्ण थियो । यसैले उपत्यकालाई नाकबन्दीमा पार्न गोरखा फौज सिन्धुलीकोट, तिमिलाकोट र हरिपुर क्षेत्रमा विजय प्राप्त गरी मकवानपुरगढी समेतका क्षेत्रमा प्रवेश गर्यो । १० घण्टाको युद्धपश्तचात १८१९ साल भदौ महिनामा गोरखा राज्यको सीमारेखाले मकवानपुरलाई घेरी आप्mनो राज्यभित्र पार्यो । यसपछि गोरखालीले वि.स. १८२० मा धुलिखेल, बनेपा समेत सात गाँउ क्षेत्रमा विजयको सिमाना ताने ।

यसरी नेपाल उपत्यकाको वरिपरिका चारभञ्याङ्गका नाकाहरु पृथ्वीनारायण शाहको अधिनमा आएपछि उपत्यकावासीहरुको आर्थिक जीवन डाँवाडोर हुन पुग्यो । फलस्वरुप दैनिक उपभोगका खाद्य सामग्रीहरु नुन, तेल, मसाला, कपडासमेतको अभवा हुँदा उपत्यकामा हाहाकार मच्चियो ।

अर्कोतिर उपत्यकाका राजाहरुले सैनिकहरुलाई तलब रकम दिन नसकेर सेनाको मनोबल पनि कमजोर हुँदै गयो । यस्तो परिस्थितिमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतीय अंग्रेजसित सहायता मागे । १८२४ को भदौमा जनरल किनलकको नेतृत्वमा अंग्रेजी फौज सिन्धुलीगढीको छेउछाउमा आइ नपुग्दै गोरखाली फौजले गुरिल्ला आक्रमणगरी भारतीय फौजलाई सखाप पारेर बँचेकालाई लघारेर खेदे ।

अंग्रेजी फौज धपाएपछि तिनिहरुले फालेर भागेका प्रश्स्त हातहतियार खरखजना गोरखालीले हात पारे । यसबाट एकातिर पृथ्वीनारायण शाहको फौजलाई ठूलो हौसला मिल्यो भने अर्कोतिर कान्तिपुर सहित उपत्यकाका राजाहरको मनोबल घट्यो ।

यसका साथै उपत्यकाको राजनीतिक स्थिति, दरबारभित्रको आन्तिरिक कलह र एकआपसमा शत्रुताको भावनाले गर्दा कान्तिपुरेहरु निकै कमजोर भइसकेका थिए । कान्तिपुरका राजा जयप्रकाश मल्लामा रिसाहा प्रवृत्ति र शंकालुपनाको सवार भएकोले यिनका आफ्नो भाई तथा भारदारहरुमा अशान्तपना बढ्दै गएको थियो ।

ललितपुरको स्थितिमा व्यापक अराजकता फैलिएको थियो । राजा योगेन्द्र मल्लको मृत्युपछि अनेक समस्या उत्पन्न भयो । यसै प्रशंगमा प्रधान खलकले सर्वशक्तिमान भूमिका खेली नाम मात्रको राजाको रुपमा तेजनरसिंह मल्ललाई राजगद्धीम राखी वास्तिाविक अधिकार ६ प्रधानले आफ्नो हातमा लिए । यसले गर्दा त्यहाँको राजनीतिक स्थिति एकदमै भद्रगोल हुन पुग्यो । उता भक्तपुरका राजा रणजीत मल्लको दरबारभित्र पनि आन्तिरिक कलहले हल्ली खल्ली मच्चिएको थियो ।

रणजित मल्लले आप्mना दुई वर्षको छोरालाई उत्तरधिकारी घोषित गर्न खोज्दा ल्याइते रानीले विरोध गरिन् । यसले गर्दा उनमा आफुले नचाहँदा नचाहाँदै पनि मठ्याहा छोरालाई युवराज तोक्न पर्ने खण्ड हुन आयो ।
यसपछि दरबरिया कलह झन झन बढ्दै गयो र यसको फलस्वरुप दरबार कमजोर हुनु स्वभाविकै थियो ।

यसरी उपत्यकाका राजाहरु एकआपसमा कलह र शत्रुताले कमजोर भएको मौका छोपी पृथ्वीनारायण शाहले उपत्यकामामा नाकाबन्दीको नीति अख्तियार गरे । यिनले नुवाकोटलाई तिब्बततर्फ व्यापार गर्ने मार्ग पनि बन्द गरिदिए । उपत्यकाका धनिमानी व्यापारिवर्गले पनि भित्रभित्रै गोरखालीलाई मदत गर्न थाले । उपत्यकाभित्रको यस हाहाकार समय परिस्थितिलाई ठिक मौका ठानी गोरखाली फौजले कान्तिपुर राज्यको सिमाना भित्र प्रवेश गर्यो ।

सम्बत् १८२५ असोज १३ गते इन्द्रजात्राको दिन पृथ्वीनारायण शाहले कान्तिपुरमाथि सजिलैसित विजय प्रप्त गरी आफ्नो राज्यको सीमारेखा फैलाए । यसको लगत्तै असोज २४ गते ललितपुर पनि आफ्नो सीमारेखा भित्र पारे र १८२६ बैशाख १ गते ठिमी क्षेत्र र मंसिर १ गते भक्तपुरमाथि विजयप्राप्त गरी उपत्यकाको समस्त भूभागलाई समेत आफ्नो सिमानाभित्र बाँध्न सफल भए ।

यसरी गोरखा जन्मथालो भएको राजा पृथ्वीनारायण शाहले गोरखाका छेउछाउमा स साना राज्यहरु अंग्रेजको दवाव तथा अधिनमा नपरुन् भन्ने अभिप्रियाले उपत्यकाकादेखि दक्षिणका राज्यहरुलाई समेत समेटी एकत्रित पारे । अब आप्mनो सीमा विस्तृत भएकोले र राज्यको भूभाग उत्तर दक्षिणमा पनि फैलिएकोले पृथ्वीनारायण शाहले कान्तिपुरलाई आफ्नो देशको राजधानी बनाई गोरखा राज्यको सट्टा नेपाल राज्यको नामकरण गरेको घोषणा गरे । यसरी विधिवत रुपमा सम्बत् १८२६ मंसिर १ (१६ नोभेम्बर १७६९) मा नेपाल राज्यको भौगोलिक रुपको जन्म भयो ।

त्यस समयमा नेपाल राज्यको स्थापना नगरेको भए भारतमा अंग्रेजहरुको प्रभुत्व बढिरहेको हुनाले यस्ता साना तथा कमजोर राज्यहरु अंग्रेजको अधिनमा पर्ने थिएनन् भन्न सकिन्नथ्यो होला ।

मकवानपुरगढी-सिन्धुलीगढीजस्ता किल्लाहरुबाट गोरखाली फौजले अंग्रेज फौजलाई उत्तरतर्फ बढ्न नदिई अधिकांश अंग्रेज पल्टनीयाहरुलाई हताहत नपारेको भए, न नेपाल राज्यको जन्म हुन्थ्यो होला न त नेपाली जाति नै ।

यसको सम्पूर्ण श्रेय पृथ्वीनारायण शाहलाईनै जान्छ । पृथ्वीनारायण शाहले वंशजको स्वरुप प्रतापसिंह शाह र बहादुर शाहलाई जन्माएका थिए भने राज्यको रुपमा सम्बत् १८२६ मंसिर १ गते नेपाललाई जन्माए ।

हुन त नेपाल भन्ने शब्द अढाई हजार वर्षदेखि देखिदै आएको कुरा इतिहासविज्ञहरुको धारणा रहेको पाइन्छ । नेपालको प्रमाणिक इतिहास विकासक्रमको छैटौं शताब्दीदेखि सुरु हुन्छ भनेर पनि कुनै कुनै इतिहासवेत्ताहरु भन्छन् ।

अझ कुनै इतिहाविज्ञ भन्छन्ः जुन वेला नीप जाति पश्चिमबाट हिमालयको यो खण्डमा आइपुगेर जमिन आवाद गर्दै बसोबास गरे, त्यसवेलादेखि यो हिमालय खण्डको नाम ‘नेपाल’ बन्न आयो ।

नेपा–आल–नेपाल भइ यसरी नीपबाट नेपाल बनेको भन्ने एक तर्क पनि इतिहाविज्ञहरुले निकालेका छन । कसै कसैले न भन्ने मुनीले पालेको देश भएको हुनो नेपाल भनिएको हो पनि भन्छन् ।

अझ यो भन्दा पछिको कुरा गर्ने हो भने कान्तिपुर राज्यका राजाहरु पनि आफूलाई नेपालश्वर (नेपालको अधिपति) भएको दाबी गर्दथ्ये भन्ने पनि इतिहाविज्ञहरु भन्छन् । तर, यहाँ माथिकाका पानाहरुमा ‘नेपाल’ शब्द कहिलेदेखि या कसरी प्रचलनमा आयो भन्ने सम्बन्धमा उल्लेख गरिएको नभई एउटा अलि शक्तिशाली एकीकृत नेपालको जन्म भएको बिवरण उल्लेख गर्न खोजिएको हो ।

-श्रेष्ठको पुस्तक नेपालको सिमानाबाट

Photo Credit : Saurabh Dhakal

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: