उपनिर्वाचनपछि राजनीतिमा विद्याको पुनरागमन

विद्याको कमब्याक


SHARES

काठमाडौ । शनिबार सम्पन्न उपनिर्वाचनमा जित हासिल गरेपछि नेपालको राजनीतिमा विद्या भट्टराईले पुनरागमन गरेकी छन् । विद्यार्थी राजनीतिमा राम्रसँग जमेकी भट्टराई पछिल्लो समय भने राजनीतिबाट अलगजस्तै भएर प्राध्यापनमा संलग्न थिइन् ।

आफ्ना पति रविन्द्र भट्टराईले नेपालको राष्ट्रिय राजनीतिमा दर्बिलो उपस्थिति जनाउँदै गर्दा विद्याले उनलाई सघाइन् र प्राध्यापनतिर लागिन् । त्यसपछि रविन्द्रको निधनअघिसम्म विद्याले सक्रिय राजनीति गरिनन् ।

तर, २०७५ फागुन १५ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएपछि राजनीतिमा विद्याको पुनरागमन लगभग निश्चित जस्तै थियो । भयो पनि त्यही, उनी राष्ट्रिय राजनीतिमा प्रभावपूर्ण उपस्थिति जनाउँदै प्रतिनिधि सभाको सदस्य पदका कास्की–२ बाट निर्वाचित भएकी छिन् ।

रविन्द्र २०७५ फागनु १५ गते ताप्लेजुङको आठराई गाउँपालिकास्थित चुहानडाडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जाने क्रममा रविन्द्र सवार हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी अधिकारीसहित हेलिकोप्टरमा सवार सातै जनाको निधन भएको थियो ।

अधिकारीको निधनपश्चात् रिक्त रहेको कास्की २ मा गत शनिबार उपनिर्वाचन सम्पन्न भएको हो । उक्त निर्वाचनमा विद्याले विजय मात्रै हात पारेकी छैनन् आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई ८ हजार ४ सय ३ मतले पराजित गरेकी छिन् । यो मतान्तर रविन्द्रप्रतिको सहानुभूति त हो नै संगै विद्यासँगको आशा र अपेक्षा पनि हो ।

उपनिर्वाचनमा विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरेकी छन् । कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरेका छन् । त्यस्तै सो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका १९ जनाको जमानत जफत भएको छ ।

अधिकारीको निधनपछि नेकपामा नेता बामदेव गौतम पनि कास्की २ मा उम्मेदवार बनाउने चर्चा थियो । तर, कास्कीमा गौतमको उम्मेदवारी चर्चामै सीमित रह्यो । अन्ततः पूर्वानुमान गरिएजस्तै विद्याले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारको रुपमा कास्की–२ मा उम्मेदावरी दिइन् र विजयी भइन् ।

अधिकारीको ठाँउमा विद्या उम्मेदवार बन्ने भएपछि अर्को परिचर्चा भयो । नेपाली राजनीतिमा श्रीमानको मृत्युपछि श्रीमति उठाउने राजनीतिक संस्कारको । तर जे भए पनि उनैलाई उम्मेदवार बनाइयो र उनले पनि आफूलाई प्रमाणित गरिन्, पोखराका जनताले उनलाई विश्वास गरे ।

को हुन् विद्या ?

विद्या स्वार्गीय नेता रविन्द्र अधिकारीको सफलतासँग जोडिएकी व्यक्ति हुन् । सिन्धुपाल्चोकमा जन्मेकी विद्याले रविन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन सँगिनीका रुपमा ठूलो भूमिका खेलिन् । त्यसै क्रममा उनले आफ्नो राजनीतिक ‘करियर’ लाई पनि दाउमा राखिन् ।

करिब ४७ वर्षअघि सिन्धुपाल्चोकमा जन्मेकी विद्या र रविन्द्रको भेट विद्यार्थी आन्दोलनका क्रममा भएको थियो । तत्कालीन अनेरास्ववियुमा यी दुईको २०५० सालतिर भेटघाट भएको थियो ।

विद्या र रविन्द्र अनेरास्ववियुको केन्द्रीय कमिटीमा एकसाथ थिए । अखिलको महिला विभाग प्रमुख विद्या, कोषाध्यक्ष रविन्द्र । ११ जनाको सचिवालयमा दुबै संगै भए । दुवैको २०५६ सालमा विवाह भएको थियो ।

विहेपछि रविन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निश्कृय बन्दै गइन् । तर, रविन्द्रको निधनपश्चात् राजनीतिमा उनको पुनरोदय भएको छ ।

समाजशास्त्रमा एमफिल गरेकी उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन गर्दै थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार रहेका नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईकी बहिनी हुन विद्या । ०५४ सालमा एमाले विभाजन हुँदा राजन एमालेतिर र विद्या मालेतिर लागे । रविन्द्र पनि मालेमै थिए । त्यही समयमा उनीहरुको प्रेम झाँगिएको थियो ।

भट्टराईको राजनीतिक यात्रा

विद्या सात कक्षादेखि नै अनेरास्ववियुसँग जोडिइन् । विद्यालयको प्रारम्भिक कमिटीबाट गुणस्तरीय शिक्षाका कुरा उठाउँदै आन्दोलनमा होमिएकी नेतृ हुन् विद्या ।

२०४२ सालदेखि अनेरास्ववियुसँग जोडिएकी हुन । २०४६ सालको आन्दोलन अन्त्य हुनैलाग्दा विद्या पद्मकन्या क्याम्पस आइन् । त्यसपछि क्याम्पस कमिटीमा सक्रिय भइन् । विद्याको आन्दोलनमा सक्रियता बढ्दै थियो २०४७ मा क्याम्पस सम्मेलन भयो । त्यसपछि उनको भूमिका झन् बढ्यो ।

२०४८ मा पोखरामा सम्पन्न अनेरास्ववियुको सम्मेलनबाट अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य बनिन् भने अनेरास्ववियुकै महिला विभागकी सचिव हुँदै २०५० सालमा महिला विभाग प्रमुख बनिन् ।

२०५० देखि २०५५ सालसम्म भने उनी अनेरास्ववियुको सचिवालयमा थिइन् ।

त्यसपछि रविन्द्रसँग विवाह भयो । विवाहपछि बुद्धिजीवी परिषद्मा बसिन् । २०५९ बाट भने प्राज्ञिक मर्यादा कायम राख्दै राजनीतिक सक्रियता रोकियो र प्राध्यापनमा लागिन् ।

रविन्द्र अधिकारीसँग विवाह गरेको केही समयपछि विद्याले जसरी राजनीति रोकेर प्राध्यापनमा आफूलाई समर्पित गरेकी थिइन रविन्द्रको निधनपश्चात् उसैगरी प्राध्यापन रोकेर राजनीतिमा सक्रिय भएकी छन् ।

रविन्द्रको मृत्युपछि नेकपा कास्कीको पनि पहिलो रोजाइमा थिइन् उनी । जिल्लाको उक्त भावनालाई केन्द्रले पनि समर्थन गर्याे र विद्यालाई ‘टिकट’ । केन्द्रको यो निर्णयले नेकपा कास्की–२ झनै उत्साही बन्यो ।

जसको परिणाम विद्या कास्की– २ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV