प्याजपीडा : प्याज काट्दामात्रै होइन, किन्दासमेत आँसु बरर्र


SHARES

  • दीपेन्द्र राई

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याज नखाने घोषणा गरेकी छन् । बंगलादेशमा प्याजको मूल्य प्रतिकेजी २ सय ६० रुपैयाँ पुगेपछि प्रधानमन्त्री वाजेदले प्याज नखाने घोषणा गरे पनि नेपालमा प्याज नखाने भनेर अहिलेसम्म कसैले बोलेका छैनन् ।

तरकारीमा मसलाका रूपमा प्रयोग गरिने प्याजको मूल्य उकालो लागे पनि नेपालीले खान छाडेका छैनन् । तर, सामाजिक सञ्जालमा प्याजपीडा व्यक्त गर्न छाडिएको छैन । सामाजिक सञ्जालमा प्याजपीडा नओकलेको भए वरिष्ठ पत्रकार तीर्थ कोइरालाले यस्तो लेख्न बाध्य हुँदैनथे होलान् ।

कोइराला सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘ प्याजको अलि–अलि अभाव र बढ्दो मूल्यलाई लिएर सामाजिक सञ्जालमा भइरहेको रुवाबासी देख्दा त हामी नेपाली भातको बदला प्याज खान्थ्यौैं कि जस्तो पो लाग्यो । अर्को वर्ष आफ्नै बारीमा प्याज धेरै रोपौं, धेरै फलाऊँ ।’

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार हप्तैपिच्छेको प्याजको मूल्य १० रुपैयाँले उकालो लागेको छ । प्याजको मूल्य अचाक्ली बढेपछि सामाजिक सञ्जालमा पीडा पोख्नुको विकल्प छैन । ‘अब त प्याज काट्दामात्रै होइन,’ लक्षिता थापा श्रेष्ठ भन्छिन्, ‘प्याज किन्न जाँदा पनि आँसु आउँछ भौमान !’

हुन पनि हो, गत मंसिर १० गतेयता काठमाडौंको खुद्रा बजारमा प्याजको मूल्य २ सय ५० पुगेको छ । कुखुराको मासु र प्याजको मूल्य प्रतिकिलो २ सय ५० पुगेपछि सामाजिक सञ्जालमा व्यंग्यात्मक ‘स्टाटस’ लेख्नेको कमी छैन ।

त्यसमध्येका एक हुन्– पत्रकार गजेन्द्र बुढाथोकी । पत्रकार बुढाथोकीले फेसबुकमा व्यंग्य गरेका छन्, ‘पहिला चिकन चिल्ली मगाउँदा प्याज र क्याप्सिकनका बीचमा चिकन पिस खोज्नुपथ्र्यो, अब चिकनमा प्याज । प्याज: किलोको २५०, कुखुरा २३० ।’

कालीमाटी फलफूल तथा तरकारी विकास समिति उपनिर्देशक विनय श्रेष्ठले आफूलाई थाहा भएअनुसार प्याजको खुद्रा मूल्य २ सय ५० पुगेको अहिलेसम्मकै महँगो भएको जानकारी गराए ।

भारतबाट आयात गरिने प्याजको भारतमै मूल्य बढेकाले त्यसको असर नेपालमा परेको बताइन्छ । त्यतिमात्रै होइन, भारत सरकारले गत असोज १२ गतेदेखि प्याज निर्यातमा रोक लगाएको छ । प्याज निर्यातमा रोक लगाएपछि नेपाली उपभोक्ता मारमा परेका छन् ।

नेपाली उपभोक्ता मारमा परेको चिन्ता व्यक्त भइरहेकाले पत्रकार मातृका पौडेलसमेत प्याजबारे लेख्न विवश भए । ‘प्याजबारे बोल्नैपर्ने भो । हाम्रा बाउबाजेले किन प्याज खाँदैनथे, किल्लोर भयो होला नि ? (हाम्रा भन्नाले ऊबेलाका बाहुनबाजे भनेर बुझ्नुपर्नेछ),’ पत्रकार पौडेलले आह्वान गरे, ‘बाहुनले च्याउ खाओस् न च्याउको जात जानोस् । बाहुनले प्याज खाओस् न प्याजको भाउ जानोस् । पुनश्चः संसारका ब्राह्मणहरू एक हौं र लसुन, प्याज नखाने हाम्रा पुर्खाको सपना साकार पारौं ।’

इच्छाशक्ति भए नेपालीले करेसाबारीमै आफ्नो परिवारलाई पुग्ने प्याज उत्पादन गर्न सक्छन् । खानामा रुचि बढाउने, पेट दुखेको निको पार्ने र बान्ता रोक्ने प्याज महत्वपूर्ण मसला हो । यस्तो मसलाको मूल्यवृद्धि भएको पत्रकार अनिल गिरीको प्याजपीडा ‘स्टाटस’ ले प्रस्ट पार्छ । ‘प्याजको गेडो भर्याङमा राख्न सुरु गरियो,’ उनी लेख्छन्, ‘आउँदा जाँदा हेर्ने भनेर ।’

नेपालका ७७ जिल्लामा प्याज खेती हुने बताइन्छ । मुलुकमा असाध्यै कम उत्पादन भए पनि उपभोग भने बढ्दै गएको छ । ‘नेपालमा आफ्नो उत्पादनको पाँच प्रतिशतभन्दा कम हिस्सा भएका कारण तत्कालै प्याजको मूल्य घट्ने सम्भावना छैन,’ पत्रकार जुनारबावु बस्नेत दुःखेसो पोख्छन्, ‘विडम्बना आन्तरिक उत्पादनको नीति पनि छैन ।’

गत साउनदेखि तरकारीको मूल्यवृद्धि आकासिएको हो । विविध कारणले भारतबाट तरकारी आउन अवरोध भएको थियो । ‘उपभोक्ताको ढाड सेक्नेगरी मूल्य बढाएर आन्तरिक उत्पादनमा रमाउनु यथार्थ कम र आत्मरति बढी हुन सक्छ,’ उनले थपे, ‘बहस यता पनि जरुरी छ । युग भूमण्डलीकरणको पनि हो । सस्तो पाउने हक उपभोक्ताको पनि छ ।’

सदाझैं दसैं–तिहारपछि तरकारीको मूल्य घट्दै जानुपर्ने हो । यसपटक त्यस्तो छनक देखिएको छैन । त्यही भएर होला खोटाङकी मेजना राईलाई पनि उठ्नसम्म रिस उठेको हो । ‘मलाई प्याज खान मन लाग्दैन । तर, अरूलाई प्याच्च भन्न मन लाग्छ,’ राईले फेसबुकमार्फत आफ्नो मत अभिव्यक्त गरेकी छन्, ‘त्यै भएर बजारमा प्याजको भाउ बढेको ।’

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा ७८ हजार क्वीन्टल प्याज आयात गरिएको छ । नेपालले भारत र चीनबाट प्याज आयात गर्दै आएको छ । मंसिर लागेपछि तरकारीको मूल्य ओह्रालो लाग्ने आमउपभोक्ताको ठम्याइ छ । सो ठम्याइ यसपटक गलत साबित भयो ।

प्याजको मूल्य सुनेर तर्सिने तर्सेकै छन् । तर, नेपालीको भान्छा प्याजविहीन भएको छैन । प्याजको मूल्य बढेपछि प्याजपीडाबारे व्यक्त अभिव्यक्ति सिर्जनशील त्यत्तिकै देखिन्छ । प्याजपीडाले धेरैलाई सिर्जनशील बनाएको छ ।

पत्रकार तथा लेखक गणेशकुमार राईले फेसबुकमा प्याजपीडाबारे हँसिमजाक गरेका छन्, ‘पैसाको दुःख भो, तीन ट्रकजति, प्याजको कालो बजारी गरौं ल ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV