प्यास मेटाउँदै वाटर एटिएम, बिउ पनि एटिएमबाटै (भिडियो)


SHARES

सञ्जय श्रेष्ठ

ललितपुर । तिर्खा लाग्यो । एटिएममा जाने, एटिएमको बटम थिच्ने, पानी गिलासमा थापेर पिउने, अनि विद्यालय जाने । यो त्रि–पद्य विद्याश्राम माध्यामिक विद्यालयका बिद्यार्थीको दैनिकी हो । ललितपुर महानगर परिसरमा रहेको यो एटिएमको प्रयोगकर्ता विद्यार्थी मात्र होइनन् । यसबाटो भएर हिड्ने बटुवाले पनि तिर्खा लाग्दा एटिएमबाट पानी थापेर पिउन सक्छन् ।

तपाईंसँग दुई रूपैयाँको सिक्का अथवा १ रुपैयाँका दुइटा सिक्का छ भने ललितपुर महानगरको ढोकानजिक जडान गरिएको पधेँरो नामको एटिएमबाट एक गिलास पानी पिउन सक्नुहुन्छ। यसका लागि कसैको अनुमति लिनु पर्दैन। वाटर मेसिनमा पानी निकाल्ने तरिका अंग्रेजी र नेपालीमा लेखिएको छ। तरिका पनि सिकाइएकाले जो कोहीले सजिलै प्रयोग गर्न सक्छन्।

पानी पिउन ‘वाटर एटिएम’ सँगै २०० मिलिलिटरको (कागजको) गिलास राखिएको छ। मेसिनमा सिक्का हाल्नुस्। बटन दबाउनुस्। गिलासमा पानी पिउनुस्। पानी पिएपछि गिलास छेउमा राखेको डस्टबिनमा राख्नुहोस् ।

एटिएम भन्ने बित्तिकै मानिसको दिमागमा पैसा आउने कुरा अब पुरानो भइसकेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बताउँछन् । एटिएमबाट पैसा निकाल्ने बानी परेका सहर बजारका मानिसहरु अब एटिएमबाट पानी पिउन सक्नेछन् ।

भिडियो हेर्नुहोस्ः

ललितपुरमा पानी एटिएम मात्र होइन उन्नत जातका तरकारीको बिउ समेत एटिएमबाट निकाल्न सकिनेछ ।

ललितपुर महानगरले साउन महिनादेखि तरकारीका उन्नत बिउहरु पनि एटिएमबाट विक्री गरिरहेको छ । यो प्रविधिले महानगरवासीलाई धेरै सहज भएको महानगर प्रमुख महर्जन बताउँछन् । महानगरले सञ्चालन गरेको प्रविधिबाट प्रयोगकर्ताहरु उत्साहित भएको महानगर प्रमुख महर्जनले बताए । उनले भने,‘ एटिएम पानीमा त लाइन नै लागेर बस्नु पर्दछ । त्यसैले अहिले महानगरको सबै वडामा यो प्रविधि जडान गर्न आवश्यक देखिएको छ । एटिएम पानीको सबै भन्दा बढी प्रयोगकर्ता भने विद्यार्थी रहेका छन् ।

उन्नत र सक्कली बिउ

महानगरले एटिएममार्फत वितरण गरिरहेको तरकारीको बिउ ३६ प्रकारको छ । यो बिउ अन्य पसलमा पाइने बिउमा भन्दा उन्नत र सक्कली रहेको महर्जनको भनाई छ । उनी भन्छन्,‘अन्य पसलमा पाइने बिउहरुमा उन्नतको नाममा नक्कली पनि हुन सक्छ, तर यहाँ त्यस्तो हुदैन ।’ ललितपुरको दक्षिण भेगका किसानले बिउ एटिएमको बढी प्रयोग गरेको उनको भनाइ छ ।
बिउको वितरण महानगरको रोहवरमा सक्कल एग्रो एण्ड सिड टे«डर्सले गरिरहेको छ । टे«डर्सले महानगरलाई आम्दानीको २ प्रतिशत कर तिर्ने गर्दछ । उनले सबै लगानी टे«डर्सको भएको तर प्रचार र ठाउँको व्यवस्था महानगरले गरेको उनले बताए । बिउ खरिद बिक्रिको लक्ष्य एक हजार देखि १५ सय सम्म रहेकोमा दिनमा पचास जना देखि तीन सय पचास जना सम्मले बिउ एटिएमको प्रयोग गर्ने गरेको महानगरका कृषि शाखा प्रमुख केशव अधिकारीले नागरिकखबरलाई जानकारी दिए ।

पुरानो नोट समस्या

यो एटिएम मेसिनले पुरानो नोट भने लिदैन । महर्जन भन्छन्, ‘यो मेसिनले नयाँ र नबिग्रेको नोट मात्र लिने गर्दछ ।’ पुरानो नोट नलिने कारण सेवाग्राहीबाट केही समस्या र गुनासो आउने गरेको उनले बताए । तर एटिएम पानीमा भने त्यति समस्या छैन । ‘पुरानो र रङ लागेको नोट पनि मेसिनले लिदैन’, महानगरका कृषि शाखा प्रमुख अधिकारी भन्छन्, ‘ त्यसकारण गाउँबाट बिउ लिन आएका मानिसहरु रिसाएर घर फर्कने र्गर्छन् ।’ नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना दिनको लागि पनि नयाँ नोट मात्र लिने सिस्टम राखिएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV