राप्रपा निकट प्रवासी समाजको अमेरिका अध्यक्षमा राजेन्द्र शेरचन

बोस्टन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्थापनामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन् ।
थापाले प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै नेपालको राष्ट्रिय एकताको आधारहरुको पहिचान र पुनःस्थापनामा आवश्यक परे हस्तक्षेपकारी भूमिका निर्वाह गर्न प्रवासी नेपालीलाई आग्रह गरे ।
राप्रपा निकट प्रवासी नेपाली एकता समाज अमेरिकाको बाल्टिमोरमा आयोजित तेश्रो अधिवेशनको समुदघाटन गर्दै थापाले नेपालका अन्य राजनीतिक दल भन्दा राप्रपा फरक विचार र फरक बाटोबाट हिडिरहेको बताए । उनले कतिपयले दुस्साहसपूर्ण बाटो भनेतापनि नेपालको लागि राप्रपाले अबलम्बन गरेको बाटो सहि, उपयुक्त तर कठिन रहेको बताए ।
‘स्वदेश विदेश जहाँ गए पनि कतिपय मान्छेले मलाई राप्रपाले दुस्साहसपूर्ण बाटो हिडेको भन्छन्’, अध्यक्ष थापाले भने, ‘राप्रपाले हिडेको बाटो सजिलो छैन कठिन छ तर नेपालको सुरक्षित भविष्यको लागि राप्रपाले हिडेको बाटो सहि र उपयुक्त छ, हामी आम नेपालीलाई यसबारे बुझाउँदै हिडिरहेका छौं, एकदिन सबैलाई बुझाउन सफल हुनेछौं, हाम्रो निष्ठा र आदर्शमा शंका नगर्न आग्रह गर्दछु ।’
नेपालमा पटकपटक आन्दोलन र परिवर्तन भएको तर पटकपटकका अभ्यास असफल हुँदै गइरहेका छन् भन्दै अध्यक्ष थापाले नेपालमा नेपाली मात्रको प्रयासले अर्को एउटा राष्ट्रवादी आन्दोलनको खाँचो रहेकोमा जोड दिएका छन् ।
राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकासमा पार्टी र पार्टी भन्दा माथि उठेर विवेकको प्रयोग गर्ने अवस्था नरहेको भन्दै थापाले देशमा डरलाग्दो ठूला ठूला भ्रष्टाचारका काण्डहरु भइरहेको तर जनता पार्टीका आधारमा विभाजित हुँदा भ्रष्टाचारीले सजिलै उन्मुक्ति पाउने गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।
समारोहमा राप्रपाका प्रवास संघका प्रमुख, सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठले विदेशमा राष्ट्रियताको भावना प्रचुर रहेको बताउँदै राष्ट्रवादी आन्दोलनमा प्रवासको साथ, सहयोग र समर्थन रहने उल्लेख गरेका छन् ।
कार्यक्रममा प्रवासी नेपाली एकता समाजका नेताहरू प्रेम चौलागाईं, लोकनाथ तिवारी, दिपु भुषाल, राजेन्द्र शेरचन, राधा शर्मा, मेरिल्याण्ड स्टेट काउन्सिलका डेलिगेट हरि भण्डारी, महावाणिज्यदूत एवं चर्चित लोक गायक प्रेमराजा महत लगायतले शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनले बोस्टन निवासी राजेन्द्र शेरचनलाई अध्यक्ष, दिपु भुषाल, राधा शर्मा, नरेन्द्र शाहलाई उपाध्यक्ष, नवराज खड्का महासचिव, नरेन्द्र रावल सचिव र रामशरण श्रेष्ठलाई कोषाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा राप्रपा अध्यक्ष थापा संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका छन् ।
थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।