...अनि ढल्यो धरानमा नेकपाको किल्ला


SHARES

काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको नगरप्रमुखमा जब कांग्रेसका तिकल राई विजयी भए तब, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चियो । राई २ हजार ७ सय ९५ मतले विजयी भएपछि कांग्रेसले कम्युनिष्ट लालकिल्ला ढालेको उद्घोष गरेको छ । यस क्षेत्रमा २०१७ सालदेखिको कम्युनिष्टले एकलौटी जित्दै आएको थियो ।

२०१५ सालको चुनावमा भने नेपाली कांग्रेसले विजय हाँसिल गरेको थियो । त्यो बेला धरान क्षेत्रबाट दिक्षाज्ञान चौधरी नेपाली कांग्रेसका तर्फबाट विजयी भएका थिए । त्यसपछिका कुनै पनि चुनावमा कांग्रेसले जित्न सकेको थिएन । ६० वर्षदेखि कम्युनिष्ट पार्टीले मात्र जित्ने गरेको धरानमा यसपटक नेपाली कांग्रेसले इतिहास नै रच्यो ।

२०१७ सालदेखि ०७४ सम्मको धरानको चुनाव

०१७ सालदेखि ०७४ सम्म यस क्षेत्रमा कम्युनिष्टको एकछत्र राज थियो । बहुदलपछि भएको पहिलो स्थानीय चुनावमा तत्कालिन नेकपा एमालेका ध्यानबहादुर राई विजयी भएका थिए ।
उनले नेपाली कांग्रेसका गोबिन्द तुम्वाहाम्फेलाई पराजित गरेका थिए । पहिलो स्थानीय चुनावमा पराजित तुम्बाहाम्फे प्रदेश प्रमुख बनेका थिए । दोस्रो स्थानीय चुनावमा पनि नेकपा एमालेकै मनोज मेन्यांवो विजयी भएका थिए ।
उनले पनि कांग्रेसका राजबिमल श्रेष्ठलाई पराजित गरेका थिए । धरानमा बहुदल अघि पनि कम्युनिष्ट समर्थितहरुकै जित हँुदै आएको थियो । बहुदल स्थापनाअघि धरानमा गोबिन्द मोक्तान, कष्णकुमार राई बम देवान र ध्यानबहादुर राईले चुनाव जितेका थिए । ०७४ सालको स्थानीय तहको चुनावमा पनि तत्कालिन नेकपा एमालेकै तारा सुब्बा विजयी भए । 

उनै सुब्बाले अहिले निर्वाचित कांग्रेसका तिलक राईलाई पराजित गरेका थिए । सुब्बाको निधनपछि यहाँ उपनिर्वाचन भएको थियो । उही तिलकले तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाका उम्मेदवार प्रकाश राईलाई हराईदिए ।

यस्तो थियो, ०७४ को चुनावको अंकगणित

०७४ पछि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बनेको छ ।

दुवै पार्टीले ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको मतपरिमाण हेर्दा झण्डै दोब्बर देखिन्छ । पहिलो स्थानीय तहको निर्वाचनमा (नगरप्रमुख पदमा) तत्कालिन एमालेका (स्वर्गिय) तारा सुब्बाले २० हजार ९ सय ७५ मत पाएका थिए । माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार १ सय ८३ पाएका थिए । अहिले दुवै पार्टी एक भएका छन् । दुवैको मत जोड्दा ३२ हजार १ सय ५८ मत हुन्छ । त्यही निर्वाचनमा कांग्रेका अहिले निर्वाचित तिलक राईले १६ हजार १ सय २ मत पाएका थिए । अहिले पराजित नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्रै पाए ।

अहिलेको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत पाए । बाँकी नेकपाको मत हराएकै कारण प्रकाशले पराजय भोग्न बाध्य भए ।

प्रतिनिधिसभा वा संविधानसभामा

२०१७ सालपछि स्थानीय निकाय, स्थानीय तह, वा प्रतिधिसभा तथा संविधासभाको निर्वाचनमा पनि कम्युनिष्ट पार्टीकै जित भएको थियो । निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गतको धरानमा बहुदलपछिको पहिलो प्रतिनिधिसभाको चुनावमा तत्कालिन नेकपा एमालेका मनमोहन अधिकारी विजयी भएका थिए । अधिकारीले कांग्रेसका भेखबहादुर नेपाली पराजित गरेका थिए ।

२०५१ सालको मध्यावधि चुनावमा पनि एमालेका लिला श्रेष्ठ सुब्बाले कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्दै विजयी भएका थिए । ०५४ सालमा एमालेकी कुन्ता शर्मा विजयी भएकी थिइन् । पहिलो संविधानसभाको चुनावमा भने माओवादीका किरण कुमार राईले कांग्रेसका उमा बाँस्तोलालाई हराए । दोस्रो संविधानसभाको चुनावमा कृष्णकुमार राई विजयी भएका थिए ।

०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तत्कालिन एमाले नै जितेको थियो । प्रतिनिधिसभा सदस्यमा जय कुमार राई र प्रदेशसभा सदस्यमा प्रदिपकुमार भण्डारीले विजय हाँसिल गरेका थिए ।

पार्टी भित्रबाट घात भएको छैन : नेकपा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)धरान नगर कमिटीले प्रकाश राईसहित फोक्वाहाङ सुब्बा (चोत्लुङ) र वेणु काफ्लेको नाम सिफारिस गरेको थियो । पछि विजय राईको नाम थपियो । विशेष गरी सुनसरीको धरानमा नेकपाको माधव नेपाल समूहको प्रभाव बढी छ । नेकपाले उम्मेदवार सिफारिस गर्दा पनि नेपाल समूहले मनोमानी गरेको आरोप लागेको थियो ।

प्रदेश कमिटीका इन्चार्ज भीम आचार्य नेपाल समूहका भएकाले नेपाल समूहकै प्रकाश राईको उम्मेदवारी पक्का भएको थियो । उम्मेदवारमा सिफारिस भएका विजय राई र बेणु काफ्ले ओली समूहका थिए, भने चोत्लुङ सुब्बा प्रचण्ड समूहका नेता थिए ।

निर्वाचनमा आफ्नो समूहका नेताले टिकट नपाएपछि ओली र प्रचण्ड समूहका नेताहरु रुष्ट थिए । नेकपा धरानका नेता अइन्द्र विक्रम बेघाले नेकपा कार्यकर्ताले अन्तरघात नगरेको बताउँछन् । उनले भने ‘मलाई आफू हार्दा पिडा भएको थिएन तर, आज धेरै पिडा भएको छ, पार्टी कार्यकर्ताबाट काँही कतै अन्तरघात भएको छैन ।’

तर, प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताले कांग्रेसका तिलकलाई भित्री रुपमा सघाएपछि प्रकाशको हार भएको नेकपा धरानकै नेताहरु ब्ताउने गर्छन् ।

हारको भित्री कारण

धरानमा उपनिर्वाचनमा नेकपा पराजय हुनुका पछाडी विभिन्न कारणहरु छन् । ती मध्ये नेकपाको असक्षम जिल्ला नेतृत्व, कार्यकर्ता परिचालनमा कमजोरीदेखि अप्रत्यासित करको मार, सुकुम्बासीका समस्या मुख्य कारण हुन ।
प्रदेश १ को राजधानी धरान माग गर्दै धरानमा रहेका सवै राजनीतिक दलले आन्दोलन पनि गरेका थिए । धरानको त्यही माग पूरा नगरिदिएको आक्रोश पनि जनतामा थियो ।

अहिलेको सत्तारुढ दलका नेताहरुले धरानलाई राजधानी बनाउने भाषण गरे पनि पूरा नगरिदिएछि धरानमा कम्युनिष्टप्रति धराने जनता रुष्ट थिए ।

भूमिकाविहिन भएका प्रदेश सांसदको गुनासोबीच विवाद चिर्न नसक्नु ठूलो कमजोरी मान्न सकिन्छ । नेकपाले कतिपय समर्थित मतदातालाई मतदानस्थलसम्म ल्याउन सकेन ।

कांग्रेसले मतदातालाई बढी महत्व दिएको थियो । कांग्रेसले घर घरबाट मतदाता ल्याउने काम समेत गरेको थियो । विगतमा चुनावमा मतदाता लिन घर घर पुग्ने कम्युनिष्ट यसपटक मौन बसेको देखियो ।

सुकुम्बासी क्षेत्रमा कांग्रेसले पडक बलियो बनाउँदै लगेको थियो । नेकपाभित्रको असन्तुष्ट देखेर कांग्रेसअघि बढेको थियो । मुख्य गरी नेकपाभित्र गुटै गुट झाँगिनु नै नेकपाको हारको मुख्य कारण मान्न सकिन्छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV