घटेन भारतीय दादागिरी, तटबन्ध निर्माणमा अवरोध


काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा तटबन्ध निर्माणमा भारतले अवरोध गरेको छ । भारतीय पक्षको अवरोधपछि नदी किनारमा बनाउनुपर्ने तटबन्ध बाटो र खेत नजिक निर्माण गरिएको छ ।
अवरोधकै कारण केही क्षेत्रमा अझ पनि तटबन्ध निर्माण हुन नसकेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा हरि शर्माले लेखेका छन् ।
भारतीय एसएसबीले अवरोध गरेपछि सुस्ताको दक्षिणतर्फको सीमा क्षेत्र नजिकको नेपाली भूभागमा निर्माण गर्नुपर्ने तटबन्ध पनि नबनेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए ।
तटबन्ध बनाउन जाँदा भारतीय एसएसबीले अवरोध गर्ने गरेको उनको भनाइ छ ।
नारायणी नदी किनार हुँदै ५ वर्षअघिबाट सुस्तामा तटबन्ध निर्माण कार्य सुरु भएको हो । नदीबाट हुने क्षतिलाई कम गर्न तटबन्ध सुरु गरिएको हो ।
‘तटबन्ध कार्य नेपालीले भोगचलन गर्दै आएको नदी छेउको ‘धनैया रेता’ भन्ने स्थानबाट गर्नुपर्ने थियो। तर भारतीय एसएसबीले आफ्नो भन्दै बनाउन दिएनन् । त्यसपछि हामीले त्यो स्थानलाई छाडेर बाटो र खेत नजिकैबाट तटबन्ध निर्माण गरेका छौं,’ जयसवालले भने ।
