मिरा राईलाई पछ्याइरहेकी अनुपमा मगरको खेल यात्रा : पीएलए क्लबदेखि स्वर्णपदकसम्म (भिडियो)

आँटिली अनुपमा


SHARES

  • दीपेन्द्र राई

६० किलो ।

१८–१९ वर्षको उमेरमा ६० किलो तौल हुँदा उनलाई ‘मोटी’ भनेर जिस्क्याइन्थ्यो । आफूलाई ‘मोटी’ भनेर गिज्याएको उनलाई मन पर्दैनथ्यो । मोटाएको ज्यान दुब्लाउने उपाय खोजिन् । शुभचिन्तकले उनलाई फुटबल र भलिबल खेल्न सुझाउँथे । तर, उनले कराते रोजिन् ।

कराते नै किन ?

‘उफ्रेपछि तौल घटाउन सकिन्छ भनेर,’ काठमाडौंको ठमेलमा भेटिएकी अनुपमा मगरले सुनाइन्, ‘त्यसैले कराते रोजें ।’ त्यतिबेला मगर पीएलए क्लबमा थिइन् । तात्कालिक माओवादीको जनमुक्ति सेनाको २ नम्बर डिभिजन सिन्धुलीमा रहँदा कमल वाइबालाई गुरु थापिन् । वाइबासँग उनी आफैंले कराते सिक्ने वातावरण मिलाइन् । २ नम्बर डिभिजन सिन्धुलीबाहिर कसैले कराते सिकाइरहेको देखेपछि उनी सिक्नेबीच मिसिइन् । ‘कमल गुरुसँग एक–डेढ महिना कराते सिकें,’ उनले अतीत सम्झिन्, ‘मेरो खेलकौशल राम्रो भएको भन्दै गुरुले महिना दिनमै ओरेन्ज बेल्ट दिनुभएको थियो । गुरुले मेरो किक र पन्चको प्रशंसा गर्नुभएको बिर्सेको छैन ।’

रहरलाग्दा र भरलाग्दा खेलाडी छान्नेक्रममा ध्रुवविक्रम मल्ल तात्कालिक माओवादीका सातवटै डिभिजन पुगे । दुई नम्बर डिभिजन सिन्धुलीमा चार ब्रिगेड थिए । चारवटै ब्रिगेडबाट अनुपमा मगर छानिइन् । ‘कमल गुरुले ध्रुवविक्रम मल्ल मेरो पनि गुरु हो,’ मगरले थपिन्, ‘गुरुले तिमीलाई हेर्न आउँदै हुनुहुन्छ । नठगी गर्नू । कमल गुरुले जे भन्नुभएको थियो, मैले त्यही गरें । अन्ततः म छनोट भएँ ।’ बाँकी ६ वटा डिभिजनबाट कोही छानिएनन् । सातमध्ये दुई नम्बर डिभिजनबाट छानिँदा उनको उचाइ बढ्दै गयो । उनलाई काठमाडौं ल्याइयो । त्यतिबेला पाँचौं राष्ट्रिय खेलकुद सकिइसकेको थियो । यो संवत् २०६५ को कुरा हो ।

काठमाडौंको बालाजुमा रहेको चन्द्रमा गेस्टहाउसको बास उत्साहप्रद थियो । गेस्टहाउसबाट बालाजु डोजो धाउन थालिन् । तालिम गर्ने फर्कनेक्रम चलिरह्यो । यो क्रम तीन महिनासम्म जारी रह्यो । पीएलए क्लबका सबै खेलाडी चौथो डिभिजनमा राख्ने भएपछि उनी नवलपरासी पुगिन् । नवलपरासी पुगेको केही समयपछि आमा बितिन् । आमा बितेपछि साबिकको लेखानी–५ उदयपुर पुगिन् । दिवंगत आमाको सबै काम सकिएपछि नवलपरासी फर्किन् । भाइबहिनी सानै । बुवा कोइलाखाद थिए । नवलपरासी बस्न मनले मानेन । अन्ततः उनी ४ नम्बर डिभिजनबाट बाहिरिइन् ।

सहोदर दाइको सल्लाहमा भाइबहिनीलाई काठमाडौं ल्याइन् । उनीहरूको पठनपाठनका लागि काठमाडौंमा व्यवस्था मिलाइयो । दिदीले गाउँकै विद्यालयमा अध्ययनलाई निरन्तरता दिइन् । भाइबहिनी र अनुपमा दाइसँग आश्रित थिए । काठमाडौंमा भाइबाहिनीको ‘गाइड’ का रूपमा उनले भूमिका निर्वाह गरिन् । बाँकी समय मल्लसँग कराते तालिममा सदुपयोग गरिन् ।

‘छोटो समयमा मेरो प्रगति भयो,’ उनले खुसी व्यक्त गरिन्, ‘कराते खेल्न थालेको महिना दिनमा ओरेन्ज बेल्ट बाँध्ने अवसर पाएँ । ग्रीन बेल्ट नबाँधी ब्राउन बेल्ट बाँधें । त्यसपछि सिधै ब्ल्याक बेल्ट ।’

तालिमले निरन्तरता पाएकै थियो । काठमाडौं नियमित बस्न थालेको वर्ष दिनसम्म तालिममै सीमित रहिन् । बिस्तारै ‘म्याच’ खेल्न थालिन् । खेल राम्रो भएको भन्दै मल्लले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पठाइरहन्थे । आठौं राष्ट्रिय खेलमा स्वर्णपदक उचालेकीले उनी तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने प्राथमिकतामा परिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र (साग) का पूर्वपदकधारीलाई प्राथमिकतामा राखेर तेह्रौं सागका लागि छनोट गरिएको थियो । ‘फस्र्ट क्याम्पमा त हामी एउटा होटलभरि थियौं,’ उनले भनिन्, ‘महिना दिन फस्र्ट क्याम्पमा बस्यौं । भदौमा फाइनल सेलेक्सन भयो । फाइनल सेलेक्सनसम्म आइपुग्दा छाँटियौं । फाइनल सेलेक्सनमा पर्नेले आफ्नो तौलअनुसार साग खेलेका हौं ।’

‘फाइनल सेलेक्सन’ मा पर्नेमध्ये उनले बिहान दुई र बेलुका दुई घन्टा तालिम गर्थिन् । १० दिने तालिमका लागि मलेसिया पुगिन् । त्यसपछि बंगलादेशको ‘म्याच’ खेलिन् । त्यहाँबाट फर्केर सातदोबाटोमै अभ्यास गरिन् ।

अनुपमा मगरले गत मंसिर १८ गते सातदोबाटोको कभर्डहलमा पाकिस्तानकी नर्गिस (एसियाली खेलकुदमा कास्यपदक विजेता) लाई ६–३ को स्कोरमा पराजित गरिन् । मगरले नर्गिसको खेल भारतको नयाँदिल्लीमा हेरेकी थिइन् । ‘त्यतिबेला उहाँ काता गर्नुहुन्थ्यो,’ उनले विगत कोट्याइन्, ‘एसियन गेममा काता छाडेर फाइट खेल्नुभएको थियो । सागमा उहाँसँग मेरो म्याच हुन सक्छ भनेर लख काटेकी थिएँ । मैले काटेको लख मिल्यो ।’

सागकी सम्भावित प्रतिस्पर्धीबारे अध्ययन गर्न अनुपमाले नर्गिसलाई सामाजिक सञ्जाल फेसबुक साथी बन्न ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइन् । नर्गिसले ‘एसेप्ट’ गरिन् । नर्गिसले खेलेको विभिन्न खेलका झलक फेसबुकमा ‘पोस्ट’ गरेकी थिइन् । ‘मैले ध्यानपूर्वक सबै हेरें । उहाँको डकुमेन्टसमेत अल्छी नगरी नियालें,’ उनको भनाइ थियो, ‘त्यसपछि उहाँको मुभ थाहा पाएँ । त्यसले मलाई खेल जित्न सजिलो बनायो ।’

बंगलादेशमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपमा अनुपमा मगर श्रीलंकाकी कुलाथुङ्गा बान्द्रासँग पराजित भएकी थिइन् । मगरले उनलाई सागको सेमिफाइनलमा ७–४ ले पाखा लगाएकी थिइन् । त्यसपछि स्वर्णपदक उचाल्ने उनको हौसला बढेको थियो ।

कसरी सम्भव भयो नि ?

‘दक्षिण एसियाली कराते च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि उहाँको भिडियो तीनपटक रिप्ले गरेर हेरें,’ उनले आफूले गरेको ‘गेम प्लान’ बारे प्रस्ट्याइन्, ‘मैले के गर्दा उसले के गरिन् । मैले के गल्ती गरें भनेर थाहा पाएँ । त्यसले मलाई सजिलो भयो । त्यो भिडियोले मलाई गेम प्लान गर्न सजिलो बनाइदियो ।’ बान्द्राको वान, टु, थ्री किक लाग्थ्योे । त्यतिबेला किक नलागोस् भनेर अनुपमा डाउन हुन्थिन् । किक ‘मिस’ हुँदा बान्द्रा लड्थिन् । ‘गेम प्लान’ले उनको जित सुनिश्चित भयो ।

सपना ठूलै देख्नु भनिन्छ । उनले इन्द्रेणी सपना नदेखे पनि सन् २०२० मा हुने ओलम्पिकमा कराते खेल्ने सपना देखेकी छन् । सपना पूरा हुन्छ हुन्न भन्नेमा निश्चित छैन । तर, करातेबाट स्वर्णपदक उचालेपछि मल्ल र वाइबा गुरु औधी खुसी छन् । साथीभाइ, इष्टमित्रले बधाइसहितको सन्देश पठाउन छाडेका छैनन् । सबैभन्दा धेरै ‘दोस्त’ मीरा राई खुसी छन् । ‘दोस्तले स्वर्णपदक पाउँदा असाध्यै खुसी लागेको छ,’ ठमेलमा अनुपमासँगै भेटिएकी अल्ट्राधावक मीरा राईले अनुपमा मगरको प्रशंसा गरिन्, ‘दोस्तले गर्दा म यो स्थानमा छु । उहाँले नै मलाई काठमाडौं बोलाउनुभएको थियो । उहाँले काठमाडौं नबोलाउनुभएको भए म यो अवस्थामा हुने थिइनँ ।’

अनुपमा मगरकी बुवा र दाइ त्यत्तिकै खुसी छन् । साग खेल्नअघि दाजुबहिनीले सामान्य बाजी थापेका थिए । सागमा बहिनीले स्वर्णपदक उचालेको दाइले देख्न चाहन्थे । त्यो सपना पूरा भएको छ । सागमा स्वर्णपदक उचाले आकर्षक सजावटसहितको पदक राख्ने दराज उपहार दिने दाइले वचन दिएका थिए । सागमा स्वर्णपदक उचाले अनुपमा मगरले पनि दाइलाई मोटरसाइकल उपहार दिन्छु भनेकी थिइन् ।

‘मैले स्वर्णपदक उचालेपछि दाइलाई दराज दिने होला नि भनेर सोधें,’ दाइको प्रतिउत्तर सुनाउँदै उनी हाँसिन्, ‘त्यसो भए दाइले पनि मोटरसाइकल चढ्छन् होला नि ।’ त्यसपछि दाजुबहिनी हाँसे । दुवैको हाँसोमा दुवैको सपना फुलेको देख्दा सपरिवार खुसी देखिन्थे ।

तौल घटाउन कराते खेल्दा ६० किलोबाट ४९ केजीसम्म झरेकी उनी हिजोआज कति किलो छन् ?

उनले पुछारमा सुनाइन्, ‘७४ ।’

भिडियो हेर्नुहोस्ः


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV