राष्ट्रिय सभाका १९ सांसदको पदावधि फागुनमा सकिँदै : कुन पार्टीका कति ? (सूचीसहित)

विदा हुँदै माननीय


SHARES

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाबाट एकसाथ १९ सांसद विदा हुँदैछन् ।

नेपालमा दुई सदनात्मक संघीय संसद छ, जसमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदन छन् ।

रष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८/८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३ जना मनोनित हुने संवैधानिक व्यवस्था छ । यसरी नियुक्त भएका राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुनेछ र प्रत्येक दुई वर्षमा एक तिहाई सदस्यको कार्यकाल समाप्त हुने ।

तर, संविधान जारी भएपछि गठन भएको राष्ट्रिसभाका सदस्यको हकमा भने गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्ष कार्यकालको निर्णय गरिएको थियो । जसअनुसार गोला प्रथ्राद्वारा दुई वर्षे कार्यकाल पाएका एक तिहाई राष्ट्रियसभा सदस्यको पदावधि आगामी २०७६ फागुन २० गतेदेखि सकिँदै छ ।

दुई वर्षे पदावधि समाप्त गरी विदा हुन लागेका राष्ट्रिय सभा सदस्यहरु संघीय संसदको बिभिन्न विषयगत समितिमा पनि क्रियाशील थिए ।

दुई वर्षे कार्यकाल सकिन लागेकामध्ये सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ९, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २ तथा समाजवादी पार्टी नेपालका एकजना छन् ।

यहाँ कार्यकाल सकिन लागेका सांसदहरु कुन कुन राजनीतिक दलका हुन् ? कुन प्रदेशबाट प्रतिनिधित्व गर्छन् जस्ता विषयमा संक्षेपमा उल्लेख गरिएको छ ।

नेकपाका ९ जना

१. कमलाकुमारी ओली
राष्ट्रिय सभामा सांसद कमलाकुमारी ओलीले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छिन् । उनी सत्तारुढ नेकपाकी सांसद हुन् । राष्ट्रियसभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समिति सदस्य रहेकी ओलीको दुई वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदै छ ।

२. कालीबहादुर मल्ल
नेकपाका सांसद कालीबहादुर मल्ल पनि कर्णाली प्रदेशबाटै राष्ट्रियसभामा निर्वाचिन भएका हुन् । उनी संघीय संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समिति तथा संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यन्वयन अनुगमन मूल्यांकन समितिमा क्रियाशिल छन् ।

३. खेमराज नेपाली
नेकपाका सांसद खेमराज नेपाली पनि दुई वर्षे कार्यकाल सम्पन्न गरी विदा हुँदैछन् । राष्ट्रिय सभामा उनी प्रदेश १ बाट प्रतिनिधित्व गर्छन् । उनी राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सदस्य हुन् ।

४. बलरामप्रसाद बाँस्कोटा
नेकपाका सांसद बाँस्कोटाले राष्ट्रिय सभामा प्रदेश ३ बाट प्रतिनिधित्व गर्छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटा संसदको प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासनस समितिको सदस्यका रुपमा क्रियाशील छन् । उनको दुई वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदै ।

५. मीना बुढा
मीना बुढाले राष्ट्रिय सभामा प्रदेश ५ बाट प्रतिनिधित्व गर्छिन् । नेकपाकी सांसद बुढा राष्ट्रियसभाकै विधायन व्यवस्थापन समिति सदस्य हुन् । उनको पनि दुई वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदै छ ।

६. डा. युवराज खतिवडा
अर्थमन्त्रीसमेत रहेका नेकपाका सांसद डा. युवराज खतिवडाको दुई वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका खतिवडा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएका हुन् ।

७. युटोल तामाङ
आगामी फागुन २० गते आफ्नो दुई वर्षे कार्यकाल सम्पन्न गरी विदा हुन लागेकी नेकपाका अर्का सांसद हुन् युटोल तामाङ । उनि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छिन् । नेकपा नेतृ रहेकी उनी संसदको विधायन व्यवस्थापन समिति सदस्य छिन् ।

८. राजकुमार कुँवर
नेकपाका सांसद राजकुमार कुँवर राष्ट्रिय सरोकार तथा समन्वय समिति सदस्य हुन् । राष्ट्रिय सभामा प्रदेश ५ को प्रतिनिधित्व गर्ने उनी आपाङ्गको आरक्षित सिटबाट निर्वाचित भएका हुन् । उनको कार्यकाल पनि यही फागुन २० गते सकिँदै छ ।

९. हरिचरण शिवाकोटी
नेकपाका सांसद हरिचरण शिवाकोटी पनि फागुन २० गते राष्ट्रिय सभाबाट विदा हुँदैछन् । उनी प्रदेश १ बाट प्रतिनिधित्व गर्छन् । उनी संघीय संसदको विधायन व्यवस्थापन समितिमा क्रियाशिल छन् ।

नेपाली कांग्रेसका ७ जना

१. दुर्गाप्रसाद उपाध्याय
राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको कार्यकाल पनि आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रिय सभामा प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने उपाध्याय संसदको प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासनस समितिको सदस्य हुन् ।

२. धनकुमारी खतिवडा
कांग्रेसकै अर्की सांसद धनकुमारी खतिवडा फागुन २० गते दुई वर्षे कार्यकाल सम्पन्न गरी राष्ट्रिय सभाबाट विदा हुँदैछिन् । प्रदेश ३ बाट राष्ट्रियसभा पुगेकी खतिवडा राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सदस्य हुन् ।

३. बद्रीप्रसाद पाण्डे
राष्ट्रिय सभामा कांग्रेस सांसद बद्रिप्रसाद पाण्डेको पदावधि दुई वर्षको थियो । जसअनुसार उनी पनि फागुन २० गते राष्ट्रियसभाबाट विदा हुँदैछन् । सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने उनी राष्ट्रिय सरोकार तथा समन्वय समिति सदस्य हुन् । पाण्डे कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

४. मुक्ताकुमारी यादव
कांग्रेसकी मुक्ताकुमारी यादव प्रदेश २ बाट राष्ट्रियसभामा पुगेकी हुन् । उनी दिगो विकास तथा सुशासन समितिकी सदस्य छिन् । राष्ट्रियसभामा यादवको कार्यकाल पनि फागुन २० गते सम्पन्न हुँदैछ ।

५. विन्दादेवी आले (राना)
कांग्रेसकै अर्की सांसद विन्दादेवी आले आफ्नो दुई वर्षे कार्यकाल सम्पनन गरी फागुन २० गते राष्ट्रिय सभाबाट विदा हुँदैछिन् । राना गण्डकी प्रदेशबाट राष्ट्रियसभामा पुगेकी हुन् । उनि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सदस्य छिन् ।

६. सरिता प्रसाईं
प्रदेश १ बाट राष्ट्रियसभामा पुगेकी सरिता प्रसाईं नेपाली कांग्रेसकी सांसद हुन् । उनी राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक हुन् । उनी संसदको दिगो विकास तथा सुशासन समितिमा क्रियाशिल छिन् ।

७. सुरेन्द्रराज पाण्डे
कांग्रेसकै तर्फबाट राष्ट्रिय सभामा पुगेका सुरेन्द्रराज पाण्डेको दुई वर्षे कार्यकाल फागुन २० गते सकिँदैछ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सदस्य रहेका पाण्डे गण्डकी प्रदेशको प्रतिनिधित्व गर्छन् । उनी कांग्रेस केन्द्रीय समिति सदस्य पाण्डे राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता हुन् ।

राष्ट्रिय जनता पार्टीबाट २ जना

१. रमेशप्रसाद यादव
राष्ट्रिय सभामा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधित्व गर्ने रमेशप्रसाद यादवको कार्यकाल पनि यही फागुन २० गते सकिँदै छ । उनी प्रदेश २ बाट राष्ट्रिय सभामा प्रतिनिधत्व गर्छन् । राष्ट्रिय सरोकार तथा समन्वय समिति सदस्य यादवको पनि दुई वर्षे पदावधि समाप्त हुन लागेको हो ।

२. वृषेशचन्द्र लाल
राष्ट्रिय जनत पार्टीकै अर्का सांसद वृषेशचन्द्र लाल पनि आफ्नो दुई वर्षे पदावधि सम्पन्न गरी यही फागुन २० गते राष्ट्रिय सभाबाट विदा हुँदैछन् । राष्ट्रियसभा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने लाल विधायन व्यवस्थापन समिति सदस्य हुन् ।

समाजवादी पार्टीबाट १ जना

१. रामपृत पासवान
राष्ट्रिय सभामा समाजवादी पार्टीका सांसद रामपृत पासवानको दुई वर्षे कार्यकाल यही फागुन २० मा समाप्त हुँदैछ । प्रदेश २ बाट प्रतिनिधित्व गर्ने उनी राष्ट्रिय सरोकार तथा समन्वय समिति सदस्य हुन् ।

यस्तो छ, निर्वाचनको तयारी
राष्ट्रिय सभाका १९ जना सांसदहरु आफ्नो दुई वर्षे कार्यकाल सम्पन्न गरी विदा हुने भएसँगै निर्वाचन अयोग रिक्त स्थानको पदपूर्तिका लागि तयारीमा जुटेको ।

त्यसका लागि अनुरोध पत्र प्राप्त भइसकेको आयोगले जनाएको छ । ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यमध्ये १९ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुने भएपछि निर्वाचनको प्रक्रिया अघि बढेको छ ।

रिक्त सदस्यको पदपूर्तिका लागि संघीय संसदबाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ ।

आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नु पर्ने हुन्छ । राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV