जिन्स लगाएर उसु खेल्ने रोल्पाकी निमाले यसरी जितिन् लागातार दुई स्वर्ण (भिडियोसहित)

निडर निमा


SHARES

काठमाडौं । दक्षिण एसियाली खेलकुद सागअन्तर्गत उसु खेलमा लगातार दोस्रोपटक स्वर्ण पदक जित्न सफल खेलाडी हुन्, निमा घर्तीमगर ।

यसअघि सन् २०१६ मा भारतमा आयोजना भएको १२ औं सागमा पनि निमाले उसुमा स्वर्ण पदक जित्न सफल भएकी थिइन् ।

नेपालमा जारी १३ औं सागमा (गत बिहीबार) बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै निमाले स्वर्ण पदक जित्न सफल भईन् ।

उसुमा (महिलातर्फ) दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् । १३ औं सागको रौनकतासँगै निमाको नाम समाचारका हेडलाइनमा छाइरहेको छ ।

खेलप्रतिको कडा मेहनत र लगावले स्वर्ण जित्न सफल भएको उनी बताउँछिन् । खेल अभ्यासअन्तर्गत क्याम्पमा दैनिक सात देखि आठ घण्टा प्रशिक्षण हुने गर्छ । त्यसको अलावा उनी क्याम्प बाहिर पनि दैनिक विहान चार देखि पाँच घण्टा अभ्यास गर्ने गर्दथिन् ।

नेपालमा आयोजना भएको १३ औं सागमा नेपालीहरुको माझमा त्यसमा पनि अविभावकका अगाडी खेल खेलेर स्वर्ण हात पार्दा निकै खुशी लागेको उनले सुनाइन् । उनी सागकै लागि झन्डै डेढ महिना विशेष प्रशिक्षणमा थिइन् ।

भिडियो हेर्नुहोस्ः

स्वर्ण जितेपछि उनले उक्त स्वर्ण पदक आमाको गलामा पहिराइदिएकी थिइन् । आफूले जितेको स्वर्ण पदक आफ्नो परिवारलाई समर्पित गर्न चाहेको उनले त्यही दिन बताएकी थिइन् । 'आमा परिवारको सबैभन्दा प्यारो प्यारो हुनुहुन्छ, मलाई संधै साथ दिनुहुन्छ ।' त्यसैले आमालाई मेडल लगाइदिएको उनले सुनाइन् ।

निमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छिन् । निमालाई अध्ययनमा भने त्यति रुचि छैन । तर पढ्नु पर्छ भन्ने कुरा दिमागमा भने छ । परीक्षाको समयमा उनी विशेष रुपमा अध्ययन गर्ने गर्छिन् ।

निमाले सात कक्षामा पढ्दैगर्दा उसु खेल्न सुरु गरेकी थिइन् । गोदावरीको किनारमा गुरु निरज आलेमगरबाट निमाले उसु सिकेकी हुन् ।

'खेलाडी बन्छु भन्दा पनि ‘सेल्फ डिफेन्स’ र ‘हेल्थका लागि भनेपछि घरबाट पनि खेल्न पठाउनु हुन्थ्यो । खेल्न जाँदा साथीहरु पनि हुन्थे, नयाँ नयाँ कुराहरु पनि सिक्न पाइन्थो । रमाइलो हुन्थ्यो । स्कुलबाट फर्किन वित्तिकै हतार हतार उसु खेल्न जान्थे अनि फर्केर आएर गृहकार्य गर्थें' निमा सुनाउँछिन् ।

पछि विस्तारै खेल्दै जाँदा जुनियर खेल प्रतियोगिताहरुमा सहभागी भएर उपाधिहरु जित्न थालेपछि खेलप्रति झन लगाव बढ्न थाल्यो । यसरी क्षेत्रिय, राष्ट्रिय प्रतियोगिता हुँदै निमा अन्तराष्ट्रिय खेल प्रतियोगितामा प्रवेश गरिन् ।

'सानै उमेरबाट जुनियर खेल खेल्दा पत्रपत्रिकामा समाचार आउथ्यो । यसले अविभावक पनि खुशी हुनुहुन्थ्यो ।' निमाले सुनाइन् । खेलाडी नभएको भए विजनेस वुमन बन्ने उनको चाहना थियो । त्यो चाहना अहिले पनि छ ।

पहिलो पटक उसु खेल्न जाँदा जिन्सको पाइन्टमा गएको उनले बताइन् । 'मलाई ड्रेसको बारेमा थाहा थिएन । अहिले ड्रेस देखि न्यूट्रिशनमा समेत ज्ञान भई सकेको छ । खेलमा अझ उत्कृष्ट प्रदर्शन गर्न मन छ ।' उनले सुनाइन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV