मुन्दुममा बसाइँ–सराइ « Nagarik Khabar

मुन्दुममा बसाइँ–सराइ



  • दीपेन्द्र राई

किराती समाजमा दुईथरीका बौद्धिक हुन्छन् । जसलाई परम्परागत बौद्धिक पनि भनिन्छ । पहिलोचाहिँ, पुर्खा हुन्छन् । जसले धामीको काम गर्दैन । तर, उनलाई मन्दुम आउँछ । उसलेमात्रै गाउने मुन्दुम एककिसिमको हुन्छ । त्यो प्रशिक्षण गरेर एकदेखि अर्को पुस्तामा हस्तान्तरण गरिन्छ । दोस्रोचाहिँ, धामी हुन्छन् । उनीहरूले आफूलाई भुइँफुट्टा भन्ने गरेको सुनिन्छ । भुइँफुट्टा धामीले गुरुबाट मुन्दुम प्राप्त गर्दैनन् । उनीहरूको दाबी छ, ‘हामीले मुन्दुम सपनामा पाउँछौं ।’

‘भनेकोचाहिँ के रहेछ भने धामीले आर्जन गर्ने ज्ञान मानिसको ‘जेनेटिकल मेमोरी’ रहेछ । वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार ४३ देखि ८० प्रतिशतसम्म हाम्रो ममोरी सर्छ,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङ भन्छन्, ‘पुर्खाको शब्द पनि सर्छ । ‘भिजुअल’ पनि सर्छ । यसरी खासखास मानिसमा अघिल्लो धामीको ज्ञान सर्दै जाँदोरहेछ । हामीले मुन्दुम सपनामा पाउँछौं भन्ने खोजेको त्यही हो कि भन्नेमा मेरो अध्ययन केन्द्रित छ ।’

किराती समाजका प्रथम बुद्धिजीवी मानिने धामीले किरात संस्कारमा गाउने गीतलाई मुन्दुम भनिन्छ । ‘मुन्दुममा किरातीको दार्शनिक दृष्टिकोण पाउँछौं । त्यहाँ किरातीले हजारौं वर्षमा आर्जन गरेको ज्ञान छ,’ मुन्दुम अध्येता चाम्लिङको बुझाइ छ, ‘उनीहरूको अनुभव पनि त्यहीं छ । उनीहरूको इतिहासलाई मौखिक रूपमा अभिलेखीकरण गर्ने काम मुन्दुममा गरिएको छ । आजसम्म प्राप्त र विकास गरेको ज्ञानको मौखिक अभिलेखीकरण नै मुन्दुम हो भन्ने मेरो निष्कर्ष हो ।’

मुन्दुम गाउनेक्रममा धामीले बसाइँ–सराइका कथा भन्छन् । मुन्दुमको महत्वपूर्ण पाटो भनेको बसाइँ–सराइ कथा हो । ‘मैले बसाइँ–सराइको कथा भनिरहेको छु भन्ने धामीलाई थाहा हुँदैन । मैले दिवंगत मानिसलाई बाटो लगाइरहेको छु भनेर व्याख्या गर्छन्,’ उनको निष्कर्ष छ, ‘दिवंगत मानिसलाई बाटो लगाउनेक्रममा धामीले जुन–जुन ठाउँको उल्लेख गर्छन्, ती ठाउँ किराती पुर्खाले यात्रा गरेको आदिम थलो होे ।’

एकथरी विद्वान् तथा सामाजिक अभियन्ताको दाबी छ, ‘दाङमा १ करोड १० लाख वर्षअघि रामापिथेकसको दाँत भेटियो । रामापिथेकसको दाँत किरातीकै हो । किरातीहरू १ करोड १० वर्षपहिलेदेखि अस्तित्वमा थिए ।’ उल्लिखित भनाइसँग भोगीराज चाम्लिङ सहमत छैनन् । त्यस्तो तर्क तर्कसंगत नभएको भन्दै चाम्लिङ थप्छन्, ‘हामी आधुनिक मानिस होमोसेपेन्स सेपेन्सको सन्तान हौं । त्यो भनेको ६०–७० हजार वर्षअघि मात्रै फैलिएको हो । मानवशास्त्रीको अध्ययनअनुसार अफ्रिकाबाट बढीमा ७० हजार वर्षयता फैलिँदै छौं । फैलिनेक्रममा संसारको जनसंख्या वृद्धि र बस्ती विस्तार भएको हो ।’

चीन पुगेको होमोसेपेन्स सेपेन्सका एकथरी सन्तानले ह्वाङ्हो नदीकिनारमा बस्ती विस्तार गरे । केही पुरातत्वविद्का भनाइअनुसार– त्यहाँ जनसंख्या वृद्धि हुँदै गयो । ह्वाङ्हो नदीकिनारको उत्पादनले धान्न छाडेपछि मानिस यताउता लाग्न थाले । यताउता लाग्नेक्रममा नेपालका थेप्चो नाक, होचो कद र चिम्सो आँखा भएका मंगोलमूलका मानिस त्यहाँबाट बसाइँ हिँडेर नेपाल आइपुगेका हुन् ।

भाषाविद्हरूले भनेका छन्– किरातीले बोल्ने भोट–बर्मेली भाषा र चिनियाँले बोल्ने भाषा ६ हजार वर्षअघिसम्म एउटै थियो । ६ हजार वर्षअघि मात्रै उनीहरूको भाषा विभाजन हुन थाल्यो । त्यसो भन्नुको अर्थ के हो भने भाषाशास्त्रीका अनुसार किरातीहरू चीनको ह्वाङहो नदीबाट ६ हजार वर्षपहिले बसाइँ हिँड्न थालेका हुन् । उनीहरूको भनाइ छ, ‘किरातीहरू ह्वाङ्हो नदीबाट तिब्बत आए । तिब्बतबाट हिमाल पार गरेर दक्षिणतिर झरे । त्यो समय भनेको पाँच हजार सात सयदेखि ६ हजार वर्षअघि किरातीका पुर्खा नेपालको पूर्वी पहाडमा बस्न थाले ।’

भाषाशास्त्री तथा वंशाणु वैज्ञानिक भ्यान्ड्रिमले भाषाशास्त्रीले भनेभन्दा फरक तरिकाले किरातीहरू नेपाल आइपुगेको दाबी गरेका छन् । किरातीहरू तिब्बतसम्म त आए, त्यहाँबाट पश्चिम नेपालको काराकोरम पहाडबाट कास्मिर हुँदै पूर्वी पहाडसम्म फैलिए । भ्यान्ड्रिमले इशापूर्व ३००० तिर किराती कास्मिरमा थिए भनेका छन् । भाषाशास्त्रीले ६ हजार वर्ष र भ्यान्ड्रिमले ५ हजार वर्षको अनुमान गरेका छन् । ५ देखि ६ हजार वर्षपहिले किराती नेपालको पूर्वी पहाडमा फैलिएको देखिन्छ ।

‘भाषाशास्त्री र वंशाणु वैज्ञानिकको भनाइ मुन्दुमसँग मिल्छ किन मिल्दैन भनेर तुलनात्मक अध्ययन गरेको छु । किरात राईहरूका संस्कारमध्ये मुन्दुममा चिन्ता गर्छौं । घरचिन्ता, बिरामीको उपकार, मृत्यु संस्कार र पानी (वाइको) पूजा गरिन्छन्,’ उनले थपे, ‘त्यो गर्दा धामीले बसाइँ–सराइको कथा भन्ने गर्छन् । त्यसलाई मानवशास्त्रीहरूले रिचुअल जर्नी भन्दारहेछन् । रिचुअल जर्नीक्रममा राई धामीले प्राग्ऐतिहासिक थलो नियामाको उल्लेख गर्छन् । त्यसपछि पैतिपलाम, जोजिलालाम, जम्बुमालाम, खैबरलाम, योंला, दिल्लीहों, थारू, बाजी, साप्ते उल्लेख गर्छन् । साप्ते भनेको शाक्यलाई भनेको हो कि भन्ने मेरो ठम्याइ हो ।’ साप्तेबाट अघि बढेपछि दुङ्गोला छाइलामा पुग्छन् । होंहोलामबाट सप्तकोसी हुँदै वराहक्षेत्र पुग्छन् । वराहक्षेत्र पुगेपछि किरातीहरू खुवालुङ पार गरी नदी पछ्याएर बस्ती विस्तार गरेको उनको अनुमान छ ।

अरूण नदी पछ्याएर जाने याम्फू, लोहोरुङ, मेवाहाङ, याक्खा र आठपहरिया राई भए । तमोर पछ्याउने लिम्बू भए । सुनकोसी र दूधकोसी पछ्याउने राई, सुनुवार, जिरेल, हायू, थामी र सुरेल भए भन्ने मुन्दुममा आउँछ । नियामादेखि अहिलेका थातथलोसम्मको वर्णन बसाइँ–सराइमा गरिन्छ । उल्लिखित विवरण मुन्दुममा गाइन्छ ।

‘मुन्दुममा नियामालाई आदिम थलोका रूपमा उल्लेख गरिन्छ । तर, त्यो थलो कहाँ पर्छ होला ? मुन्दुममा नियामाको वर्णन जसरी हुन्छ, जे–जे विशेषताको उल्लेख गरिन्छ, त्यसका आधारमा मैले त्यो ठाउँचाहिँ ह्वाङहो नदीका कुनै उब्जाउशील मैदान हुन सक्छ भन्ने अनुमान गरेको छु,’ उनको भनाइ छ, ‘भन्न त नियामालाई नेपालको तराई भनिन्छ । तर, मानिसले तराई र उब्जाउशील देखेकाले भनेको हुन सक्छन् । मुन्दुममा आउने वर्णन र विशेषताले नेपालको तराईसँग मिल्दैन ।’

पहिलो– नियामा भनेको किराती पुर्खाले खेतीपाती थालेको थलो हो ।

दोस्रो– मुन्दुमअनुसारको उब्जाउशील मैदान हो ।

तेस्रो– नियामामै किरातीबीच धामीप्रथाको प्रचलन भइसकेको थियो ।

चौथो– नियामामै किरातीले त्यसबेला अजिंगरपूजा गर्न थालेका थिए ।

पाँचौं– नियामामै किरातीले चुलापूजा गर्न थालेका थिए ।

खेतीपाती र उब्जाउशील मैदानलाई मात्रै आधार मान्ने हो भने नियामा भनेको नेपालको तराई भनेर बुझ्न सकिन्छ । ‘दुई तथ्यले नियामा भनेको तराई नै हो भन्न सकिए पनि बाँकी तीन विशेषतामध्ये धामीप्रथा, अजिंगरपूजा र चुलापूजाले नियामा तराईसँग मिल्दैन,’ उनको दाबी छ, ‘तसर्थ, नियामा भनेको चीनतिरै पर्छ । भाषाशास्त्री र वंशाणु वैज्ञानिकको भनाइलाई प्रमाणित पनि गर्न खोज्छ ।’

किरात राई समुदायले खेतीपाती गरेको प्रथम अन्न कागुनी रहेको मुन्दुममा वर्णन गरिन्छ । मुन्दुमअनुसार कागुनी पितृलाई चढाउने पवित्र अन्न हो । ‘कागुनीलाई राईहरूले फेरो भन्छन् । चिनियाँले फें भन्दारहेछन्,’ उनले सुनाए, ‘त्यही अन्नलाई चिनियाँले अलि अप्ठ्यारो गरी फें भनेर उच्चारण गरे । हामीले अलि सजिलो गरी फेरो भन्यौं । कागुनीलाई चिनियाँ र राईहरूले भन्ने शब्द एउटै छ ।’

पुरातत्वविद्का भनाइअनुसार– ह्वाङ्होको मध्ये र माथिल्लो उपत्यकामा १० हजार वर्षपहिले संसारमै पहिलोपटक फेरो खेती थालिएको थियो । ‘फेरो र फें पितृलाई चढाउने पवित्र अन्नमात्रै नभएर, प्रथम अन्न भनेर व्याख्या गरिएको छ,’ उनको ठम्याइ छ, ‘त्यसले नियामा भन्ने ठाउँ चीनको ह्वाङहो नदीको मध्ये र माथिल्लो उपत्यकाको उब्जाउशील मैदान नै हुन सक्छ ।’

पुरातात्विक खोजीअनुसार– ह्वाङ्होमा सांस्कृतिक सागम्रीसहित धामीको समाधिस्थल भेटिएका छन् । अजिंगरको ढुंगेचित्र धामीहरूको समाधिस्थलमा भेटिए । त्यही क्षेत्रमा चुला बनाउँदा प्रयोग गरिने तीन ढुंगाप्रथा पनि भेटियो । ‘तसर्थ, पुरातात्विक खोजीले मुन्दुमले भनेको नियामा ह्वाङ्हो नदीको कुनै मैदान नै हो कि भन्ने मेरो बुझाइ छ,’ उनले भने, ‘भाषाशास्त्री र वंशाणुविज्ञानसँग मेरो निष्कर्ष निकै नजिक हुन सक्छ कि ।’

ह्वाङहोबाट हिँडेको मानिसलाई कास्मिरको पहाडसम्म आउने समस्या थिएन कि भन्ने देखाउँछ । मुन्दुममा बसाइँ–सराइको कथा सुनाउँदा नियामापछि तीन–चारवटा पहाडको वर्णन गरिन्छन् । ओखलढुंगानिवासी बुद्धिकुमार ह्वङ्गु धामी हुन् । उनी पछि धामी भएका थिए । ‘उहाँ भारतीय सेनामा हुनुहुन्थ्यो । भारतीय सेनामा रहँदा कास्मिर पुग्नुभयो । भारतीय सेना भएपछि दुई वर्ष, तीन वर्ष या ६ महिना कास्मिरमा ड्युटी गर्नैपर्दोरहेछ,’ मुन्धुम अध्येता भोगीराज चाम्लिङले प्रस्ट्याए, ‘ड्युटीक्रममा उहाँ जोजिला पहाडसम्म पुग्नुभयो । अवकाशपछि ओखलढुंगा फर्केर बाहिङ राईको मुन्दुम संकलन गर्न सुरु गर्नुभयो । जोजिला चीन र भारतको सीमाको डाँडा रहेछ । त्यहाँ वर्षमा तीन महिनामात्रै खुल्छ । अरू समय हिउँले ढाकिन्छ । धामीले मुन्दुम गाउनेक्रममा जोजिलालामको प्रसंग उल्लेख गर्दा उहाँ चकित पर्नुभयो रे । उनी जहाँ पुगेका थिए, धामीले त्यही ठाउँको वर्णन गरिरहेको सुनेपछि उहाँ तीनछक पर्नुभएको थियो ।’

मुन्दुम अध्येता चाम्लिङ ह्वङ्गुलाई भेट्न ओखलढुंगा पुगे । कुराकानीक्रममा ह्वङ्गुले आफू जोजिलासम्म पुगेको सुनाए पनि पैतिप र खैबरबारे अनभिज्ञता प्रकट गरेका थिए । उनी ओखलढुंगाबाट फर्केपछि रातारात पैतिप र खैबरको खोजी गर्न थाले । ‘खैबर त भेटिहालें । पाकिस्तान र अफगानिस्तानको सीमामा पर्ने खैबर चर्चित पहाड रहेछ । त्यो पनि हिमाली नाका हो,’ उनले लख काटे, ‘पैतिप पत्ता लागेन । जोजिला र खैबरबीचमा पारापिक डाँडा छ । पारापिकलाई किरातीले पैतिप भनेका हुन् कि ।’
किरातीहरू ह्वाङ्होबाट हिँडेर चीन र भारतको सिमाना पार गर्दै खैबरसम्म पुगे । त्यहाँबाट उनीहरू योंला (मुन्दुमको वर्णन विशेषता र पुरातात्विक खोजअनुसार योंला भनेको सिन्धुघाँटीको सभ्यता हुनुपर्छ) आइपुगे । ‘सिन्धुघाँटीको सभ्यता द्रविडले विकास गरेका हुन् । मुन्दममा किरातीले हाम्रो सभ्यता भनेर दाबी गरेका छैनन्,’ उनी विश्वस्त छन्, ‘त्यो नाग जातिको सभ्यता भनेर नै वर्णन गरिन्छ । खैबरभन्दा अलि तल मैदान भएकाले योंला भनेको त्यही सिन्धुघाँटीको सभ्यता हुन सक्छ । हाम्रा पुर्खा त्यो सभ्यतासँग परिचित थिए कि के हो ?’

किरातीको पुर्खा शिव हो भन्ने भनाइ छ । सिन्धुघाँटीबाट द्रविडका कुनै लिडरलाई बोकेर, लिएर किरातीले आफ्नो पनि लिडर मानिआएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । पानीपूजा गर्दा मुन्दुममा योंलाको वर्णन गरिन्छ । मुन्दुमअनुसार योंला नाग जातिको ठाउँ हो । किराती पुर्खाले नाग कन्यासँग त्यहीं प्रेमविवाह गरेका थिए । त्यतिबेलै किराती पुर्खाले प्रेम गर्न जानिसकेका रहेछन् ।

मुन्दुममा नदीकिनाकार सभ्यताको वर्णन गरिन्छ । ‘नाग जातिसँग वाछीनारी (जिमाला, सिमाला) थियो । निकै महँगो पर्ने वाछीनारी समाधिस्थलमा भेटिन्छ । मुन्दुमअनुसार वाछीनारी किराती पुर्खासँग थिएन । ‘आफ्नो प्रेमीसँग छोरी घर आएपछि नागमाताले नागपितालाई सम्झाइ–बुझाइ गर्नुपर्ने भयो । नागपिता घर आएपछि हाम्रोमा त मान्छे पो आएको देख्छु त भनेर निहुँ खोज्न थाल्छन्,’ उनले जानकारी गराए, ‘नागमाताले छोरीलाई उनले मनपराएकासँग बिहे गरिदिनुपर्छ भनेर नागपितालाई सम्झाउँछिन् । त्यसो हो भने म त्यो केटासँग कुरा गर्छु । हाम्री छोरीसँग बिहे गर्ने हो भने उनले वाछीनारी दिनुुपर्छ । आमाछोरीले हुन्छ, उनले दिन्छन् भनेर विश्वस्त तुल्याउँछन् । नागपिता घुम्न गएको मौका छोपी उनकै वाछीनारी चोरेर किराती पुर्खालाई दिन्छन् । हुनेवाला ससुराले तिमीसँग वाछीनारी छ त भन्दा किराती पुर्खाले तुरुन्त देखाउँछन् । वाछीनारी पाएपछि नागपिताले किरातीलाई आफ्नो छोरी जिम्मा लगाई तिमीहरूले गरिखानू भनेर केही अन्न र प्रविधिसहित बिदा गरेका थिए ।’

यो कथा पानीपूजामा आउँछ । पानीपूजा गर्दा महादेव र शिवको प्रसंग जोडिन्छ । उनीहरूको पुकार गरिन्छ । पुरातात्विक खोजअनुसार सिन्धुघाँटीको हडप्पा र मोहनजोदाडोमा नागपूजा गर्ने जाति थिए भने नागको मूर्तिका टुक्रासमेत फेलापरेको थियो । सिन्धुघाँटीलाई आर्यले ध्वस्त बनाएको सहर भनिन्छ । पुरातत्वविद्ले होइन भनेका छन् । उनीहरूका अनुसार, सिन्धु नदीको बाढीले बिस्तारै पुरिँदै गएपछि स्थानीय अन्तैतिर सरेका हुन् । त्यहाँ नागपूजा गर्ने जातिमात्रै नभएर, वाछीनारीको कारखानासमेत भेटियो । वाछीनारी व्यापारका लागि त्यहाँबाट रोमतिर लगिँदोरहेछ । त्यतिबेला नेपालको पहाडी क्षेत्र हुँदै तिब्बततिर लगेर पनि वाछीनारी बेचिँदोरहेछ ।
एकताका नेपालका पूर्वी पहाडतिर किरातीको समाधिस्थल खोतल्दा वाछीनारी भेटिन्थ्यो । हिजोआज पाइँदैन । पुरानो समाधिस्थल खोतलेर ध्वस्त पारिसके । त्यतिबेला पाँच सयदेखि एक हजार रुपैयाँमा वाछीनारी बेचिन्थ्यो । लिम्बू समुदायले संकलन गरेर नागाल्यान्डसम्म पुर्याउँथे ।

हिन्दु धर्मावलम्बीले पशुपतिलाई पूजा गर्छन् । त्यो पनि सिन्धुघाँटीको सभ्यताबाट सुरु भएको भनेर सबैले मानिआएकै हो । शिव र महादेवको आद्य (प्रोटो) रूप सिन्धुघाँटीमा फेलापरेको थियो । त्यसको पुकार पानीपूजामा गरिन्छ । वाछीनारीको कारखाना भेटिएको प्रसंग जोडिन्छ । उल्लिखित सबै दृष्टान्तले योंला भन्ने ठाउँ सिन्धुघाँटीको सभ्यता हुन सक्छ । किरातीको रक्तमिश्रण पहिलोपटक द्रविडसँग भएको हो कि भन्ने भोगीराज चाम्लिङको अनुमान छ ।

‘यसरी किराती सिन्धुघाँटीसँग परिचित थिए होलान् । पुरातात्विक खोजले फेलापारेको प्रमाणअनुसार सिन्धुघाँटीमा मंगोलमूलका हाड भेटिए । त्यहाँ भेटिएका चारथरी हाडमध्ये मंगोलको पनि एक हो,’ मुन्दुम अध्येता चाम्लिङले बताए, ‘त्यहाँ गाई र सुँगुरको हाड पनि भेटिए । जुन मासुका रूपमा किरातीले प्रयोग गर्छन् । किरातीले गाई नभएर, गोरुको मासुचाहिँ खान्छन् । किरातीको पहिरन र गहनासमेत सिन्धुघाँटीमा भेटिए । त्यहाँका नाग जातिको पहिरन अहिलेका किरातीको पहिरन एउटै छ ।’ लिम्बू र राई समुदायका महिलाले शिरमा लगाउने गहना चन्द्रमा सिन्धुघाँटीका महिलाले पनि प्रयोग गर्थे । तिलहरी पनि त्यहीं भेटियो ।

यसैगरी, मगर र गुरुङ समुदायले प्रयोग गर्ने ‘गादो’ हिजोआज किराती धामीको पोसाकमा मात्रै सीमित छ । गादोसमेत सिन्धुघाँटी सभ्यताको देन रहेछ । यो संयोगमात्रै हो कि साँचो हो भनेर सोचमग्न बनाउँछ ।

किरातीहरू ह्वाङहो नदीबाट हिँडेर कास्मिरको पहाड हुँदै सिन्धुघाँटीको सभ्यतासम्म पुगे । ‘हामी त्यहाँ धेरै वर्षसम्म बस्यौं । यसो गर्यौं । उसो ग¥यौं । लड्यौं भनेर वर्णन गरिएको छैन,’ मुन्दुमको प्रसंग सुनाउँदै उनले थपे, ‘तर, नाग जातिले छोरी दिएर बिदाइ गरेको प्रसंगचाहिँ जोडिन्छ । किरातीहरू सिन्धुघाँटीमा धेरै समय बसेनन् होला तर त्यहाँको सभ्यता सिकेर अघि बढे होलान् भन्ने लाग्छ ।’

सिन्धुघाँटीबाट दिल्ली, गंगाको मैदान हुँदै सप्तकोसीसम्म आएका हुन् कि भन्ने मुन्दुमको वर्णनबाट लख काट्न सकिन्छ । सिन्धुघाँटीको सभ्यताबाट दिल्ली, बाजी (बाजी थारूले प्रयोग गर्छन् । उनीहरूले आफूभन्दा दक्षिणतिर बस्ने वृज्जी जातिलाई हेपेर बोलाउने शब्द । किरातीले थारूको शब्दबाट ‘कपी’ गरेको हुनुपर्छ) हुँदै नेपालको पूर्वी पहाड चढेको अनुमान गर्न सकिन्छ । वंशाणु वैज्ञानिकको भनाइअनुसार आठदेखि १० हजार वर्षपहिले थारू नेपालका तराईमा बसोवास गर्थे । त्यस आधारमा किराती पुर्खाभन्दा अघि नै नेपालमा थारूको बसोवास थियो भन्ने पुष्टि हुन्छ ।

दिल्ली नामचाहिँ दुई हजार वर्ष पहिलेदेखि प्रचलनमा थियो । दिल्ली, थारू, वृज्जी, साप्ती (शाक्य?) को उल्लेख हुनु भनेको धेरै पहिले किरातीहरू त्यहाँबाट हिँडेका थिए भन्न सकिन्छ । किरातीहरू ६ हजार वर्षदेखि बसाइँ हिँड्न थालेर नेपालको पूर्वी पहाडमा चार हजार वर्षअघि आइपुगेका हुन् कि भन्ने मुन्दुम अध्येता चाम्लिङले अनुमान गरेका छन् ।

चार हजार वर्ष हुनुको कारण छ । धामीले मुन्दुम गाउँदा दुईथरी ढुंगे हतियारको वर्णन गर्छन् । त्यसलाई वज्र ढुंगा पनि भनिन्छ । मुन्दुमको वर्णनअुनसार हैकाम बैथर भनेको धर्तीको ढुंगा र निनाम बैथर भनेको चट्याङ पर्दा बन्चरोजस्तो झर्ने ढुंगा हो । मानिसले बनाएको ढुंगाको हतियार हैकाम बैथर हो । चट्याङ पर्दा बन्चरोजस्तो ढुंगालाई निनाम बैथर भनिन्छ । पूर्वी पहाडतिर पाइने ढुंगाको हतियार आसामतिर पाइनेसँग बनावट मिल्छ । रामनिवास पाण्डेले आसामको ढुंगा चार हजार, पैंतालीस सय वर्ष पुरानो मानिएकाले नेपालको पूर्वी पहाडमा किरातीसँग भएको ढुंगे हतियार त्यति नै पुरानो हुन सक्छ भनेर नेपालको प्राग्ऐतिहासिक किताबमा लेखेका छन् । त्यसका आधारमा भन्न सकिन्छ, ‘किरातीहरू ६ हजारदेखि चार हजार वर्षअघि नेपालको पूर्वी पहाडमा आइपुगेका थिए होलान् ।’

‘यसरी बसाइँ हिँड्नेक्रममा किरातीले फरक–फरक बाटो प्रयोग गरेको देखिन्छ । सक्नेले सिधै हिमाल पार गरे । नसक्नेले नदीनाला छल्दैछल्दै आए । लिम्बू समुदायको मुन्धुममा ब्रह्मपुत्र नदीको वर्णन पाइन्छ । त्यसैले उनीहरू पूर्वबाट आएका हुन सक्छन्,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको ठम्याइ छ, ‘किरात राईका केही समूहचाहिँ पश्चिमबाट मैदान हुँदै उकालो लागेको देखिन्छ । धेरै समयमा धेरै ठाउँबाट बसाइँ सर्दै आएका किरातीको जमघट र मिश्रण अहिलेका किराती हुन् ।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: