गन्तव्य समाजवाद ! तर कहिले ?

बहस समाजवादको


SHARES

  • मोहन खत्री ‘दीपक’

पृष्ठभूमि

नेपालमा ७० वर्षअघि कम्युनिस्ट पार्टीको स्थापना भएपछि समाजवादबारे छलफल र बहस चलिरहेको छ । विश्व कम्युनिस्ट आन्दोलनमा भने दुईसय वर्षदेखि यस्तो बहस चलिरहेको छ ।

केशव दाहालले एक वहसमा भनेका थिए, हामीसँग ७०–८० वर्ष भन्दामाथि उमेर छैन । हामी दुईसय वर्ष बाँच्ने भए समाजवादबारे ५० वर्ष छलफल गरौं, ५० वर्ष उपभोग गरौं भन्ने हुन्थ्यो । हाम्रो जीवन त, छलफलमा नै बित्छ जस्तो छ । उपभोग कहिले गर्ने ? नातिका लागि हुन्छ भनौं भने नातिले आफ्नो व्यवस्था आँफैं रोज्ला, हाम्रो बाटो हिड्छ, वा हिँड्दैन । तसर्थ समाजवाद हाम्रै जीवनमा हामीले नै उपभोग गर्ने हो ।

यसलाई हाम्रै जीवनमा सम्भव तुल्याउन पर्छ । आफ्नै जीवनमा समाजवाद उपभोग र लागू गर्न नेपालका कम्युनिस्ट पार्टीको कार्यक्रम समाजवाद नै हुनुपर्छ । हामी वर्गको कुरा गरिरहेका छौं । तर, नेपालको वस्तुगत स्थिति र जनताको अवस्था मध्यम वर्गीय विचारको आधार हाबी र बहुसंख्यक हुँदैछ । राजनीतिक लगायत सबै तहको नेतृत्वमा मध्यम वर्ग र उसको सोच हाबी भइरहेकै छ । हाम्रा सोचाइ, बुझाइ र नीति कार्यक्रममा पनि बस्तुगत सापेक्ष बनाउनु पर्छ ।

विगतका हाम्रा प्रयासहरु
१. पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दै नयाँ जनबादी कार्यक्रम अघि सारेर भएको प्रयास,
२. नेकपा (एमाले)ले मदन भण्डारीको बहुदलीय जनवादको कार्यक्रम अघि सारेर भएको प्रयास
३. नेकपा (माओवादी)ले क. प्रचण्डको नेतृत्वमा जनयुद्धको कार्यक्रम अघि सारेर भएको प्रयास ।

अलगअलग तरिकाले गरेका संघर्षको प्रयासले हामीले नयाँ जनवादी राज्य व्यवस्था स्थापना र विकास गर्न त सकेनौं । तर, जनयुद्ध र जनआन्दोलनको बलबाट राजतन्त्रको अन्त्य गरेर गणतन्त्र नेपालको स्थापना गर्न भने हामी सफल भएका छौं ।

संविधानसभाबाट नेपालको संविधान निर्माण गरी राज्यको पुनर्संरचना गर्दै, जनताका राजनीतिक उपलब्धी र जनाधिकारलाई संस्थागत गर्ने अवस्थासम्म आइपुगेका छौं । लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरेका छौं ।

समानुपातिक समावेशीता सहितको संघीय नेपालको संविधान हामीसँग छ । संविधानको प्रस्तावनामै समाजवादउन्मुख भनिएको छ । तर, शासन प्रणाली भने संसदीय पुँजीवाद नै कायम गरेका छौं ।

संविधानलाई परिमार्जन गर्दै समाजवादी कार्यक्रम लागू गर्न सत्ताको कार्यकारी प्रमुख जनताबाट निर्वाचित हुने प्रणालीमा आधारित बनाउनु पर्दछ । यसले समाजवादी कार्यक्रम कार्यान्वयन गर्न सजिलो हुन्छ ।

अबको हाम्रो कार्यक्रम

विश्व परिवेश आज एकीकृत पुँजीवादको चरणमा छ । पुँजीवाद पनि भूमण्डलीकृत पुँजीवादमा रुपान्तरण भएको छ । विज्ञान प्रविधिले संसारलाई एउटा चिप्समा अटाएको छ । जसले गर्दा संसार एउटा गाउँमा परिणत भएको छ ।

नेपालको राजनीतिमा पनि परिवर्तन भएको छ । नेपालको राजनीतिक शक्ति सन्तुलनमा पनि परिवर्तन आएको छ । मूलधारका दुई ठूला कम्युनिस्ट पार्टी एक भएका छन् ।

मुलुकमा कम्युनिस्ट पार्टीले बहुमत ल्याएर सरकार बनाएको छ । तर, राजनीतिक दलप्रतिको जनविश्वास नेपाली सन्दर्भमा उतारचढावपूर्ण देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र नेपाली कांग्रेस दुई पार्टीमा जनता बाँडिने जस्तो देखिन्छ ।

जनले कांग्रेसको विकल्पका रुपमा नेकपा र नेकपाको विकल्पको रुपमा कांग्रेसलाई साथ दिएको जस्तो देखिन्छ । यी दुई पार्टीको विकल्प जनताले अहिले नै खोजेका छैनन् । शक्ति सन्तुलन पाँच वर्षकै लागि भए पनि यी दुई पार्टीको विकल्प जनताले खोजेको देखिँदैन ।

समाजवादभन्दा तलको कार्यक्रमले वर्तमान अवस्थामा पुँजीवादको मुकाबिला गर्न सकिदैन । तसर्थ अबको नेपाली क्रान्तिको कार्यक्रम समाजवाद नै बनाउनु पर्दछ । समाजवाद भनेको सिद्धान्त मात्र होइन, यो कार्यक्रम पनि हो ।

सामाजिक न्यायसहितको समृद्धि, विकास र सुशासन दिएर जनतालाई सुखी बनाउने कुरा नै समाजवाद हो । समाजवादको अनुभूति दिने कुरा सत्ताबाहिर बसेर सम्भव छैन । सत्ताबाहिरबाट खबरदारी मात्र गर्न सकिन्छ । जनताको चाहना सुशासन, समृद्धि र विकास छ । नेकपाले सोही जनचाहनाअनुरुप आफूलाई उभ्याउनुपर्छ । अनिमात्र नेकपा सत्तामा पुग्छ, सत्तामा नबसी समाजवादी कार्यक्रम लागू गराउन सकिदैन ।

समाजवादको आधार तय गर्न जनमुखी र लोकप्रिय कार्यक्रमहरु अघि बढाउन सके शक्ति सन्तुलनमा परिर्वतन आए पनि समाजवादी कार्यक्रमबिना कुनै पनि शक्ति अघि बढ्न नसक्ने आधार तयार हुन्छ । यो परिवेशमा जनचाहना बुझेर कार्यक्रम बनाउन नसक्ने पार्टीले जन समर्थन प्राप्त गर्दैन ।

अब समाजवादलाइ केवल सिद्धान्त मात्र बनाएर हुँदैन । सपनाको विषय होला, जनतालाई सपना बाड्ने माध्यम होला तर, समाजवाद लागु गर्ने गराउने कुरा हुन सक्दैन । जनताले समाजवादको कार्यान्वयन आफ्नै जीवनमा हेर्न चाहेका छन् । हामीले पनि त्यही चाहेका छौं ।

पुँजीवादले समृद्धि दिने तर समाजवाद केवल सपना र सिद्धान्त मात्रै रहिरहने हो भने जनताले साथ दिन छाड्छन् । जनता र हामीलाई पनि आफ्नै जीवनमा समाजवाद चाहिएको छ ।

समाजवादको नेतृत्व

समाजवादमा पार्टी नेतृत्व पारदर्शी, जनउत्तरदायी र सरल जीवनशैलीयुक्त हुनुपर्छ । शासक जस्तो, गुटबन्दीको मानसिकता भएको, छलछाम र षड्यन्त्रमा विश्वास गर्ने नेतृत्वले नेता कार्यकर्ताको भावना सम्बोधन गर्न सक्दैन । निजी सम्पतिको लोभी र नेता कार्यकर्ताको भावना सम्बोधन नगर्ने नेतृत्वले समाजवादी कार्यक्रमको नेतृत्व र कार्यान्वयन गर्न सक्दैन ।


नेपाली राजनीतिमा देखिएका केही सोचहरु :

सत्ताबाहेक केही होइन, जसरी पनि सत्तामा जाने र नब धनाड्य पुँजीपतिमा आफूलाई रुपान्तरण गर्दै साशक बन्ने सोच ।

समाजवादी कार्यक्रम लागू गर्न गराउन सत्तामा जानु पर्छ । समाजलाई रुपान्तरण गर्दै स्वयम् आफू पनि रुपान्तरण हुँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउने उदेश्यले सत्तामा जानुपर्छ । भन्ने सोच ।

समाजवाद भनेको त सिद्धान्त हो । सत्तामा गयो भने सिद्धान्त बिटुलो हुन्छ । तसर्थ सडकमा बसेर विरोध गर्ने मात्र कार्यक्रम बनाएर जीवन बिताउनु पर्छ भन्ने सोच ।

यी विचारमध्ये अबको नेतृत्व समाजवादी कार्यक्रम लागू गर्न गराउन सत्तामा जानु पर्छ । त्यस्तो नेतृत्वले मात्र देशलाई समृद्धि र समाजमा सुशासन स्थापना गर्दै जनतालाईसुखी बनाउँदै समाजबादी कार्यक्रम लागू गर्न र गराउन सक्दछ ।

(लेखक नेपाल कम्युस्टि पार्टी (नेकपा) का नेता तथा तत्कालीन संविधानसभाका सदस्य हुन् ।)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV