गणतन्त्रमा पनि सुधार नभएको राजतन्त्रीय भाषा !

नागरिक टिप्पणी


SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को सरकारको नीति तथा कार्यक्रम आज (शुक्रबार) संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गरेकी छन् । उनले १ घण्टा ४४ मिनेट लगाएर सार्वभौम संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले उच्चारण गरेका केही शब्दले चासोका साथ नीति तथा कार्यक्रम सुनेर बसिरहेका आमनागरिकले ‘गणतन्त्रमा पनि राजतन्त्रको झल्को’ महसुस गरेका छन् । राष्ट्रपति भण्डारीले पटक–पटक उच्चारण गरेका ‘मेरो सरकार’ भन्ने दुई शब्द सुनेर धेरैले राजतन्त्रमा राजाहरुले नीति तथा कार्यक्रम प्रस्तुत गरेको स्मरण गरे । राष्ट्रपतिबाट उच्चारण भएको भाषामा कतिपयले सामाजिक सञ्जाल मार्फत ‘गणतन्त्रमा समेत राजतन्त्रको भाषा’ भनेर टिप्पणी गरेका छन् । राजतन्त्र हुँदा तत्कालीन राजाले आफू राजा अर्थात् शासक र अरु रैती अर्थात सर्वसाधारण भन्ने शासकीय सोंचले प्रयोग गर्ने गरेको ‘मेरो सरकार’ भन्ने शब्दले अहिले समेत निरन्तरता पाएको छ ।

त्यसो त सरकारले ठिक्क पारेको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिबाट वाचन हुनेमात्र हो । मन्त्रिपरिषद्बाट पारित भएको नीति तथा कार्यक्रमअगावै राष्ट्रपति समक्ष बुझाइन्छ । त्यसलाई दोहोर्‍याइ तेहेर्‍याइ पढेर मात्र राष्ट्रपतिबाट संसदमा प्रस्तुत हुन्छ ।

त्यसमा पनि हाम्रो राष्ट्रपतिको राजनीतिक इतिहास छ । आमनागरिकसँगै सडकमा लडेर गणतन्त्र ल्याउन राष्ट्रपति भण्डारीको महत्त्वपूर्ण भूमिका छ । यसर्थ पनि हाम्रा राष्ट्रपति भण्डारीबाट आमनागरिकले राजतन्त्रात्मक परम्परामा आमूल परितर्वनको अपेक्षा गरेका छन् । आज जुन शब्द प्रयोग भए, यसमा राष्ट्रपतिले विवेक पुर्‍याउन सक्नुपर्थ्यो।

सरकारले समेत राजा र रैतीको मानसिकता भएका भाषा प्रयोगमा जोड दिनु हुँदैन । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाने क्रममा राष्ट्रपतिलाई पहिलेको जस्तो एक घण्टा नै सडक ठप्प गरेर संसद भवन पुर्‍याउने परिपाटीमा सुधार गरिएको कुरा प्रशंसनीय छ । तर, सभामुखको आसननजिक राष्ट्रिय झण्डा हुँदाहुँदै अर्को राष्ट्रिय झण्डा राष्ट्रपति भण्डारीको आडैमा ल्याएर राखियो । राष्ट्रपतिको अर्कोपट्टिको आडैमा बसेका राष्ट्रियसभाका अध्यक्षको पछि झण्डा थिएन । यो आफैंमा असोभनीय छ ।

संसदमा सम्बोधन गर्नेक्रममा सभामुख/अध्यक्ष मार्फत आफ्ना कुरा राख्ने संसदीय परिपाटी हो । तर, राष्ट्रपतिबाट माननीय सदस्य भन्ने सम्बोधन भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘प्रतिनिधिसभाका माननीय सभामुख र राष्ट्रियसभाका माननीय अध्यक्ष’ उच्चारण गर्नु राष्ट्रपति भण्डारीको ‘टङ स्लीप’ मान्न सकिन्छ । तर, नीति तथा कार्यक्रममै बीचबीचमा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई नभई ‘माननीय सदस्यहरु’मात्रै लेखिनु सभामुख/अध्यक्षमार्फत आफ्ना कुरा राख्ने संसदीय पारीपाटीलाई कमजोर पार्छ कि भन्ने आशंका गर्ने ठाउँ छ ।

राष्ट्रपति पनि आमनागरिकभित्रकै एक पात्र हुन् । राष्ट्रपतिको पदमा रहँदा गरिमा, सुरक्षाजस्ता विभिन्न बाध्यता हुन सक्छन्, तर आमनागरिकले राष्ट्रपतिबाट सरल व्यवहारको अपेक्षा गरेका छन् । नागरिकको अपेक्षाअनुसार राष्ट्रपतिबाट आफूलाई नागरिकमैत्री बनाउनु आवश्यक छ । शब्द र भाषाको कुरामात्र होइन सम्पूर्ण आचरणमा परिवर्तन गर्न जरुरी छ । राष्ट्रपति संस्थाको गरिमालाई अझै ओजपूर्ण बनाउँदै कसरी सरल, सहज बनाउने भन्ने सरकारको प्रमुख दायित्व हो । सरकार पनि जिम्मेवार हुनुपर्दछ । 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १२ गते, सोमबार

menu LIVE TV