सुधार हुँदै शान्ति सुरक्षा : दक्षिण एसियामा नेपाल तेस्रो सुरक्षित मुलुक (भिडियो)



  • निम्लेकी शेर्पा

काठमाडौं । लामो समय अशान्त रहेको नेपाल अझै पनि शान्त हुन नसकेको लाग्न सक्छ । कतिपयलाई त अझै पनि समाज अशान्त रहेको लाग्नसक्छ । शान्ति सुरक्षा सुदृढ रहेको प्रहरी र सुरक्षा निकायको दावी सही नलाग्नसक्छ । तर, विश्वव्यापी रुपमा शान्ति सुरक्षासम्वन्धी भएको एक अध्ययनले भने नेपालमा निरन्तर सुरक्षित बन्दै गएको पुष्टि गरेकाके छ ।

तथ्याङ्कले नेपालमा अपराधका घटना बढेका छन् । अपराधको सुई उचो देखिएको छ । घरायसी झैझगडा, हत्या, बलात्कार, अपहरण, लागूऔषध कारोबार, चोरी डकैती जस्ता गम्भीर प्रकृतिका अपराध बढेको नेपाल प्रहरीको तथ्याङ्कले पुष्टि गर्छ । आर्थिक वर्ष २०७५/७६ को चैत्र मसान्तसम्म मात्र १७ हजार बढी सामाजिक अपराधका घटनाहरु भएका छन । यद्यपि, नेपाल समग्र मुलुकको शान्ति सुरक्षाको मामिलामा भने सकारात्मक फड्को मारेको एक अध्ययनले देखाएको छ ।

शान्ति सुरक्षा सुधारका सूचक यस्तो

अर्थशास्त्र र शान्तिका लागि संस्था (ईआइपी)ले १३औं विश्व शान्ति सूचाङ्क अध्ययन प्रतिवदेन भर्खरै सार्वजनिक ग¥यो । विश्वभरका एक सय ६३ राष्ट्रमध्ये नेपाल शान्ति सुरक्षाको सवालमा ७६औं स्थानमा पर्न सफल भएको छ । योसँगै नेपाल मध्यम शान्ति सुरक्षा भएको मुलुकको पहिलो स्थानमा परेको छ ।

नेपाल दक्षिण एसियाली मुलुकहरुमा तेस्रो स्थानमा पर्न सफल भएको छ । २०१८ मा ८८ स्थानमा रहेको नेपाल आठ अंक माथि उक्लिँदै मध्यम शान्ति सुरक्षाको पहिलो राष्ट्र बनेको हो ।

कसरी मापन गरिन्छ

अर्थशास्त्र र शान्तिका लागि संस्थान (ईआइपी) ले सन् २००८ देखि हरेक वर्ष विश्वका विभिन्न स्वतन्त्र मुलुकहरुको हिंसाको तथ्याङ्क र स्थिति, शान्ति सुरक्षाका लागि गरिएका प्रयास आदिको विश्लेषण गरेर शान्ति सुरक्षा सूचाङ्क मापन गर्ने गर्दछ ।

मुलुकको शान्तिको सुरक्षाको अवस्था, त्यसको आर्थिक मूल्य र शान्तिपूर्ण समाज निर्माणमा त्यस मुलुकको अग्रसरता आदिको विशेष विश्लेषण गरिन्छ । विश्वका ९९.७ प्रतिशत जनसंख्यामा गुणात्मक र मात्रात्मक दुवै पद्धतिको प्रयोग गरी त्यस मुलुकभित्रको सामाजिक सुरक्षा, आन्तरिक र बाह्य द्वन्द्व, द्वन्द्वका तयारी र गत वर्षको शान्ति सुरक्षा सूचाङ्क समेतको विशेष अध्ययन गरी यो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दछ ।

यसैका आधारमा अंक दिने र देशले पाएको अंक अनुसार धेरै उच्च, उच्च, मध्यम, निम्न, एकदम निम्न र समावेश नभएको गरी छ वटा भागमा बाँडिएको छ । नेपाल मध्यम सुरक्षा भएको मुलुकको पहिलो नम्बरमा परेको छ ।

सन् २०१९ को जुन पहिलो सातामा सार्वजनिक भएको तथ्याङ्क अनुसार युरोपियन मुलुक आइसल्यान्ड संसारकै उच्च शान्ति सुरक्षा भएको मुलुकको सूचीमा सूचीकृत भयो भने दक्षिण एसियाली मुलुक अफगानिस्तान शान्ति सुरक्षाको अन्तिम नम्बरमा छ ।

दक्षिण एसियाली मुलुकमा भुटान शान्ति सुरक्षामा सबैभन्दा उच्च शान्ति सुरक्षा भएको मुलुकको रुपमा सूचीकृत भएको छ भने नेपाल तेस्रो स्थानमा छ । छिमेकी मुलुक चीन एक सय दश अंकमा परेको छ भने भारत एक सय ४१ औं स्थानमा छ ।

यसरी सुध्रियो नेपालको सुरक्षा

नेपालको सन्दर्भमा मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्था सुधारिएको छ । पछिल्लो समयमा सार्वजनिक भएका तथ्याङ्कले सोही कुराको पुष्टि गरेको छ । विगतको तुलनामा ८ अंकले सुधार हुनुले प्रहरीको दावी सही सावित हुँदै गएको छ ।

प्रहरीका अनुसार, पेशेवर अपराध धेरै कम भइसकेको छ । पछिल्लो समय समाजमा बढ्दै गएको सामाजिक तथा पारिवारिक अपराधका कारण उच्च स्थानमा आउन नसकेको नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेलको दावी छ ।

पारिवारिक तथा सामाजिक प्रकतिका घटनाहरु धेरै भएका छन् । त्यसको सुनुवाईका लानि कार्तिकबाट सामुदायिक प्रहरी साझेदार कार्यक्रमबाट समाजमा जनचेतना फैलाउने मात्र नभई नागरिकको प्रत्यक्ष सहभागितामा काम गरिरहेका छन् ।

नेपाल प्रहरी लगायत सुरक्षा निकायको सक्रियता बढ्दो छ । सामाजिक परिवेश पनि फेरिएको छ । राजनीतिक स्थापित्व बनेको छ । त्यसैले पनि सुरक्षाको स्थितिमा सुधार आएको दावी प्रहरी प्रवक्ता पोखरेलको छ । त्यसबाहेक समाजलाई भयावह तुल्याउने खालका आपराधिक घटनाका साथै पेशेवर अपराध कम हुँदै गएको उनको भनाइ छ ।

शान्ति सुरक्षा दावी गरेर मात्र हुँदैन । शान्ति सुरक्षा आमनागरिकले अनुभूत गर्ने सवाल हो । आमनागरिकले आफ्नो अधिकार विना डर, त्रास उपभोग गरिरहेका छन । मुलुकको शान्ति सुरक्षामा सुधार आएको आधार भनेकै जनताको अनुभूति हो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV