जनार्दनले गृहमन्त्रीलाई सोधे: विप्लवका जिल्ला इन्चार्ज पौडेलको हात ६/७ ठाउँमा कसरी भाँचियो ? « Nagarik Khabar

जनार्दनले गृहमन्त्रीलाई सोधे: विप्लवका जिल्ला इन्चार्ज पौडेलको हात ६/७ ठाउँमा कसरी भाँचियो ?



काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’संग विप्लव नेकपाका सर्लाही इन्चार्जको मृत्यु प्रकरणमा आधा दर्जन प्रश्न सोधेका छन् । गृहमन्त्री थापा उपस्थित राज्य व्यवस्था समितिको बैठकमा नेकपाका नेता शर्माले कुमार पौडेलको मृत्यु दोहोरो मुठभेडमा नभएको दावी गरेका छन् ।

शर्माले पौडेलको हात ६/७ ठाउँबाट भाँचिएकाले मुठभेडमा नभएर नियन्त्रणमा लिएर मारिएको कुरालाई संकेत गरेको बताएका छन् । आम नागरिकले पनि पौडेलको मृत्यु मुठभेडमा नभएको बताएका दावी गर्दै शर्माले गोली लागेर मारिएको भनिएका व्यक्तिको हात ६/७ ठाउँमा कसरी भाँचियो भनेर गृहमन्त्रीलाई प्रश्न सोधेका छन् । सरकारले संविधानको पालना र मानवअधिकारको रक्षा गर्नुपर्नेमा ठिक उल्टो तर्फ गईरहेको शर्माको आरोप छ ।

गृहमन्त्रीले मुठभेडमा मारिएको बताएपनि घटना विश्वास गर्न नसकिने खालको भएको शर्माको तर्क छ । पूर्वगृहमन्त्री समेत रहेका शर्माले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको पनि बिरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: