पर्यटनमन्त्री भट्टराईको ११ दिन ९ काम



काठमाडौं । योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्हालेको शनिबार ११ दिन भएको छ । ५ महिनासम्म नेतृत्व विहिन भएको पर्यटन मन्त्रालय भट्टराईले सम्हालेपछि पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ ।

कुशल नेताको रुपमा छवि बनाएका भट्टराईले पर्यटन मन्त्रालय सम्हालेदेखि विभिन्न घोषणा गरेका छन् । उनले साउन १५ गते पदभार सम्हालेपछि घोषणा गरेका कामहरु यस प्रकार छन् ।

१. वाह नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्स, नागरिक उड्डयनको क्षेत्रमा भएकोे जोखिम र चुनौतीलाई समाधान गर्दै ‘वाह नेपाल एयरलायइन्स’ बनाउने घोषणा गरेका छन् ।

नेपाल एयरलाइन्सको साख जोगाउँदै माथि उठाउँने पर्यटन मन्त्री भट्टराईको उद्घोष थियो ।

२. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्ने

मन्त्री भट्टराईले यसै वर्ष निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने प्रतिवद्धता गरेका छन् ।

विमानस्थल निर्माणको चर्चा शुरु भएको २४ वर्ष पुगिसकेको भन्दै उनले २५ औं वर्षमा शिलान्यास हुने घोषणाा गरेका छन् ।

साउन १९ गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आफ्नो योजना पेश गर्दै पर्यटनमन्त्री भट्टराईले निजगढ विमानस्थल बन्ने बताएका थिए ।

३. नेपाल वायुसेवा निगम सुधारका लागि कार्यदल गठन

पर्यटनमन्त्रीले नेपाल वायुसेवा निगममा सुधारका लागि कार्यदल गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन् ।

कार्यदलका अन्य सदस्यहरुमा लेखा विज्ञका रुपमा सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन् ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन् । कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

४. लियाजो अधिकृतमाथि कारबाही प्रकृया

पर्यटन विभागका सेवा सुविधा बुझेर फिल्डमा नगएका लियाजो अधिकृतमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

मन्त्री भट्टराईले लियाजो अधिकृतहरुको सम्पूर्ण विवरण मन्त्रालयमा पेश गर्न पर्यटन विभागलाई निर्देशन दिएका छन् ।

५. पाइलट कोर्स पढाउने योजना

मन्त्री भट्टराईले नेपालभित्रै पाइलट कोर्स पढाउने योजना प्रस्तुत गरेका छन् ।

नेपाली युवा विदेशमा ५०/५५ लाख रुपैयाँ तिरेर पाइलट पढ्न जानुपर्ने बाध्यता रहेको भन्दै उनले सरकारी र निजी क्षेत्रको सहकार्यमा फ्लाइङ स्कूल स्थापनाको अवधारणा सार्वजनिक गरेका हुन् ।

देशभित्रै पर्यटनसँग सम्बन्धित विषय अध्ययनका लागि पर्यटन अध्ययन प्रतिष्ठान खोल्ने बताए ।

६. हवाई इन्धनको मूल्य घटाउन पहल

अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य अधिक भएको पाइएपछि मन्त्री भट्टराईले मूल्य घटाउन पहल गरेका छन् ।

पर्यटन मन्त्रालयको मन्त्रालयस्तरीय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रालयले मूल्य घटाउने प्रस्ताव राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा लैजाने निर्णयसमेत गरेको छ ।

वायुसेवा सञ्चालन गर्दा कूल लागतको कम्तिमा ३० प्रतिशत हवाई इन्धनका लागि खर्च हुन्छ ।

अर्कोतर्फ विश्वव्यापी रुपमा हवाई यातायातको क्षेत्रमा वायुसेवा कम्पनीबीच तिब्र प्रतिस्पर्धा रहेको भन्दै मन्त्री भट्टराईले हवाई इन्धनको मूल्य घटाउनुपर्ने प्रस्ताव गरेका छन् ।

७. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

मन्त्री भट्टराईले रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन् ।

विमानस्थल निर्माण र लुम्बिनीको विकास पहिलो प्राथमिकतामा रहेको बताएका थिए । आगामी डिसेम्बरभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएका थिए ।

८. मन्त्रालयका विभागीय प्रमुखसँग सामूहिक छलफल

नेपाल नागरिक उडड्यन प्राधिकरण, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमलगाएतका विभागीय प्रमुखसँग पर्यटन मन्त्री भट्टराईले सामूहिक छलफल गरेका छन् ।

९. भ्रमण वर्षको विषयमा छलफल

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउनका लागि विभिन्न निकायसँग छलफल थालेका छन् । शुक्रबार मात्रै नेपाल पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालय, पर्यटन संघ संस्थासँग भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने विषयमा छलफल गरेका हुन् ।

पर्यटन मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयका अधिकारीहरुसँग छलफल गर्दै मन्त्री भट्टराईले सबैको सुझाव र सल्लाहअनुसार काम गर्दै आईरहेको प्रवक्तता घनश्याम उपाध्यायले जानकारी दिए । ‘आफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै काम समन्व्यमा भइरहेको छ,’ उपाध्यायले भने ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV