पत्रकार पुडासैनीको आत्महत्या प्रकरण : ल्याव परीक्षणमा भेटिए रवि ?



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको मोबाइलको ल्याब परीक्षणमा रवि लामिछानेले दिएको टर्चरका विषयमा अध्ययन गरिरहेको छ ।

एक महिलासँगको सम्बन्धका विषयमा पुडासैनीको च्याटबाट विभिन्न आधार फेला परेको प्रहरी स्रोतले जनाएको छ । मोबाइलमा फेला परेको भिडियोमा लामिछानेले उनलाई टर्चर दिएको आरोप छ ।

नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको मोबाइलमा भेटिएको अडियो-भिडियो तथा च्याटका विभिन्न पक्षको अध्ययन लगभग सकिएको र अबको एक दुई दिन भित्र अन्तिम प्रतिवेदन जिल्ला प्रहरी कार्यालय चितवन पठाईने स्रोतले जनाएको छ ।

पुडासैनीको मोबाइलमा फेला परेको अडियोभिडियो र च्याटको विस्तृत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले मोबाइल काठमाडौंमा रहेको नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक दुई दिनमा काठमाडौंबाट रिपोर्ट आएपछि मात्र थप अनुसन्धान हुने जनाएको छ ।

डिजिटल ल्याबमा पुडासैनीले आरोप लगाएका रवि लामिछानेसँगको च्याट, अडियो र भिडियोको विषयमा सुक्ष्म अध्ययन भैरहेको छ ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले ल्याब रिपोर्ट आएपछि मात्र आफूहरुले थप अनुसन्धान गर्ने जानकारी दिए ।

टेक्निकल अध्ययन काठमाडौंमा भएपनि घटनाको अनुसन्धान भने जिल्ला प्रहरी कार्यालय चितवनले नै गर्नेछ ।

पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित सञ्चारकर्मी रवि लामिछानेमाथि आत्महत्याका लागि दुरुत्साहनमा अनुसन्धान हुने भएको छ ।

आरोपी लामिछाने अदालतबाट दोषी ठहर भएमा पाँच वर्ष जेल जानु पर्नेछ ।

मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा पत्रकार रवि लामिछाने र दीपक बोहराले धेरै नै टर्चर दिएको आरोप छ ।

ती महिलालाई विवाह गर्न बाध्य पार्ने वा बलात्कार गरेको आरोप लगाउने धम्की दिएपछि आफूले आत्महत्या गरेको पुडासैनीको भिडियो सन्देशमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

तर पत्रकार लामिछानेले आफ्नो कारणले उनले आत्महत्या नगरेको दावी गरेका छन् । बुधवार फेसबुक मार्फत उनले घटनाका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

पुडासैनीको मोबाइलमा रेकर्ड गरिएका दुई वटा ८ मिनेट र ३ मिनेटका रिपोर्ट फेला परेको थियो ।

पुडासैनीको बुधवार बेलुकी अन्तेष्टी गरिएको छ । भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर अन्तेष्टि गरिएको परिवारले जनाएको छ ।

पत्रकार पुडासैनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महिना अघिसम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV