प्रदेश १ मा १६ प्रजातिका विषालु सर्प



  • भैरब आङ्ला

धरान । सुनसरीको धरानमा राजगोमन किङकोब्रा भेटिएको छ । शनिबार उक्त किङकोब्रा भेटिएको हो । योसँगै पूर्वमा कोब्रा जातको सर्पको संख्या तीन पुगेको विज्ञहरुले बताएका छन् ।

नेपालमा पाईने ८० प्रजातिका सर्पमध्ये १८ प्रजातिका विषालु छन् । तिमध्ये पूर्वमा मात्रै १६ प्रजातिका विषालु सर्प भएको स्नात्तकोत्तर क्याम्पस विराटनगरका प्राणीशास्त्र विभागका सहप्राध्यापक तथा सर्प अनुसन्धानकर्ता कुलप्रसाद लिम्बुले बताए ।

अध्ययन अनुसन्धानको क्रममा विषालुमा गोमन प्रजातिमा थोप्ले, चस्मे पाईंदै आएकोमा धरानमा शनिबार राजगोमन किङकोब्रा पनि भेटिएकोले गोमन कोब्रा जातिको ३, करेत प्रजातिको ६, हरेउ जातको भाईपर प्रजातिका ५ र सागुरीगढी क्षेत्रमा रेडनेक किलब्याक स्नेक भेटिएको र अरु थप एक प्रजातिको विषालु सर्पसहित पूर्वमा विषालु सर्पको संख्या १६ पुगेको छ । यसैगरी यस क्षेत्रमा २५ देखि ३० प्रजातिका अन्य सर्पहरु पनि रहेको विज्ञहरुले बताएका छन् ।

धरान आसपासको क्षेत्रमा दुर्लभ मानिएको विषालु सर्पमध्येको ठूलो प्रजातिको सर्प राजगोमन किङकोब्रा भेटिएपछि सर्पको अध्यायन अनुसन्धान गरीरहेकाहरुले यसलाई महत्वपूर्ण रुपमा लिएका छन् । उनीहरुले बयस्क किङकोब्रा भेटिएकोले सो क्षेत्र सर्पदंशको लागि जोखिमयुक्त रहेको भन्दै सचेत गराएका छन् ।

सो क्षेत्रमा अरु पनि किङकोब्रा हुन सक्ने भएकोले पर्यापर्यटनका लागि किङकोब्राको संरक्षित क्षेत्रको रुपमा विकास गरी पर्यटकहरु आर्कषित गर्न सकिने पनि सर्प अनुसन्धानकर्ता लिम्बुको भनाइ छ ।

लिम्बुका अनुसार यो जातको सर्प विश्वबाट लोप हुने अवस्थामा पुगेको छ । यसले गर्दा विश्वका केही देशहरुले संरक्षण थालेका छन् । थाइल्यन्डमा किङकोब्रा भिलेजनै रहेको बताउँदै धरानको सो क्षेत्रलाई त्यस्तै बनाउन सकिने लिम्बुले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर विषालु सर्पको टोकाईबाट बार्षिक १ लाख ३६ हजारको मृत्यु हुने गरेको छ । भारतका मात्रै बर्सेनि ४० हजारको मृत्यु सर्पको टोकाइबाट हुने गरेको छ । त्यसैले विषालु सर्पको संरक्षण गरेर यसको टोकाईबाट हुने मृत्यु न्यूनिकरण गर्न सकिने विज्ञको भनाइ छ ।

विषालु सर्प मारिए सर्पको विषको औषधि एन्टि स्नेक भेनम नै नबन्ने भएकोले सर्पको संरक्षण गरेर पर्यवरणको पनि संरक्षण हुने विज्ञहरु बताउँछन् । केही दिन अघि काठमाडौंमा भएको सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले पनि सर्पको संरक्षणमा जोड दिएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV