नेपाली युवाका समस्या र समाधानका उपाय (भिडियोसहित)

सन्दर्भ: अन्तर्राष्ट्रिय युवा दिवस



काठमाडौं । हरेक वर्ष अगष्ट १२मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । सोमबार पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष शिक्षामा रुपान्तरण भन्ने नारासहित २०औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।

सरकारी निकायले मात्र होइन्, युवाको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाले पनि विभिन्न कार्यक्रम गरेका छन् । यस वर्ष युवा सशक्तीकरण, पहुँच तथा स्वरोजगार कार्यक्रम, युवा उद्यमशीलतालगायतका विषयमा बहस भएको छ । नेपालमा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा युवाको सहभागिता र उपस्थिति सुधार भएको छ त ?

आज हामीले अन्तर्राष्ट्रिय युवा दिवसका विषयमा युवा अधिकारकर्मी तथा नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष जगदीश ऐरसँग कुराकानी गरेका छौँ ।

नेपालमा युवाको अवस्था

नेपालमा सन् २००४ सम्म अन्तर्राष्ट्रिय युवा दिवस मनाउने चलन थिएन । युवाको महत्त्वको चेतनाका विषयमा नागरिक र नेतृत्व दुवै  जानकार थिएनन् ।

युवा दिवस मनाउनुको मुख्य पैरवी नै नेपालमा युवाको क्षेत्रमा काम गर्ने छुट्टै निकाय हुनुपर्छ भन्ने थियो । संयुक्त राष्ट्रसंघले युवाको क्षमता अभिवृद्धि र सर्वाङ्गीण विकासका लागि यो दिवस मनाउन सुरु गरिएको हो ।

युवाका मुद्दालाई सम्बोधन गर्नका लागि नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालयको गठन, राष्ट्रिय युवा नीति २०७२ तयार भयो । राष्ट्रिय युवा परिषद् गठन भयो । युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ ।अन्य मुलुकको भन्दा पनि नीतिगत तहमा युवाको क्षेत्रमा नेपालले धेरै फड्को मार्न सफल भएको छ । हाम्रो देशमा युवाका लागि यो ठूलो उपलब्धि हो ।

तर यसको व्यवहारिक कार्यान्वयनको पक्ष अझै पनि कमजोर छ । कार्यन्वयनको तहमा काम गर्न बाँकी छ । संघीय सरकारमा युवाको प्रतिनिधित्व छ । संघ र प्रदेशका संसदमा झण्डै ४० प्रतिशत युवाको सहभागिता छ । विभिन्न स्थानीय तहमा युवाहरुका कारण धेरै राम्रा काम भएका छन् ।

अहिले युवा शहरमुखी भएका छन् । बाँकी युवाको गन्तव्य विदेश नै भएको छ । स्वदेशमा अवसर छैन भन्ने मानसिकता छ । मुलुकको समृद्धिका लागि युवा नै देशमा सक्रिय हुनुपर्छ ।

युवामा बेरोजगारी, दक्षताको अभाव र गुणस्तरीय शिक्षाको अभावजस्ता विद्यमान समस्या रहे पनि युवाका क्षेत्रमा नेपालमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।

समस्या के छ ?

कमन वेल्थको तथ्याङ्कअनुसार सन् २०१० सम्म युवा विकास सूचकांकमा १४४औं स्थानमा रहेको नेपाल अहिले ७७औँ स्थानमा आइसकेको छ । युवाको समग्र विकासमा लागि लगानी छैन । राज्यको बजेट अझै एक प्रतिशतभन्दा कम छुट्टाएको छ । त्यो बजेट पनि आधा प्रशासनिक खर्चमा जान्छ ।

पाँच वर्षका लागि स्थायी सरकार देशले पाएको छ । तर पछिल्लो बजेटले नीतिगत रुपमा युवाको सवाल स्पष्ट पारे पनि कार्यान्वयनमा समस्या छ । युवामा लगानीभन्दा पनि पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । ऐन नियममा जोड दिइएको छैन । सरकारले सञ्चालन गरेका युवा लक्षित कार्यक्रममा एकरुपता हुन सकेको छैन ।

संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भन्ने गरेको छ । नेपालको सन्दर्भमा पछिल्लो समय युवाको उमेर कति निर्धारण गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । राष्ट्रिय युवा नीतिअनुसार १६ देखि ४० वर्ष उमेरसमूहका व्यक्तिलाई युवा समूह भनिएको छ ।

१६ देखि २४ वर्ष उमेर समूह क्षमता अभिवृद्धि गर्ने २५ देखि ४० वर्ष उमेर समूहलाई उद्यमशीलताका क्षेत्रमा काम गर्ने समूह विभाजन गरिएको छ । १६ देखि २९ वर्ष उमेर समूहका युवाहरुलाई युवा समूहमा राख्न पहल भइरहेको छ । यो उमेर समूहमा युवाले नेतृत्व पाए छिटो आफ्नो पहुँच वा क्षमता अभिवृद्धि गर्न पाउने छन् ।

नेपाललाई सन् २०२५ सम्म द्रुत विकासशील राष्ट्रमा पुर्‍याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमुलक बनाउनु पर्छ । युवाको पहुँच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित दश वर्षे रणनीतिक योजना’ सार्वजनिक गरिएको छ ।

यसैगरी युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार बोर्ड समेत गठन गरिएको छ । तर व्यवहारिक रुपमा कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा प्रश्न उठेको छ । त्यसैले सबै सरोकारवाला निकायको समन्वय र सहकार्य अनिवार्य छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV