आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्स देखिएपछि घरपालुवा चौपायालाई भ्याक्सिन



धरान । कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ ।

संक्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुन छिटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । जीवाणु अन्यत्र नजाओस् भनेर चुन छर्किएपछि आसपासको बस्तीलाई लक्षित गरी चौपायामा भ्याक्सिन लगाउन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई निर्देशन दिइएको उनले बताए ।

डा. मनोजकुमार महतोले घरपालुवा पशुलाई भ्याक्सिन लगाउने तयारी भएको बताए । आवश्यक भ्याक्सिन पूर्वमा नभएकाले काठमाडौंबाट मगाइएको छ । आउनासाथ टोली परिचान गरिने उनले जानकारी दिए ।

केही दिनअघि टप्पुको चरण क्षेत्रमा ४४ चौपाया एक्कासि मरेका थिए । पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरमा उक्त मरेका चौपायको नमूना रगत परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु भेटिएको डा. महतोले बताए ।

सोही रिर्पोटका आधारमा उक्त क्षेत्रमा सचेतना अपनाइएको छ । रोगका विषयमा स्थानीयस्तर र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेत र सावधानी अपनाउन भनिएको छ ।

यसरी सर्छ एन्थ्रेक्स

डा. महतोका अनुसार एन्थ्रेक्स आनुवंशिक रोग भएकाले पशुबाट पशु र मानिसमा समेत सर्न सक्छ । रोग लागेको मानिसको बेलैमा उपचार नभए रोगले ज्यानै लिनसक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

यो माटो, हावा र पानीबाट सहजै सर्ने रोग हो । एन्थ्रेक्सको जीवाणु माटोमा १० देखि २० वर्षसम्म बाँच्न सक्ने भएकाले समेत जङ्गली जनावरमा रोगको उच्च जोखिम रहेको हुन्छ ।

मानवमा भने मरेका जनावरको सिनो छुँदा, श्वास लिँदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र सङ्क्रमित क्षेत्रको सागपात तथा फलफूल राम्ररी नपखाली खाँदा एन्थ्रेक्सको जीवाणु सहजै मानव शरीरमा पुग्ने मेहताले बताए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV