तिम्ल्याहा सन्तान जन्माउने दम्पतीलाई याङजाकोट तमु समाजको सहयोग


SHARES

  • हुम तमु

पोखरा । कास्की जिल्ला मादी गाउँपालिका वडा नं. ३ याङजाकोट, दोबाटे निवासी ६३ वर्षिय चन्द्रमान गुरुङकी ३० वर्षिया फुलमाया गुरुङ (पुष्पा)ले तिम्ल्याहा सन्तान जन्माएकी छिन् ।

याङजाकोट गाँउमै पहिलो तिम्ल्याहा सन्तान जन्मिएको हो ।

याङजाकोटमा खेती किसानीसँगै दक्ष मिस्त्रीको रुपमा परिचित चन्द्रमान गुरुङको पहिलो श्रीमतीको २०७२ सालमा निधन भयो । त्यसपछि मादी गाउपालिका २ ताङतिङकी फुलमाया सँग २०७४ साल चैत्रमा दोस्रो बैबाहिक सम्वन्ध भयो र फुलमायाले गत साउन १४ गते तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । तिम्ल्याहा मध्ये १ छोरा र २ छोरी रहेका छन्।

साउन १४ गते बिहान १०ः३८ बजे पहिलो सन्तान छोरा (२ किलो २०० ग्राम तौल) को याङजाकोटकै स्वास्थ्य चौकीमा, दोश्रो सन्तान छोरी (१किलो ११ ग्राम तौल)की साँझ ६ः१३ बजे र तेश्रो सन्तान छोरी (१ किलो ५०० ग्राम तौल)की साँझ ६ः४१ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा स्वस्थ्य एवम् सामान्य रुपले जन्म दिएकी हुन्।

तमु संस्कार अनुसार ११ दिनमा न्वारान गरी पहिलो सन्तान छोराको नाम घनकुमार गुरुङ, दोश्रो सन्तान केशमाया गुरुङ र तेश्रो सन्तानको नाम केसुबा गुरुङ राखिएको छ ।

शिशुहरुको स्वास्थ्य राम्रै रहे पनि दोश्रो सन्तानको तौलको कमीका कारण ८ दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै आमा र शिशुलाई राखिएको चन्द्रमान गुरुङका दाई क्याप्टेन घनबहादुर गुरुङले जानकारी दिए ।

यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र फिस्टेल हस्पिटलमा पटक पटक स्वास्थ्य परिक्षण गर्दा गर्भमा दुइ सन्तान रहेको र भदौको दोश्रो हप्ता सुत्केरीका लागि अस्पतालले मिति दिएको थियो ।

साउन १३ गते बेलुका व्यथा शुरु भई १४ गते बिहान पहिलो सन्तान जन्मियो । त्यको लामो समयसम्म अर्को सन्तान जन्म नहुदाँ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीका लागि लगिएको क्या. गुरुङले बताए ।

अस्पतालमा दोश्रो सन्तान जन्मिएपछि पनि आमाको गर्भमा अझै एक वा दुइ शिशु रहेको चिकित्सकले जानकारी गराउँदा आफूहरु अचम्मित परेको उनले बताए ।

याङजाकोट गाउँ र त्यस क्षेत्रमै पहिलो तिम्ल्याहा सन्तानको जन्म भएकाले यतिबेला आमा र शिशुहरु हेर्न (भेट्न) आउने आफन्त र इष्टमित्रको घुुइँचो लागेको छ ।

यसैबीच तिम्ल्याहा शिशुहरु र सुत्केरी आमालाई पौष्टिक आहारको लागि सहयोग गरेको छ । याङजाकोट तमु समाज पोखराले सोमबार १५ हजार रुपैयाँ सहयोग गरेको हो।

पोखरा १२ शितलादेवीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सुवेदार चन्द्रबहादुर तमुले गुरुङ दम्पतीलाई सहयोग हस्तान्तरण गरे । कार्यक्रममा शितलादेवी टोल विकास संस्थाका अध्यक्ष समेत रहेका याङजाकोट तमु समाजका संरक्षक लोकबहादुर गुरुङले ५ हजार रुपैयाँ सहयोग प्रदान गरे । यस अघि स्याईस्याईकै रुपमा याङजाकोट डाँडा गाउँ निवासी लेमस्यो रिच्हमीको तर्फबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको याङजाकोट तमु समाजका सचिव क्या. घनबहादुर गुरुङले बताए ।

शिशुहरुको ठुलो बाबा समेत रेहका क्या. गुरुङले तिम्ल्याहा बच्चा जन्मदा सेवा सुविधा अन्तर्गत दुहुना भैसी, पौष्टिक आहार, निःशुल्क स्वास्थ्य सेवा र निःशुल्क शिक्षाको व्यवस्था राज्यले गर्ने व्यवस्था रहेको उल्लेख गर्दै मादी गाउँपालिका र प्रदेश सरकारसँग सहयोगको लागि पहल गर्ने बताए ।

सहयोग रकम हस्तान्तरणपछि बोल्दै समाजका अध्यक्ष सु. चन्द्रबहादुर गुरुङले याङजाकोटमा पहिलो पटक तिम्ल्याहा बच्चाको जन्म भएकोमा हर्षित भएको बताए ।

उनले बच्चाहरुको जन्मदर्ता एक जनाको मादी गाउपालिका र दुई जना पोखरामा हुँदा समस्या आउने हो कि भन्ने जिज्ञासा राखे।

कार्यक्रममा तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङले तीन जना बच्चाहरुको स्वास्थ्य र स्याहार सुसारमा विशेष ध्यान दिन आग्रह गर्दै आगामी दिनमा शिक्षाका लागि सहयोग हुने विश्वास व्यक्त गरे।

बच्चाको पौष्टिक आहार, आमालाई कुनै स्वास्थ्य समस्या भएमा तमु धिं नेपालको आकस्मिक राहतकोषबाट सक्दो सहयोग गर्ने उनले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV