विद्युत् प्राधिकरणको एक वर्षको नाफा सात अर्ब २० करोड



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा सात अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यो आर्थिक वर्ष २०७४/७५ नाफाभन्दा १४९ प्रतिशत अर्थात् दुई अर्ब ९० करोड रुपैयाँ बढी हो । प्राधिकरण लगातार तीन वर्षदेखि नाफामा गएको छ । प्राधिकरणले साँवा, ब्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ ।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ आएपछि लगातार नाफा गएको हो । घिसिङ आउनअघि प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो ।

प्राधिकरणले विद्युत् चुहावटमा पनि कमी ल्याएको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्युत् चुहावट १५.३२ प्रतिशत कायम भएको हो । यो अघिल्लो आर्थिक वर्षको भन्दा ५.१३ प्रतिशत कमी हो । चुहावटलाई बर्सेनि कमी गर्दै आएको प्राधिकरणले तीन वर्षको अवधिमा १०.४६ प्रतिशत कमी ल्याएको छ । आर्थिक वर्ष २०७२/७३ मा चुवाहट २५.७८ प्रतिशत रहेको थियो ।

प्राधिकरणले गत आर्थिक वर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । पत्रकार सम्मेलनमा उर्जा वर्षमान उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले लामो समयदेखि रुग्ण बनेको अप्पर त्रिशुली ३ ‘ए’ तथा काबेली करिडोरलगायतका उत्पादन तर्फ १, प्रशारणतर्फ ३ र वितरण तर्फ ३४ गरी ३८ वटा रुग्ण आयोजनाहरु सम्पन्न भएको जानकारी दिए ।

उनले काठमाण्डौ उपत्यकालाई ताररहित बनाउने अभियान अन्तर्गत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV