पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेले भने, ‘थप जानकारी केही समयमा’ « Nagarik Khabar

पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेले भने, ‘थप जानकारी केही समयमा’



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको भिडियो बाहिरिएपछि चर्चित सञ्चारकर्मी रवि लामिछानेले आरोप प्रमाणित भएमा हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन् ।

विभिन्न सञ्चार माध्यमले पुडासैनीको भिडियो सार्वजनिक गरेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो कुरा राख्ने तयारी गरेका छन् । रविले शालिकरामलाई ठूलो भ्रम परेको बताएका छन् ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको मोबाइलका डिलेट भएका सबै म्यासेज, अडियो, भिडियो र तस्बिरसमेत रिकभर गरिसकेको छ ।

पुडासैनीको मोबाइलबाट पठाइएका र प्राप्त भएका सबै टेक्स, अडियो-भिडियो र कलको विवरणका विषयमा नेपाल प्रहरीको केन्द्रीय डिजिटल ल्याबमा परीक्षण भैरहेको छ ।

नेपाल प्रहरीले आत्महत्या दुरुत्साहन हो वा होइन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको छ । ल्याब परीक्षणको प्रतिवेदनको अध्ययनपछि मात्र चर्चित सञ्चारकर्मी रवि लामिछानेले टर्चर दिएको वा नदिएको भन्ने विषय टुंगो लाग्नेछ ।

आत्महत्याको कारण लामिछानेको टर्चर भएको आरोप मोबाइलमा फेला परेको भिडियो रिपोर्टमा छ ।

पुडासैनीको मोबाइलमा फेला परेको अडियोभिडियो र च्याटको विस्तृत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले मोबाइल काठमाडौंमा रहेको नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको थियो ।

टेक्निकल अध्ययन काठमाडौंमा भएपनि घटनाको अनुसन्धान भने जिल्ला प्रहरी कार्यालय चितवनले नै गर्नेछ । पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित सञ्चारकर्मी लामिछानेमाथि आत्महत्याका लागि दुरुत्साहनको आरोप लागेको छ ।
मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा पत्रकार लामिछानेसहित ३ जनाले धेरै नै टर्चर दिएको आरोप छ ।

पुडासैनीको मोबाइलमा रेकर्ड गरिएका दुई वटा ८ मिनेट र ३ मिनेटका रिपोर्ट फेला परेको थियो ।

पत्रकार पुडासैनी साउन २० गते सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

दुई महिना अघिसम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: सम्पादन नगरिएको भिडियोमा के छ ? (भिडियोसहित)

रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान हुन्छ: प्रहरी 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: