चितवनका प्रहरी प्रमुख भन्छन्, 'रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्छौं'


SHARES


चितवन । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले काठमाडौंमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गरिने बताएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका लामिछाने र युवराज कंडेल बिहीबार काठमाडौंबाट पक्राउ परेका हुन् । यसअघि यही प्रकरणमा अस्मिता कार्की पक्राउ परेकी थिइन् ।


पक्राउ परेका लामिछाने र कंडेललाई बिहीबार नै काठमाडौंबाट चितवन ल्याइदै गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार राती नै चितवन ल्याइने छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ पुर्जी दिएर उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख मल्लले भने, 'हामीलाई प्राप्त ल्याब रिपोर्ट, पोष्टमार्टम रिपोर्ट र अन्य प्रमाणका आधारमा उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान हुन्छ । त्यसैका आधारमा मुद्दा अभियोजन हुन्छ ।'

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आत्महत्या गर्नुपरेको बताएका थिए ।

अभियोग प्रमाणित भएमा रवि लामिछानेसहित तीनै जनालाई ५ वर्षसम्मको जेल सजाय हुनेछ।

नेपालमा आत्महत्या दुरुत्साहनको प्रावधानलाई गत वर्षको भदौ १ देखि लागू भएको नयाँ अपराध संहिताले समेटेको छ।

प्रहरीले विद्यमान कानुनअनुसार लामिछानेलाई २५ दिनसम्मको  हिरासतमा राखी सरकारी वकिलमार्फत् मुद्दा अभियोजन गर्नुपर्ने हुन्छ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV