पत्रकार पुडासैनीको आत्महत्या प्रकरण र रवि लामिछाने पक्राउसम्म



  • नारायण पौडेल

पत्रकारिताको विद्यार्थी, अध्यापक, छापा, टेलिभिजन र अनलाइन पत्रकारितामार्फत सँगालेको अनुभव, डिप्रेसनबारे हासिल गरेको व्यवहारिक ज्ञानमा आधारित केही विषय लेख्दैछु ।

यो लेखन न त रविलाई निर्दोष बनाउन केन्द्रित छ न त फसाउन नै । बरु, अनुभवका आधारमा घटनाको प्रकृतिलाई केलाउने र अनुसन्धानको दायरा फराकिलो पार्ने कोसिसको रुपमा यसलाई लिइदिनुहोला ।

दुई वर्ष यता कुनै मिडियामा आवद्ध नरहेको हुँदा पुडासैनी प्रकरणमा देखिएको मोर्चाबन्दीमा जोडेर बुझ्ने प्रयास पनि नगरिदिनुहोला । आगे, हजुरकै मर्जी ।

१. भिडियो अन्तिम सत्य होइनः मृतक पत्रकार शालिकराम पुडासैनीको श्रब्यदृश्य बकपत्रका रुपमा सार्वजनिक भएको भिडियो अनुसन्धानका लागि बलियो आधार हो ।

तर यो भिडियोकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन । भिडियोकै विषयलाई लिएर कतिपय प्रश्न उठाइएको छ । त्यसबारे अर्को बुँदामा चर्चा गर्नेछु ।

तर, यो बुँदामा भिडियो शालिकरामले आत्महत्यापूर्व स्वविवेकले बोलेका हुन् भन्ने आधारका विषयको चिरफार गरेको छु ।

क. डिप्रेशनबारे अनुभवः म काठमाडौं बस्थेँ । गाउँघरको मान्छे । काठमाडौं र गाउँ तथा आफन्तबीचको पुल बन्ने सीमितमध्ये म एक थिएँ ।

पत्रकारितामा संलग्न भएकाले पहुँच स्थापित गर्न सजिलो थियो । घरपरिवार, आफन्त, चिनजानका सयौँ बिरामीलाई अस्पताल लैजाने र डाक्टरसँग समन्वय गर्ने अवसर वर्षौँको काठमाडौँ बसाइमा मिलिरह्यो ।

काठमाडौँ उपचारका लागि आउने अधिकांशलाई धेरै थरी उपचार गराइसकेपछि पत्ता लाग्थ्यो, डिप्रेशन । उदाहरणका लागि खुट्टा झम्झमाउने पोल्ने समस्याबारे चर्चा गरौँ । सारा चेकजाँच गरायो, औषधिमूलो गर्‍यो निको हुँदैन ।

अन्तिममा थाहा हुन्थ्यो डिप्रेशनले त्यस्तो भएको रहेछ । निन्द्रा पनि ठीक छ, चिन्तासुर्ता पनि खासै छैन । तर पनि डिप्रेशन हुँदो रहेछ । बाहिर थाहा नभए पनि सुषुप्तरुपमा मनरोगी भइसकेका कारणले खुट्टा झम्झमाउँदो रहेछ ।

मुटु धड्कियो भनेर आएका एक आफन्तलाई कहाँ लगिएन । भगवान कोइरालादेखि मनबहादुरसम्म धाइयो । मुटुमा समस्या देखिएन ।

विश्वबन्धुकोमा लगे पछि थाहा भयो– डिप्रेशन । यी र यस्तै अनेक बिरामी बोकेर डाक्टर धाउँदा धाउँदै डिप्रेशनसम्बन्धी थुप्रै जानकारी भइसकेछ । हुँदाहुँदा कार्यक्रममा आएका अतिथिलाई समेत म आफैँले तपाईलाई डिप्रेशन छ भनी सल्लाह दिएर डाक्टरकोमा लिएर गएको छु ।

डाक्टर निराकारमान श्रेष्ठले भनेका थिए– तपाईले बिरामीको औषधिको डोजमात्र मिलाउन बाँकी छ ।

ख. डिप्रेशनमा परेका बिरामीलाई सामान्य अवस्थाका व्यक्तिभन्दा बढी डर र शंका हुन्छ । त्यस्तो डर र शंका परका मान्छेभन्दा परिवारभित्रकै, आफन्त, छिमेकी वा संगतमा रहेको तथा आफ्नो कमजोरीबारे थाहा छ भन्ने लागेको व्यक्तिसँग हुन्छ ।

श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई, छोराले बाउलाई, बाउले छोरालाई, वल्लो घरकाले पल्लो घरकालाई आफूमाथि कुनै षड्यन्त्र गरिरहेको वा आफ्नो अहित हुने गरी कुनै कर्म गरेको भन्ने भान डिप्रेशनका एकथरी बिरामीलाई पर्दछ ।

डिप्रेशनका प्रकृति अनेकौं हुन्छन् । जसले सबैभन्दा हित चिताउँछ उसैले आफूविरुद्ध षड्यन्त्र गरिरहेको भन्ने चिन्ताले बिरामी ग्रसित भएको पनि मैले देखेको छु ।

डिप्रेशनमा लागेको मान्छेले सम्बन्धित व्यक्तिले आफूलाई षड्यन्त्र गरेको छ कि छैन भनेर बुझ्न खोज्दैन, बरु षड्यन्त्र गरिसकेको निष्कर्षसहित कसरी उम्कने वा प्रतिकार गर्ने भन्ने तयारी गर्दछ ।

ग. शालिकराम स्वयंले आफूलाई डिप्रेशन भएको स्वीकार गरेका छन् । सामान्य अवस्थामा डिप्रेशनमा पुगेको व्यक्तिले आफूलाई रोग लागेको मान्न तयार हुँदैनन् ।

डाक्टरहरुका अनुसार जसले आफूलाई डिप्रेशन भएको भनी व्यक्त गर्न तयार हुन्छ, उसलाई निको हुने सम्भावना अधिक रहन्छ । कारण, उसले महसुस गर्न सक्छ कि उसमा आइरहेका भावना रोगका कारण हुन् ।

शालिकरामको च्याट भनी सार्वजनिक भएका गोप्य वार्तालापमा उनले आफुलाई डिप्रेशन भएको भनी डाक्टरले औषधि दिएको लेखेका छन् ।

डिप्रेशन भएका व्यक्तिलाई मनको वह पोख्ने भरपर्दो व्यक्तिको खाँचो पर्दछ । सितिमिती कसैलाई विश्वास गर्न सक्दैनन्, जसलाई विश्वास गर्छन् उसको साथ हरदम खोजिरहन्छन् ।

मनको वह राम्रोसँग पखाल्न पायो भने पनि डिप्रेशन आधाउदी आफैँ सकिन्छ । तर, त्यस्ता गन्थनमन्थन सुन्ने धैयर्ता र सामार्थ्य धेरैमा हुँदैन । उनीहरुका कुरा सुन्दिनुको साटो उल्टो हप्कीदप्की गर्ने र केही भएको छैन, त्यत्तिकै यस्तो गर्ने भनेर बोली बन्द गराइदिन्छौँ ।

चुरो कुरो निकाल्न नदिइ मुख टालिदिन्छौँ जसका कारण बिरामी गुम्सिरहन्छ । शालिकरामले सायद आफ्नो मनको वह पोख्न पाएको भए यो हदसम्म जाने थिएनन् ।

घ. शालिकरामले भिडियोमा रविलाई आफ्नो आत्महत्याको कारक मानेका छन् । 'जनतासँग सिधा कुरा'मा धेरै पटक यौन काण्डका विषय छापामार शैलीमा छायाँकन भएको सर्वविदितै छ ।

शालिकराम स्वयं सो कार्यक्रमको सदस्य भइसकेको र उनी स्वयंले आफ्नो विवाहेत्तरको सम्बन्ध बाहिरिएको भिडियोमा सार्वजनिक गरेका छन् । रवि स्वयंले शालिकरामलाई धम्की दिए वा दिएनन् ? सोधखोज र छानबिनको विषय हो ।

यति प्रस्ट भन्न सकिन्छ: शालिकरामलाई आफ्नो विवाहेत्तरको सम्बन्ध जनतासँग सिधा कुरामा आउनेछ र आफ्नो जीवन मरेतुल्य हुनेछ भन्ने भयंकर भय पैदा भएको थियो । यो भय नै उनको मृत्युको कारण देखिन्छ ।

यो भय कसरी पैदा भयो ? यो महत्त्वपूर्ण सवाल हो । यदि शालिकरामलाई डिप्रेशनकै कारण रविप्रति एकतर्फी शंका र भय पैदा भएको भए कानुनतः रविलाई दोषी करार गर्न मिल्दैन ।

तर, रवि स्वंयले वा कोहीमार्फत उनलाई तर्साएको भए उनी दोषी ठहरिनेछन् । रविलाई देखाएर शालिकरामलाई कसैले तर्सायो कि ? कपडाको मूल्य बढी लागे रवि देखाएर साहुजी तर्साउने माहोल जो छ ।

प्रहरीले शालिकरामको भिडियोलाई अन्तिम सत्यका रुपमा लिने र सोही आधारमा अदालतले रविलाई दोषी करार गरेमा गलत नजिर स्थापित हुनेछ ।

आत्महत्या गर्नेले आफू मरेपछि मामाको टाउको होस् कि फर्सीको गेडो भनेजस्तो जो कोहीसँग रिस साँध्ने प्रवृत्ति विकास हुन सक्छ ।

भिडियोमा गरिएको आरोप पुष्टि हुने केही आधार फेला परेमा रवि दोषी ठहरिन सक्छन् । अनुसन्धानका क्रममा प्रहरीले रविको कल डिटेल, गोप्य संवादमाथि पहुँच स्थापित गर्न सक्छ ।

छानबिनमा तानिएका व्यक्तिहरुबीचको म्यासेज, फोन, संवादले पनि शालिकरामलाई आत्महत्याका लागि दुरुत्साहन गरे नगरेको बुझ्न सकिन्छ । तसर्थ सार्वजनिक भएको भिडियो छानबिनका लागि पहिलो आधार हो तर अन्तिम सत्य होइन ।

२. भिडियोको सत्यताबारे:  भिडियो कसरी तयार भयो ? शालिकराम स्वयंले खिचे या कसैले बाध्य पारी बक्न लगायो ? यो गम्भीर प्रश्न हो ।

तर, भिडियोग्राफीमा केही अनुभव भएका हिसाबले कतिपय प्रसंगलाई केलाउन सकिन्छ तर पुष्टि केवल अनुसन्धानबाट हुने कुरा प्रष्ट पार्दछु ।

क. करकापमा अरुको आदेशमा शालिकरामले बकेको ठहरिएमा यो विषय अहिलेभन्दा बढी पेचिलो हुनेछ । हरेक कुरामा शंका गर्नु छानबिनकर्ताको दायित्व हो । भिडियो स्वयंको छानबिन गर्नु अनुसन्धानभित्रकै पाटो हो ।

ख. किन को प्रसंग:  सार्वजनिक भएको भिडियोको आठ मिनेटको आसपासमा पृथकजस्तो लाग्ने स्वरमा अप्रासंगिकरुपमा किन भन्ने आवाज सुनिन्छ । यो आवाज शालिकरामको होइन तसर्थ भिडियो खिच्ने बेलामा त्यहाँ अरु कोही थियो भन्ने तर्क बलियो छ ।

यो तर्कको उचित जवाफ शालिकरामको मोबाइलमा रेकर्ड भएको ओरिजिनल भिडियोले दिन सक्छ ।

यदि सो भिडियोमा पनि सोही प्रकृतिको आवाज रहेछ भने अनुसन्धानमा किन आवाज पनि महत्त्वपूर्ण कडी बन्न सक्छ । तर, सार्वजनिक भिडियोको किन दृश्य सम्पादनका क्रममा अन्जानवश पनि जोडिएको हुन सक्छ । भिडियो सम्पादन भएको पनि हुन सक्छ । जे भए पनि सार्वजनिक भएको भिडियो सम्पादित हो भन्नेमा दुईमत छैन ।

भिडियो ल्याइसकेपछि सिधै युट्युबमा अपलोड कमै मात्र गरिन्छ । भिडियो क्वालिटी मिलाउन वा अन्य कारणले पनि भिडियो काँटछाँट गरिन्छ, मिलाइन्छ । भिडियो सम्पादन गर्ने टेम्प्लेटमा पहिले सम्पादन गरिएको भिडियोको आवाजको टुक्रा (क्लिप) बाँकी रहेमा त्यो टुक्रा नयाँ भिडियोमा जोडिएर जान्छ ।

टेलिभिजन र अन्य श्रब्यदृश्य माध्यममा काम गरेकाहरुका लागि यस्तो मिश्रण सामान्य हुन् ।

अनुभवका आधारमा भन्दा किन सम्पादन गर्दा मिश्रण भएको आवाज जस्तो लाग्छ । तर, अनुसन्धान गर्नेले किनलाई यति सजिलै नजरअन्दाज गर्न हुँदैन ।

ग. शालिकरामको आँखा यताउता दौडनु: भिडियोमा बोल्दै गर्दा शालिकरामले यताउता पल्याकपुल्लुक हेरेको जस्तो देखिन्छ । यसरी हेर्दा उनी मोबाइलमा बोल्दै कसैलाई हेर्दै गरेका हुन् कि जस्तो देखिन्छ ।

भिडियो खिच्दा आँखा क्यामराभन्दा बाहिर गएमा अरु कसैलाई हेरेजस्तो देखिन्छ । तपाई स्वयंले भिडियो खिच्नु भयो र क्यामराभन्दा बाहिर हेर्नु भयो भने अर्को व्यक्तिलाई हेरेजस्तो देखिन्छ । यसलाई प्राविधिक हिशाबले ‘आइ आउट अफ क्यामरा’ भनिन्छ ।

मृत्युबारे बक्दै गर्दा शालिकरामको पीडा कति थियो होला ? बोल्दै गर्दा कसैले सुन्छ कि भनेर उनले यताउता हेरेका थिए कि ? भित्ताको पनि कान हुन्छ भन्ने सतर्कता उनले अपनाएका पनि हुन सक्छन् । आँखा स्वतस्फूर्त क्यामराभन्दा बाहिर गएको थियो कि ? वा त्यहाँ अरु कोही थिए ? अनुसन्धानको विषय हो तर ठोकुवा गर्न सकिने सवाल होइन ।

घ. भिडियोको एक ठाउँमा शालिकरामको छेवैमा आकाशी रंगको टिसर्ट लगाएको पाखुराजस्तो देखिन्छ । शालिकरामले भिडियो खिच्दा त्यहाँ अर्को कोही थियो कि भन्ने शंका पाखुराजस्तो लाग्ने सो दृश्यले पनि पैदा गर्दछ ।

त्यो कुनै कपडा, भित्ता वा अरु केहीको आकार हो या वास्तविक पाखुरा हो भन्ने कुरा अनुसन्धानको विषय हो ।

ङ. भेष्ट र सर्ट पाइन्टको बेमेल: आत्महत्या सामान्यतया दुई किसिमले हुने बताइन्छ । एउटा आकास्मिक अर्को योजनावद्ध ।

आफूविरुद्धको असामान्य सन्देश सुनेमा मान्छेले आत्महत्या गर्न सक्छ । उदाहरणका लागि ब्लड डोनेशन गर्न गएको व्यक्तिलाई सुनाइयो कि उसलाई एचआइभी पोजेटिभ छ । उसले एकाएक सारा संसार अध्यारो देख्छ र एक्कासी निर्णय लिन सक्छ–परमधामको ।

अर्कोथरी आत्महत्या हुन्छ–योजनावद्ध । भिडियोमा व्यक्त भएका कुरा र सार्वजनिक भएका शालिकरामका गोप्य संवादलाई आधार मान्दा उनले योजनावद्धरुपमा देहत्याग गरेका हुन् । योजनावद्ध हिसाबले आत्महत्या गर्ने व्यक्तिले धेरै कुराको ख्याल गरेको हुन्छ । र, सामान्यतया राम्रै पहिरन लगाएको हुन्छ ।

भिडियो खिच्दा भेष्ट हुनु र आत्महत्या गर्दा सर्ट प्यान्ट हुनुले खास अर्थ राख्दैन । मर्ने कुरा शालिकरामले पहिलेदेखि नै गरेको च्याटबाट देखिन्छ । डिप्रेशनका बिरामीले एकै पटकको प्रयासमा आत्महत्या नगर्ने चिकित्सकहरु बताउँछन् ।

पटकपटक प्रयास गरेर उनीहरु अन्तिम कर्ममा पुगेका हुन्छन् । भिडियो खिचेको समय र आत्महत्या गरेको समयको तालमेल नमिल्न पनि सक्छ ।

च. दुई हातले नमस्कार गर्दा मोबाइल नखस्नुः भिडियोको अन्तिममा शालिकराम दुई हात जोड्दै बिदा हुन्छन् । सेल्फी भिडियो भए त मोबाइल खस्नु पर्ने ? यो पनि खोजी गरिएको प्रश्न हो ।

सामान्य हिसाबले हेर्दा शालिकरामले भित्तामा आडेस लगाएर भिडियो खिचेका छन् । उनको टाउको उठेको छ । सम्भवतः उनले खुट्टा खुम्चाएर घुँडाको आड लगाएर मोबाइल राखेका थिए । त्यसो गर्दा मोबाइल दुई हातले नमस्कार गर्दा पनि नखसेको हुन सक्छ ।

३. प्रहरी हिरासत र पत्रकारिताको अर्को पाटो: लोकले मानेको छ रवि पृथक पत्रकार हुन् । बोलेरै विश्व रेकर्ड राखेका उनको प्रतिभा असाधारण छ ।

खान्दानीरुपमै उनको आवाज ओजनदार हो । रेडियो नेपालमा सुनिने दाजु हरिशरण लामिछानेको आवाज उस्तै दमदार तर शालिन छ । सिधासिधा विषयवस्तु राख्न सक्ने विशेष क्षमता रविमा छ ।

निडर र निभर्य लाग्ने उनी आवाजविहीनहरुको आवाजका रुपमा उदायको कुरामा पनि शंका छैन । यति हुँदाहुँदै पनि रवि न त पत्रकारका विद्यार्थी थिए न त पत्रकारिता गरेको अनुभव नै उनमा थियो ।

त्यसैले उनमा केही यस्ता पक्ष छन् जुन पत्रकारिताको आम मान्यताका आधारमा अस्विकृत थिए । उनी विषयवस्तु प्रस्तुत गर्छन् र निष्कर्ष सुनाउँछन् । उनी यसरी बोल्छन् कि सुन्नेलाई हो झैँ बनाइदिन्छन् ।

झन् मिडियामार्फत बोलिएको कुराको प्रभाव बेग्लै हुन्छ । मृत्युपूर्व दिइएको भिडियो सन्देशलाई उदृत गर्दै रविले ठोकुवा गरेका थिए– अष्टमीको हत्या भएको हो र हत्यारा सुपरभाइजर हो । उनले अनैतिक कार्य गर्न छात्रालाई होटेलसम्म पुर्‍याएको भनिएका शिक्षकमाथि झण्डै झण्डै हातपात गरेका थिए ।

आमाचकारी गाली त प्रष्टै सुनिन्थ्यो । उनले स्विकार गरेका पनि थिए त्यस्तो कुकर्म देख्दा आफूलाई थाम्नै सकेनन् । पत्रकारले थाम्नै पर्छ भन्ने मान्यताको उनले हेक्का गरेनन् ।

४. रविप्रतिको सुभेच्छा:  पत्रकारिता, अनुसन्धानकर्ता वा न्यायलयले एउटा मात्र कुरालाई आधार मानेर निष्कर्षमा पुग्न मिल्दैन । आरोप जसले जसलाई पनि लगाउन सक्छ । आरोप सही पनि हुन सक्छ ।

तर, त्यसको स्वतन्त्र छानबिनबिना प्रमाणित मान्न सकिन्न । अदालतले फैसला गरेका कुरा दशकौँपछि गलत ठहरिएको उदाहरण कैयौँ छन् । तसर्थ भाषा छनोटमा सञ्चारकर्मी संयमित हुनु पर्दछ । भाषा छनौटमा हुने लापरवाहीले बेलाबेला पत्रकारिताको नाकको डाँडी भाँचिने गरेको छ ।

रविले आवाजविहीनहरुको आवाज हुने गरी आवाज बुलन्द पारेकै हुन् । न्याय नपाए जनतासँग सिधा कुरामा जानु भन्ने विश्वास पनि आर्जन गरेकै हुन् । यति हुँदाहुँदै पनि उनी पत्रकारिताको धर्मबाट कतिपय अवस्थामा चुकेका हुन् ।

उनीमाथि आफैँ फैसला सुनाउने गरेको, आरोपितविरुद्ध प्रमाण पेस गर्ने तर आरोपितलाई आफ्नो कुरा मिडियामा भन्नसमेत नदिइ प्रहरीको जिम्मा लगाउने गरेको आरोप लाग्दै आएको थियो ।

आरोप प्रमाणित नभएसम्म दोषी करार गर्न नपाइने आम मान्यताको पनि उनले बेवास्ता नगरेका होइनन् । उनले सयौँलाई न्याय दिए, सत्य हो । न्याय दिलाउँदै गर्दा विधिको उल्लंघन गरिएको तथा आफुहरुलाई अन्यायमा पारिएको आवाज पनि नउठेको होइन ।

नियतिले रविलाई उस्तै कठघरामा उभ्याइदिएको छ । भिडियोलाई मात्र हेर्ने हो र रविले अष्टमी गुरुङको आत्महत्याका सन्दर्भमा प्रयोग गरेको भाषामा भन्ने होे भने शालिकरामलाई मर्न बाध्य बनाइएकाले यो आत्महत्या नभई हत्या हो । र, हत्यारा रवि हुन् । शालिकरामले रविको साटो अरु कसैको नाम लिइदिएको भए सो व्यक्ति जनतासँग सिधा कुरामार्फत हत्यारा घोषित भइसक्ने सम्भावना थियो ।

नियतिले रविलाई उस्तै कठघरामा उभ्याइदिएको छ । भिडियोलाई मात्र हेर्ने हो र रविले अष्टमी गुरुङको आत्महत्याका सन्दर्भमा प्रयोग गरेको भाषामा भन्ने होे भने शालिकरामलाई मर्न बाध्य बनाइएकाले यो आत्महत्या नभई हत्या हो । र, हत्यारा रवि हुन् । शालिकरामले रविको साटो अरु कसैको नाम लिइदिएको भए सो व्यक्ति 'सिधा कुरा जनतासँग' मार्फत हत्यारा घोषित भइसक्ने सम्भावना थियो ।

यो घटनापछि पत्रकारिताका गर्ने जो कोहीले बुझ्ने मौका पाए, आरोप जोमाथि जस्तो पनि लाग्न सक्छ । तर, यसका अनेक पाटा हुन सक्छन् । पत्रकारले आरोप लागेकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन । रविलाई पनि दोषी करार गर्न मिल्दैन ।

आरोप लगाउनुको कारण (भिडियो कसरी खिचियो), आरोपको सत्यता (शालिकराम स्वयंले रविलाई दोषी देखेका रहेछन् भने पनि) र रविको संलग्नताबारे छानबिन नगरी रवि दोषी हुने छैनन् । अकारण रविलाई दोषी बनाउन सकिने छैन ।

रवि स्वयं शालिकरामलाई धम्काउन लागिपरे होलान् भन्ने विश्वास लाग्दैन । बरु यो पक्राउ प्रकरण रवि र सञ्चारकर्ममा लागेकाहरुका लागि पत्रकारितासम्बन्धी थप ज्ञान हासिल गर्ने माध्यम बन्न सक्छ ।

अनुसन्धानबाट निर्दोष ठहर भई रवि थप बलियो र परिपक्व भएर फर्किने आशा छ । रविलाई फसाउने नाममा अनेक षड्यन्त्र रच्ने वा रविलाई बचाउने नाममा अनेक तरंग ल्याउने काम नगरौँ ।

नेता पक्राउ परे न्यायलय घेर्ने, पुलिसको कठालो समातेर आगो झोस्ने कार्यकर्ताले समेत भनिरहेका छन्– न्यायलयलाई स्वतन्त्र रहन दिउँ, पुलिसलाई भीडले निर्देशित नगरौँ । सबैको चेत खुलोस्– न्याय नमरोस् अरु जे होस् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV