पत्रकार पुडासैनीको आत्महत्या प्रकरण: रवि लामिछाने विरुद्ध अभियोगमा केन्द्रित अनुसन्धान सुरु « Nagarik Khabar

पत्रकार पुडासैनीको आत्महत्या प्रकरण: रवि लामिछाने विरुद्ध अभियोगमा केन्द्रित अनुसन्धान सुरु



चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका चर्चित सञ्चारकर्मी रवि लामिछाने विरुद्ध आजदेखि अभियोगमा केन्द्रित अनुसन्धान सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको संयुक्त टोलीले अभियोगमा आधारित अनुसन्धान सुरु गरेको हो । घटनाको अनुसन्धानका लागि सिआइबीमा कार्यरत एसपी दीपक रेग्मीसहितको टोली चितवनमै छ ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले अभियोगमा केन्द्रित अनुसन्धान सुरु भएको जानकारी दिए । उनले अनुसन्धानकै क्रममा रहेकाले विस्तृत विवरण उपलब्ध गराउन नसकिने बताए ।

पत्रकार पुडासैनीको परिवारको तर्फबाट श्रीमती सम्झना पुडासैनीले लामिछानेसहित पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीका कारण आफ्ना श्रीमानले आत्महत्या गरेकाले मुलुकी अपराध संहिताअनुसार कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् ।

प्रहरीले अहिले आत्महत्याका लागि दुरुत्साहन गरेको हो वा होइन भन्ने विषयमा अनुसन्धान थालेको छ । जिल्ला अदालत चितवनले हिजो तीन जनालाई पाँच दिन थप हिरासतमा राख्न अनुमति दिएको थियो ।

अनुसन्धान नसकिएमा प्रहरीले लामिछानेसहित आरोपी तीन जनालाई फेरि अदालतमा उपस्थित गराएर म्याद थप्न सक्नेछ । बढीमा २४ दिनसम्म हिरासतमा राख्न पाइने कानुनी व्यवस्था छ ।

तर अदालतले अनुसन्धान भैरहेको भन्ने तथ्यलाई हेरेर म्याद थप्ने नथप्ने निर्णय गर्नेछ ।

पत्रकार पुडासैनीले आत्महत्यापूर्व लामिछानेसहित तीनजनाका कारणले आफूले आत्महत्या गरेको बताएको रेकर्ड गरिएको भिडियो मोबाइलमा फेला परेको थियो । त्यसैका आधारमा प्रहरीले लामिछानेसहित तीन जनालाई पक्रेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: