दुःखी छन् बालबालिका !


SHARES

काठमाडौं । गत असारमा ललितपुर बाग्मती गाउँपालिकाका ११ वर्षीय समीर लुङ्बाले आफ्नो ज्यान आफैँले फाले ।

कक्षा पाँच पढ्दै गरेका उनको सुसाइड नोटमा घर र विद्यालयमा आफूमाथि हुने दुव्र्यवहार सहन नसकेको लेखिएको थियो । सुसाइड नोटबाट उनका विद्यालयका शिक्षक तथा घरका अभिभावक सबै छक्क परे किनभने कसैले पनि समीर यत्ति दुःखी थिए भन्ने भेउ पाएका थिएनन् ।

त्यस्तै केही दिनअघि गोरखा जिल्ला सहिद लखन गाउँपालिकाकी प्रशान्ता श्रेष्ठ कक्षा ५ पढ्दै थिइन् । केही दिनअघि आमा धारामा पानी भर्न गएको बेला उनले आफैँलाई पासो लगाइन् । बहिनीले देखेर डोरी काटुन्जेलमा प्रशान्ताको प्राण गइसकेको थियो ।

यसरी के सही र के गलत भनी खुट्याउन सक्ने उमेर पनि नहुँदै यसरी बालबालिकाले आत्महत्या गरिरहेका छन् । धेरैजसो बालबालिकाको आत्महत्या सानोतिनो घरायसी तनावमा हतास भई हुने गरेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए ।

परिषद्ले सञ्चार माध्यममा आएका बालबालिकासम्बन्धी घटनाको स्थिति विश्लेषण गर्दा यस्तो देखिएको उनले बताएयो । घरको वातावरण नै बालमैत्री छैन भन्ने कुरा यसबाट पुष्टि हुने उनको भनाइ छ ।

गत आर्थिक वर्षमा भएका २७ वटा बाल आत्महत्याको घटना विश्लेषण गर्दा १६ वटा घटना घरायसी झगडा र समस्याका कारण हुने गरेको चन्दले बताए । ‘लुगा, कापीकलमजस्ता कुराको माग घरमा गर्छन्, त्यो पूरा गर्न सक्ने क्षमता नभएपछि सम्झाउनेभन्दा झपार्ने तथा थप्पड हान्नेजस्ता प्रवृत्ति आम नेपाली अभिभावकमा छ,’ उनी भन्छन्, ‘यस्तै कुरामा चित्त दुःखाइ निराश भएर बालबालिकाले गलत निर्णय लिन्छन् ।’

हप्काउने, थप्पड हान्ने, गिज्याउनेलगायत क्रियाकलापबाट बालबालिकामा पर्न सक्ने मानसिक चोटलाई घरकै ठूला मान्छेले ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै सानो उमेरमा हुने प्रेम सम्बन्धका कारण पनि आत्महत्या हुने गरेको पाइएको छ । परिषद्का अनुसार गत वर्षको समाचार विश्लेषण गर्दा ६ जना बालबालिका आत्महत्याको कारण प्रेम सम्बन्ध रहेको पाइएको छ ।

यस्तो घटना रोक्न किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तनका विषयमा परामर्श दिने प्रचलनको विस्तार गर्नुपर्ने चन्दको सुझाव छ ।

बालबालिका आत्महत्यामा बालकभन्दा बालिका बढी पाइएको सरोकारवाला बताउँछन् । बाल अधिकार परिषद्को गत वर्षको समाचारमा आएका घटना विश्लेषणले पनि त्यही देखाउँछ ।

२७ घटनामध्ये छ बालक र २१ बालिकाले आत्महत्या गरेको तथ्याङ्कमा छ । समाजमा व्याप्त छोराछोरीबीचको विभेदका कारण छोरीहरू आत्महत्या गर्न प्रेरित भएको हुन सक्ने चन्द बताउँछन् ।

आजको गोरखापत्र दैनिकमा शान्ति लामाको बाइलाइनमा समाचार प्रकाशित छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV