भ्रष्टाचारमा शून्य सहनशीलताको बाटोमा सेना



काठमाडौं । नेपाली सेनालाई भ्रष्टाचारमुक्त र संगठनलाई अझै विश्वसनीय बनाउन भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक इतिहासमै पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
 
प्रधानसेनापति थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार जंगीअड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै नेपाली सेनाको वेबसाइटमार्फत सम्पत्ति सार्वजनिक गरेको घोषणा गरेका हुन् ।
 
‘मैले आजैका मितिमा वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेको छु, सेनाभित्र सुधार र परिवर्तन ल्याउन यो कदम चालिएको हो,’ प्रधानसेनापति थापाले सम्बोधनका क्रममा भने ।
 
प्रधानसेनापति भएलगत्तै सेनाभित्रका विकृति सुधार गर्ने योजनाअनुसार ‘प्रधानसेनापति मार्ग निर्देशन कमान्ड २०७५’ लागू गरेका थापाले सेनाभित्रको क्यान्सरलाई आफ्नो कार्यकालमा निको पारेरै छाड्ने प्रतिबद्धतासमेत जनाए ।
 
‘सेनाप्रति आमनागरिकको विश्वास र भरोसा छ, मैले त्यो भरोसालाई अझ उच्च बनाउन आफ्नो कार्यकालमा सेनाभित्रको क्यान्सरलाई निको पारेर त्यो लक्ष्य पूरा गरेर निस्कन्छु,’ प्रधानसेनापति थापाले भने ।
 
थापाले सेनामा आबद्ध अधिकृत तथा रथीवृन्दहरूलेसमेत आफूले चाहेमा सम्पत्ति विवरण सार्वजनिक गर्न सक्ने जनाए । थापाले सेनाभित्र भ्रष्टाचार छानबिन नहुने अनियमितता हुन्छ भन्ने आरोप लाग्ने गरेकाले त्यस्ता आरोप लाग्न नदिन अब छानबिनको सुरुवात हुने जनाए ।
 
उनले गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्दा पछि परिने भन्दै आफूले गरेका काम हिरो बन्न नभएको र अझै कहीँ कतै कमजोरी भए सबै तहका सैनिकलाई औंल्याइदिन पनि आग्रह गरे ।
 
प्रधानसेनापति थापाले नेपाली सेनामा गरिएको सर्वेक्षणबाट आफूले एक वर्षको अवधिमा गरेको काम ७० प्रतिशत बढी सफल भएको दाबी गरे । शान्ति सेनाको कोटाबारे आफूले चालेको कदम चुनौतीपूर्ण भएको तर सेनामा घट्दो आकर्षणलाई आफ्नो सो कदमले फाइदा पुगेको उनले जनाए ।
 
आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन् ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV