सत्यमोहन सिक्कामा



काठमाडौं । नेपाल राष्ट्र बैंक, टक्सार विभागले वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको छ ।
 
जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्कासन गरेको हो । विसं १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा उनको जन्म भएको थियो ।
 
ललितपुर महानगरपालिकाको आग्रहमा राष्ट्र बंैकले क्युप्रोनिकेल धातुबाट बनेको १०० दरका (तौल २५ ग्राम, व्यास ३७ एमएम, निष्कासन संख्या १० हजार थान) र चाँदीबाट बनेका १००० (तौल १० ग्राम, व्यास २९ एमएम, निष्कासन संख्या २५ हजार थान) र २५०० रुपियाँको सिक्का (तौल ८ दशमलब ५ ग्राम, व्यास २९ एमएम, निष्कासन संख्या १० हजार थान) निष्कासन गरेको थियो ।
 
राजा, राजपरिवारका सदस्यबाहेक जीवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्कासन गर्न पाउने वाङ्मय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुन् ।
 
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलनभन्दा अघि जीवित छँदा राजा र राजपरिवारका सदस्यहरूको मात्र टकमरी गरिएका सिक्का निष्कासन हुने गर्दथ्यो ।
 
‘जोशी जीवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो’, प्रवक्तासमेत रहेका निरौलाले भने, ‘सिक्का निष्कासनले जोशीको योगदानलाई अविस्मरणीय बनाउनेछ ।’
 
टक्सारले नेपालका ऐतिहासिक अवसर एवं सामाजिक र सांस्कृतिक निधिहरूलाई अविस्मरणीय बनाउनका लागि स्मारिका सिक्का निष्कासन गर्दै आएको छ ।
 
आजको नेपाल समाचारपत्र दैनिकमा सुनील महर्जनले यो समाचार लेखेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV