राष्ट्रिय सभाको शून्य समयमा के–के भने सांसदले ? (भिडियोसहित)



काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकको शून्य समयमा सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएको भन्दै दोषिलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नवलपरासीमा कार्यालय हिडेकी युवतीमाथि १० जनाको समूहले सामुहिक बलात्कार गरेको, रसुवाका ११ र ६ वर्षिया बालिकाको बलात्कार भएको भन्दै उनले बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जाँदा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको बताइन् ।

त्यसैगरी, मुक्ता कुमारी यादवले प्रदेश २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरेर भए पनि अपराधीलाई फाँसीको सँजायको व्यवस्था गर्न माग गरिन् ।

सांसद नैनकला ओझाले मोरङ्गको क्षेत्र नम्बर ३ को राधा नगरमा तेल उत्खनन गर्ने भनिए पनि २५ वर्ष देखि काम सुरु हुन नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले बैठकमा सांसदहरुले उठाएको सवालको सम्बन्धित मन्त्रालयले जवाफ दिनेतर्फ गम्भीर नभएको भन्दै संसदीय मामिला हेर्ने कानुन मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद बलराम प्रसाद बास्कोटाले हरेक चाडपर्वमा कृत्रिम अभाव शृजना हुने, गुणस्तरहीन सामान र खाद्यान्नमा मिसावट हुने गरेको भन्दै त्यसतर्फ समयमै सोच्न सरकारको ध्यानार्षण गराए ।

सांसद मीना बुढाले रोल्पा जिल्लाको सहित मार्ग पहिरोका कारण अवरुद्ध भएको भन्दै पहिरो हटाई सवारी यातायात सुचारु गराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन् ।

त्यस्तै सांसद युटोल तामाङले मुगु जिल्लाका बाढी पहिरो प्रभावितका लागि क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV