सरकारद्धारा मिठाई पसलको अनुगमन, खाद्य परिकार परीक्षण गरिने



काठमाडौं । सरकारले काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिएको छ ।

दशै, तिहारजस्ता चाँड पर्वलाई लक्षित गरेर कृषि विकास मन्त्रालयकै अग्रसरतामा बुधबारबाट काठमाडौंको मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको हो ।

कृषि राज्यमन्त्री रामकुमारी चौंधरी नेतृत्वको बजार अनुगमनमा निस्केको सरकारी टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित आँगन, गुलाव र सजन गोथ मिठाई पसलको अनुगमन गर्यो ।

गुणस्तरीय खाद्य बस्तुको उत्पादन र विक्री वितरणका लागि सम्बन्धित निकायलाई सचेत गराउन अनुगमनको कामलाई तीव्रता दिइएको कृषि राज्यमन्त्री चौंधरीले जानकारी दिइन् ।

उनले अनुगमनको क्रममा तीन वटै पसलहरुको व्यवस्थापकीय पक्ष कमजोर देखिएकाले उनीहरुले उत्पादन गरेका मिठाई र मिठाईका परिकारहरुको गुणस्तर चेकजाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको बताइन् । सरकारले सबै खाद्य बस्तु उत्पादन तथा विक्री वितरण केन्द्रहरुमा अनुगमनको कामलाई तीव्रता दिने योजना बनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता बैद्यले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताइन् । उनले अनुगमनका क्रममा सफाईमा धेरै कमजोरी भेटिएको पनि बताइन् । मिठाई पसलमा प्रयोग गरिएका घ्यू, रंगको गुणस्तरीयतामाथि प्रश्न उठेकाले त्यसको परीक्षणका लागि लगिएको विभागले जनाएको छ ।

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुज्ञा–पत्र लिएर मात्रै खाद्य बस्तुको विक्री वितरण गर्न पनि व्यापारीहरुलाई निर्देशन दिएको छ ।

विभागकी महानिर्देशक बैद्यले अनुज्ञा पत्र लिएर मात्रै खाद्य बस्तुको विक्री वितरण गर्न सम्बन्धित सबै निकायलाई सचेत गराइएको जानकारी दिइन् ।

सरकारले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनका लागि काठमाडौं उपत्यकामा मात्रै दैनिक नौ वटा टोली परिचालन गर्ने दावी गर्दै आएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV