नेकपा सचिवालय बैठक: उपनिर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी महासचिवलाई (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले मंसीरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव पौडेललाई दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले थप गृहकार्य गरेपछि पार्टी एकताका बाँकी काम टुंगो लगाउन सचिवालय बैठक बस्ने तयारी छ । पार्टी प्रवक्ता श्रेष्ठले सांगठनिक एकताका बाँकी काम टुंगो लगाउन फेरि बस्ने सचिवालय बैठकमा छलफल हुने जानकारी दिए ।

नेकपामा आयोग, जेष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका विभिन्न निकायको एकता टुंगो लाग्न बाँकी छ । केन्द्रीय विभागहरुको प्रमुख–उपप्रमुख तोके पनि विभागले पनि पूर्णता पाउन सकेका छैनन् ।

ओली सिंगापुरबाट फर्किएपछि दुई अध्यक्षबीच शुक्रबार नै भेटवार्ता भएको थियो । शुक्रबार स्वास्थ्य अवस्थाका विषयमा कुराकानी भए पनि आइतबारदेखि भने दुई अध्यक्षबीच निरन्तर पार्टी र सरकारलाई प्रभावकारी पार्ने विषयमा छलफल सुरु भएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV