'संविधान सडकबाट संशोधन हुँदैन, प्रक्रिया संविधानमै छ' (भिडियोसहित)

सन्दर्भ : संविधान दिवस



काठमाडौं । संविधान दिवसको अवसरमा शुक्रबार देशैभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सरकारले औपचारिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेको छ भने विभिन्न राजनीतिक दल तथा संघ संस्थाले पनि छुट्टाछुट्टै रुपमा कार्यक्रम गर्दैछन् ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस मनाउन थालिएको छ । संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग हामीले संविधानका विभिन्न पक्षमा कुराकानी गरेका छौँ ।

२००७ सालदेखिको जनताको चाहना

संविधान राणा शासन र राजाका शासनहरुमा पनि आएका थिए । त्यो बेला राणा र राजाहरुले ल्याएका थिए । अहिले जनताका प्रतिनिधिले संविधान बनाएका छन् । पहिलो पटक जनता संविधान प्रति आकर्षित बने । नेपालमा २००७ साल देखिकै जनताको चाहना संविधानसभाबाट संविधान बनाउने भन्ने थियो ।

जनता कमजोर र शासक बलियो भएको अवस्थामा जनताको संविधान आउन सकेन । ०६२/६३ सालको संघारमा आइपुग्दा संविधानसभाको माग भयो ।

संविधान निर्माण गर्न निर्णायक भूमिकामा संविधानसभाको गठन गर्ने सहमति भयो । पहिलो पटक संविधानसभाको चुनाव भयो, तर यो कार्यकालको ४ बर्षमा विगठन भयो ।

तर जनताको शक्तिले फेरि दोस्रो संविधानसभाको निर्वाचन भयो । दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी ग¥यो ।

जनता पहिलो पटक सार्वभौमसत्ता सम्पन्न

जनताका लागि संविधान जारी भयो । तर फरक के भयो त ? यसको उत्तर जनता सार्वभौमसत्ता सम्पन्न भए । यो कुरालाई हामीले संविधानको प्रस्तावनामा लेखेका छौँ । नेपालका यसअघिका संविधान शासकबाट जारी भएका थिए ।

अहिलेको संविधान जनताका प्रतिनिधिबाट जनताले जनताकै लागि जारी गरिएको छ । संविधान भन्दा माथि अहिले कोही पनि छैन । संविधानको विकल्प पनि छैन । यस्तो पृष्ठभूमिमा संविधान बनेको छ ।

संविधानका ऐतिहासिक पक्ष

समावेशीतामुलक सहभागिता, समानता र अधिकार सम्पन्न ऐतिहासिक संविधान बनाएका छौँ । २०४७ सालमा संविधान बने पनि त्यसमा परिवर्तन र परिमार्जन गर्न नसकिने भन्ने कुरा थियो ।

६० वर्षसम्म कमा र फुलिष्टपसमेत परिवर्तन गर्न नमिल्ने व्यवस्था गरियो । यसले जनताले जनताको संविधान बनाउनका लागि वातावरण बन्यो ।

हामीले सबै कुरा परिवर्तन गरेका छौँ । जनताको मन जितेर लचिलो संविधान बनाएका छौँ । त्यसैले राजनीतिक परिवर्तनका लागि यो संविधानलाई आधार बनाएर अगाडि बढ्न सक्ने व्यवस्था गरिएको छ ।

अब ‘समृद्ध नेपाल, सुखी नेपाली’को लागि लाग्नु पर्ने हुन्छ । शान्ति प्रक्रियाको बाँकी काम पनि हामीले सम्पन्न गर्नुपर्ने छ ।

संविधानले बिरोध गर्ने ठाउँ दिएको छैन

२०४७ सालको संविधान ल्याउनका लागि पञ्चात विरोधी आन्दोलन सबै पक्षले गरेका हौँ । त्यो समयमा तत्कालिन राजाले दलका प्रतिनिधि राखेर आयोग बनाए ।

आयोगले दिएको प्रतिवेदन र सुझावका आधारमा राजाले विषयबस्तुलाई काटछाट गरेर संविधान जारी भएको थियो । त्यसैले त्यो संविधानको स्रोत राजा नै थिए ।

त्यो समयमा ६० वर्षसम्म संविधान परिवर्तन गर्न नमिल्ने व्यवस्था राखिएको थियो । संविधान परिवर्तन गर्दा पनि केही विषयबस्तु परिवर्तन गर्न सकिदैनथ्यो ।

अपरिवर्तनिय व्यवस्था संविधानमा राखेकै कारणले हामीले राजा फालियो । त्यहीँ पृष्ठभूमिलाई आधार बनाएर जनताको संविधान बनाइएको हो । अब राजनीतिक व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्न आवश्यक छैन ।

संविधानले जनताको आवश्यकताअनुसार संविधान परिमार्जन गर्ने व्यवस्था प्रत्याभूत गरेको छ । त्यसका लागि जनताको मन जित्ने र आर्शिवाद लिनु पर्छ ।

अहिलेको संविधान ल्याउनका लागि बिरोधमा रहेका दलहरु पनि लागि परेकै हुन् । संविधान जारी भएपछि पनि संविधान कार्यान्वयनमा वा संवैधानिक व्यवस्थाअनुसार उनीहरु चलेकै छन् ।

केहीले सिंगै प्रदेश सञ्चालन गरेर बसेका छन् । तर उनीहरुका केही बुँदा समेट्नु पर्यो भन्ने फरक मतको रुपमा मैले लिन्छु । उहाँहरुको कुरा भनेको संविधान संशोधन गरेर जानुपर्छ भन्ने रहेको मैले बुझेको छु ।

सहमति, छलफल र सहभागिताका आधारमा रहेर नै यो संविधान बनाएको हो । यो संविधानले बाँकी असहमतिलाई पनि छलफल र सहमतिमा टुङ्याउने ठाँउ दिएको छ । संसारभरको प्रचलन पनि यहीँ नै हो ।

ऐतिहासिक संविधान

मैले संविधान जारी गर्ने समयमा संविधानसभाको अध्यक्षको कुर्सीबाट सबैलाई आग्रह गर्दै भनेको थिए, 'हामीले ऐतिहासिक संविधान बनाएका छौँ । अब संविधान कार्यान्वयनमा सबैजना एकजुट भएर लाग्नु पर्छ । संविधानमा सबै प्रकारका व्यवस्था छन् ।' विवेक हामीले लगाउनु पर्छ ।

संविधान प्रति सयमा सय सन्तुष्टि कुनै पनि देशमा छैन । परिवर्तनका आवाजहरु, संशोधनका आवाजहरु सबै ठाउँमा सुनिन्छन् ।

हाम्रो छिमेकी देश भारतमा १२२ पटक संविधान संशोधन भएको छ । त्यहाँ पनि असन्तुष्टि छन् । सबैले स्वीकार गरेका पनि छैनन् । संशोधनका कुरा उठाउनेले संविधान मान्नुपर्छ ।

संविधान संशोधन भनेको संसदमा हुने कुरा हो । त्यसैले उहाँहरुले सम्झौता गर्नुपर्छ । सबैको चित्त बुझेको कहीँ पनि हुँदैन । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्नुपर्छ ।

शुभकामना

हामीले एउटा महत्वपूर्ण इतिहास बनाएका छौँ । पाँच वर्ष भन्दा धेरै समय लगाए पनि संविधान बनाएका छौँ । सम्पूर्ण नेपालीलाई एकतावद्ध गर्ने संविधान हामीले निर्माण गरेका छौँ । राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्ता सम्पन्न भन्नेबाहेक सबैकुरा संशोधन गर्न सकिन्छ ।

अहिलेको आवश्यकता संविधान कार्यान्वयनको कुरा हो । त्यसैले हामी सबै एकताबद्ध भएर अगाडी बढौं । सबैको कुरा सुन्न र सम्बोधन गर्न सक्ने संविधानको सबैले कार्यन्वयनमा लागौं ।

शान्ति प्रक्रियाका बाँकी काम पनि टुंगोमा पुर्याउनु पर्छ । संविधान दिवसको अवसरमा सबै नेपाली आमा–बुबा, दाजुभाइ दिदीबहिनी तथा दलका नेताहरुलाई शुभकामना व्यक्त गर्दछु ।

 

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV