भुईंमा उभिएको एउटा अग्लो मान्छे



  • राजकुमार दिक्पाल

सुखी र प्रतिष्ठित जीवन बिताउँदै गरेकाहरु विगतमा आफूले भोगेको दुःख, कष्टहरु बताउन हिच्किचाउँछन् । त्यस्तो आडम्बर नेपालीहरुमा प्रचुर देखिन्छ । अहिलेको सुख र प्रतिष्ठा विगतको दुःखकष्टले खोस्न नसक्ने गौरव हो । आडम्बरीहरुलाई यस्तो गौरवपूर्ण महत्वले छोए पो !

तर प्रा.डा. टङ्कप्रसाद न्यौपाने आजको सुख र प्रतिष्ठा हिजोको गरीबी, दुःखकष्ट र संङ्घर्षलाई नआत्तिइकन सामना गरी प्राप्त भएको सम्पत्तिका रुपमा लिनुहुन्छ । उहाँ विगतमा आफू अति निम्न परिवारबाट आएको अनि मन्दिरमा चढाइएका अक्षताहरु बटुलेर धोईपखाली पकाएर खाई हुर्किएको हाकाहाकी भन्न धक मान्नुहुन्न ।

उनै प्रा.डा. न्यौपाने यसै साता नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली भाषामा सेवा गरेवापत पुरस्कृत भएको सुन्न पाउँदा यो लेखकलाई कम्ती आनन्द आएन !

तीन वर्षअघि पनि उहाँकै सन्दर्भमा एउटा आनन्दायक खबर पाएको थिएँ । टङ्क सरको नागरिकस्तरबाट अभिनन्दन हुने । यो खबर पनि मेरा लागि उत्तिकै खुसीको थियो । अहिलेको खबरले पनि कम्ता खुसी भएको छु र म !

त्यसको लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रस्तावक भएको खबरले खुसीमाथि झन् खुसी थपेको थियो । कर्म गरिरहे प्रतिभाको पहिचान हुने रहेछ । भाषाशास्त्री तथा साहित्यसेवी टङ्क सरको कर्मले यस्तै सन्देश दिन्छ ।

पत्रकारिता र स्नातक तहको अध्ययन गर्दै धरानमा साढे चार वर्षजति बसें । म स्नातक तहको विद्यार्थी हुँदा टङ्क सर क्याम्पस प्रमुख हुनुहुन्थ्यो । मलाई उहाँले चिन्ने कुरै भएन । मेरा लागि टङ्क सर अपरिचित हुनुहुन्नथ्यो । एउटा सञ्चारकर्मीको हिसावले म उहाँसँग जति नजिक हुनुपर्ने हो, त्यसबेला त्यो सम्बन्ध कायम भएन हामीबीच । म २०५२/५३ साल तिरको कुरा गर्दैछु ।

क्याम्पस प्रमुख भइरहेको बेला उहाँले आस्था राख्ने पार्टी नेपाली कांग्रेससमर्थक प्राध्यापकहरु नै विरोधमा उत्रिए । बनारसबाट प्रतिबन्धित नेपाली कांग्रेसको पर्चा बोकेर नेपाल आउँदा राजकाज मुद्दा खेप्ने टङ्क सरलाई उहाँकै पार्टीनिकट प्राध्यापकहरुले किने खेदो खनेका होलान् भनी सोच्थेँ । तर यसबारेमा भित्री कुरा कहिल्यै बुझ्ने प्रयास गरिनँ ।

त्यसबेलासम्म क्याम्पस प्रमुखबाट राजिनामा दिइसक्नुभएको थियो, उहाँले । उहाँ प्रशासनको झन्झटिलो बोझबाट मुक्त भएर कक्षा कोठामा ज्ञान बाँड्न थालिसक्नुभएको थियो । पछि महेन्द्र बहुमुखी क्याम्पसबाट मैले स्नातक तहको पढाई पनि सकें । अनि धरान पनि छाडेँ ।

सुरुमा धरानमा संगत गरेका साथीहरु टङ्क सरको विषयमा कुरा गर्दै भन्थे, ‘टङ्क सर त सुकुम्बासी हो नि !’ छाताचोकका चिया पसलमा बसेर गफिने प्राध्यापकहरु उहाँको कुरा काट्दै उहाँलाई ‘लघुमानव’ भनिरहेका हुन्थे । शारीरिक बनावट सानो कदको भएकोले उहाँलाई लघुमानव भनेका होलान् ! तर टङ्क सरभित्र मैले कहिल्यै लघुताभास भएको अनुभूति गरिनँ । विद्वताको कसीमा कुरा गर्ने हो भने उहाँका कर्म घामजस्तै छर्लङ्ग छ । टङ्क सर लघुमानव हुनै सक्नुहुन्न । उहाँ हिमालचुली हुनुहुन्छ, हिमालचुली ।

...

पछि रहर र बाध्यताको मिश्रण बोकेर म काठमाडौं आएँ । काठमाडौंमै पत्रकारिता र प्राध्यापन दुवै पेशालाई समानान्तर रुपमा अघि बढाउँदै थिएँ । अचानक टङ्क सरको फोन आयो, ९ वर्षअघि । उहाँ आठपहरिया भाषामा विद्यावारिधि गर्ने क्रममा धनकुटामा अनुसन्धानरत हुँदा जिल्ला विकास समितिमा एकपटक भेट भएको थियो । मैले आदरसाथ नमस्कार गरेको थिएँ । उहाँले नमस्कार त फर्काउनुभयो, तर उहाँका निम्ति अपरिचित थिएँ म । उहाँले आफ्नो विद्यार्थी सम्झेर होला, यति मात्रै भन्नुभयो, ‘के छ ?’

तर उहाँले मलाई ७ वर्षअघि धरानबाट टेलिफोन गर्दा चिरपरिचित ब्यवहार गर्नुभयो । सोचेँ, टङ्क सरका लागि अनुहारले परिचित नभए पनि मेरा कर्महरुसँग उहाँ परिचित हुनुहुँदोरहेछ ।

खासगरी दीपा एवाई राईको कविता सङ्ग्रहको विमोचनको मिसन लिएर टङ्क सर काठमाडौं आउँदै हुनुहुन्थ्यो । म एउटा सञ्चारकर्मी भएको नाताले मलाई निम्तो दिन पनि उहाँले मसँग सम्पर्क बढाउनुभएको भन्ठानें ।

...

टङ्क सरसँग काठमाडौंमा भेट भएपछि सोचें, भाषा र साहित्य भनेपछि हुरुक्क हुने यी विद्वानको बारेमा आफू कार्यरत अखबारको परिशिष्टाङ्कमा केही लेखौं न । पूर्वाञ्चलमा रहेर बालकृष्ण पोखरेलपछि भाषाशास्त्रमा हलचल मच्चाइरहेका यी विद्वानका अन्तरकुन्तर खोतलेर प्रकाशमा ल्याउने बिचारले बागबजारको जयदुर्गे गेस्ट हाउसमा उहाँसँग भेट गर्न गएँ ।

उहाँ बोल्दै जानुभयो, मैले टिप्दै गएँ । आफ्नो जीवनका अन्तरकुन्तरका कुरा जति खोतल्दै जानुहुन्थ्यो म उति नै भावुक हुन्थे ।

उहाँका विषयमा टिपन टापन गरेर कार्यालयमा फर्केर एउटा फिचर लेखिसक्दा मेरा दुवै आँखा ओभानो थिएनन् । फिचर टाइप गरिसकेपछि आँखा पुछें र दुःख र सङ्घर्षले निर्माण भएको उहाँको विराट ब्यक्तित्वलाई हात उचालेर सलाम गरें ।

हाम्रो भेट काठमाडौंमा भयो, आत्मीयता साटियो । काठमाडौंको भेटपछि मात्रै मैले टङ्क सरलाई भित्री रुपमा चिनें । उहाँका आन्तरिक संघर्षका आयामहरु अध्ययन गर्ने मौका पाएँ । त्यसपछि हो, मेरो टङ्क सरप्रतिको आस्था बढेर गएको । मेरो आस्थाका केही सिमित हिमालचुलीहरुमध्ये एक हुनुहुन्छ, टङ्क सर ।

सानै हुँदा आमा बित्नु । अर्काको दूध खाएर हुर्कनु । बुवा पक्षघातग्रस्त हुनु । दुवै बाबुछोरा धनकुटाको चुङमाङबाट जिविकाको मेलो खोज्दै तीन दिन हिडेर विजयपुर आइपुग्नु । त्यहाँको मन्दिरमा बास बस्नु । दान र सहयोगबाट बाबुछोराको वृत्ति चल्नु । यस्तो अवस्थामा गुज्रेर पनि पढाईमा अब्बल हुनु । पढाईलाई निरन्तरता दिनु । पढाई सकेर शिक्षण पेशामा लाग्नु । त्यतिखेरै एउटा ठूलो विद्वान घरानाका चेलीसँग उहाँको मगनी सम्पन्न हुनु । यो मगनीलाई लिएर धरानमा अचम्मले हेरिनु । विहेलगात्तै जेल पर्नु । छुटेर आएपछि अनेक सङ्घर्षको भुमरीमा पर्नु । प्राध्यापन सुरु गर्नु । विद्यावारिधि गर्नु । अनि प्राध्यापक पदमा पुग्नु ।

जीवनमा यी आयामहरुबाट गुज्रदा टङक सरभित्रको धैर्यता सामान्य खालको थिएन भन्ने स्पष्ट हुन्छ । उहाँमा यस्तो धैर्यता नभएको भए त टङ्क सरका विषयमा यी पङ्तिहरु लेखिने थिएनन् । अहिले हामी उहाँको बारेमा लेख्न पाउँदा गौरव अनुभूति गर्छौं ।

...

विस्तारै टङ्क सरको ब्यस्तता बढ्दै गएको देखियो । कहिले कुन साहित्यिक कार्यक्रमको प्रमुख अतिथि, कहिले कहाँको सम्मान तथा पुरस्कार ग्रहण । कहिले साहित्यिक यात्रा । कस्तो लाग्न थाल्यो भने पूर्वाञ्चलमा टङ्क सर नै सम्पूर्ण रुपमा यो वा त्यो नभनी भाषा तथा साहित्यको नेतृत्व गरिरहनुभएको छ । फेरि हरेक कार्यक्रम हुनुभन्दाअघि र कार्यक्रम सम्पन्न भएपछि टङ्क सरको फोन आइहाल्ने, ‘राजकुमारजी, यस्तो पनि हुन लागिरहेको छ त । यसो पो गरियो त हौ ।’ पूर्वाञ्चलमा अरु पनि छन्, प्रा.डा.हरु । तर टङ्क सर सबैभन्दा व्यस्त ।

‘सर आजभोली खुब व्यस्त हुनुहुन्छ नि ?’ काठमाडौं आएको बेला उहाँलाई सोधें ।

‘तपाईंले गर्दा त हो नि यो सबै भएको,’ उहाँले मलाई अचम्म पार्दै उत्तर दिनुभयो । मैले नाक र आँखा खुम्च्याएर फेरि सोधें, कसरी ? मैले के गरें र ?

‘तपाईंले मेरो बारेमा जुन ढङ्गले प्रकाश पारिदिनुभयो, मेरो बारेमा धेरैले थाहा पाएछन्, त्यसपछि मेरो ब्यस्तता बढिहाल्यो नि,’ उहाँले भन्नुभयो ।

टङ्क सरको सङ्घर्ष र विद्वताको बारेमा मैले फिचर लेखेपछि उहाँको व्यक्तित्वका बारेमा धेरैलाई अवगत भयो, र उहाँजस्तो संघर्षबाट खारिएर आएका विद्वानलाई सम्मानित र पुरस्कृत गर्नुपर्ने आवश्यकता ठाने विद्वतपूजकहरुले ।

जब मैले अन्नपूर्ण पोस्ट दैनिकको २०६६ साल माघ ६ गतेको अंकमा टङ्क सरको फिचर लेखें, त्यसको केही दिनपछि पुरानो बानेश्वरस्थित ‘गुरुकुल’ परिसरमा भेट हुँदा भट्टराई सर (प्रा.डा. गोविन्दराज भट्टराई) र कुमार सर (डा. कुमार कोइराला)ले मलाई स्याबासीको धाप मार्नुभएको थियो । उहाँहरुले भन्नुभएको थियो, ‘एउटा असल मानिसको बारेमा लेख्यौ है भाई ।’

एकातिर यस्तो स्याबासी पाउनु, अर्कातिर टङ्क सरको ब्यस्तता बढ्नुले स्पष्ट हुन्छ, सूचनामा शक्ति छ । सूचना ज्ञान हो र ज्ञान शक्ति हो । मैले सञ्चारलाई यसरी नै बुझेको छु । एउटा ओझेलमा परेका विद्वानको विषय प्रकाशमा ल्याउन पाउनु मेरै लागि गौरवको विषय थियो । यसअघि लेखेरै प्रतिभाशाली कलाकार कुवेर राईलाई पुनःस्थापित गर्न पहल गरेको, तीनधारा सँस्कृत छात्रावासको एकाधिकार तोड्न सफल भएको यस प्रसङ्गमा पनि सम्झना आउने गर्छ ।

यहीँ फिचर पढेर तत्कालिन पुनरावेदन अदालतका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले टङ्क सरबारे ‘अक्षरको अभिवादन’ प्रकाशमा ल्याउनुभएको रहेछ । मैले त यो अग्रज विद्वतपूजक शिवाकोटीकै शब्दहरुबाट यो सूचना पाएँ ।

...

सबैलाई थाहा छ, टङ्क सर एउटा निश्चित विचारमा आवद्ध हुनुहुन्छ । त्यही विचारले देशको राजनीतिक परिवर्तनमा लाग्दा उहाँले जेलनेल भोग्नुभयो । तर उहाँले आफ्नो विद्वत कर्ममा यो विचार वा यो जाति भन्नुभएन । अझ उहाँले सिमान्तकृत समुदायको भाषाको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । त्यसैले सबै पक्षबाट उहाँ सम्मानित ब्यक्तित्व हुनुहुन्छ । सबै पक्ष उहाँलाई सम्मान गर्न त्यतिकै तयार भएका होइनन् । यस्ता विद्वानको खोजी खोजी पूजा गर्नुपर्छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV