नेपाली उत्पादनको प्रवर्द्धन गर्नुपर्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो अवलोकन गरेका छन् ।

नेपाली उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले आयोजना गरेको पाँच दिने प्रदर्शनी अवलोकन गरी उनले केही उत्पादनसमेत खरीद गरे । सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रियामा सभापति देउवाले नेपाली उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए ।

अवलोकनमा सांसदहरु पुष्पा भुसाल र दिव्यमणि राजभण्डारी पनि सहभागी थिए । धागो उत्पादक सङ्घका अध्यक्ष पवन गोल्यानले उनलाई नेपाली धागो र कपडा उद्योगका विषयमा जानकारी गराए ।

धागोमा नेपाल आत्मनिर्भर भए पनि कपडा अझै आयात गर्न बाध्य हुनु परेको उनले सुनाए । हाल मागको १५ प्रतिशत कपडा मात्र नेपालमा उत्पादनमा हुन्छ । पचासी प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको धागो उत्पादक सङ्घले जनाएको छ ।

धागो भने वार्षिक रु ११ अर्बको निर्यात हुने गरेको छ । विद्युत् र बैंक ब्याजदरमा सहुलियत दिए कपडामा पनि आत्मनिर्भर बन्न सकिने व्यवसायीको भनाइ छ । चोरी पैठारी र न्यून बिजकीकरणको समस्याले पनि नेपाली कपडा उद्योगलाई असर गरेको छ । यसलाई रोक्न पनि व्यवसायीले सरकारसँग माग गरेका छन् ।

आइतबारसम्म चल्ने प्रदर्शनीमा दर्शकको उल्लेख्य उपस्थिति छ । नेपालीको महान् बडादशैँ तथा शुभ दीपावलीको पूर्वसन्ध्यामा प्रदर्शनी आयोजना गरिएको हो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV