भैरहवा विमानस्थल एयर रुटको लागि भारतसँग सहमति: मन्त्री भट्टराई



काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवा विमानस्थलका लागि एअर रुटको विषयमा भारतसँग सहमति भएको बताएका छन् । राजधानीमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले सो एअर रुटको विषयमा भारतसँग सहमति भएको बताएका हुन् ।

‘भैरहवा रुटको लागि सहमति भएको छ । नेपालगनञ्ज र महेन्द्रनगरको रुटको विषयमा भारतसँग कुरा भइरहेको छ’, उनले भने,‘यो विषयमा चाँडै टुंग्याउने प्रयासमा लागेका छौं ।’

भैरहवा विमानस्थल यसै वर्षको डिसेम्बरसम्म निर्माण कम्पनीले हस्तान्तरण गरीसक्ने उनको दावी थियो । भैरहवा विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख विमानस्थलसँग कुरा भइरहेको उनको भनाई थियो । उनका अनुसार जी टु जी मोडलमा विमानस्थल सञ्चालन गर्ने निर्णय भए अनुसार म्युनिखले आवेदन दिएको छ ।

यस्तै, मंसिरभित्र त्रिभुवन विमानस्थलको अध्यागमन विश्वकै राम्रोमध्ये एक हुने बताए । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन व्यापक सुधार भइसकेको समेत मन्त्री भट्टराईको दावी थियो ।

भ्रमण वर्षका लागि भिसा सहज

मन्त्री भट्टराईले भ्रमण वर्षका लागि विदेशी पर्यटकका लागि भिसा प्रणाली सहज बनाउने बताएका छन् । अनलाइन आवेदनसँगै भुक्तानी पनि अनलाइनबाटै गर्न मिल्ने दावी गरेका थिए ।

मन्त्री भट्टराईले युरोपेली युनियनले नेपाली जहाजलाई कालोसूचीमा राखेको विषयमा यूरोपमा रहेका नेपाली दूतावासमार्फत कुरा भैरहेको पनि जानकारी दिए ।

युनियनको सर्तअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायमा छुट्याउने गरि कानुन निर्माण भैरहेको बताए । नेपाल वायुसेवा निगमको सुधार समेत छिट्टै हुने उनको भनाई थियो ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने प्रतिबद्धताबाट सरकारपछि नहटेको बताए । भ्रमण वर्ष सफल पार्नका लागि सचिवालय नै बनाइएको तर अपेक्षाअनुसार काम नभएको बताएका थिए ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV