‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्यो’



बुटवल । नेपालमा मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले शनिबार बुटवलमा आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रियाका वक्ताहरुले मुलुकमा मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएको बताएका हुन् ।

साथै, सहभागी वक्ताहरूले राजनीति विचारसँग असहमति राख्दैमा कुनै शक्तिलाई प्रतिबन्ध लगाउन नहुने समेत बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धले देश गम्भीर खतरामा फस्ने भन्दै जिम्मेवार बन्न सरकारलाई सुझाव पनि दिएका छन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अमर पुनले पछिल्लो समय नेपालमा मानव अधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको टिप्पणी गरेका छन् ।

‘एउटा कम्युनिस्ट पार्टीको सरकार छ, अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाइएको छ,’ उनले प्रश्न गरे, ‘यो कस्तो कम्युनिष्ट शासन हो ?’ नेता पुनले आफू रोल्पाको बासिन्दा भएकाले माओवादी जनयुद्ध भोगेको उल्लेख गर्दै अहिले पनि युद्ध जारी रहेको दाबी गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नम्बर ५ का सांसद भोजप्रसाद श्रेष्ठले मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको विषयमा सरकार गम्भीर बन्नुपर्ने आग्रह गरे ।

उनले विप्लव नेतृत्वको नेकपामाथि राजनीतिक व्यवहार गर्न सरकारलाई अनुरोध गरे । उनले विप्लवका के कुरामा असहमति छन् त्यसमा छलफल गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

नेकपा क्रान्तिकारी माओवादीका प्रदेश ५ का इन्चार्ज प्रेम सुवेदीले सरकारले न्युनतम कम्युनिस्ट आचरण भुलेको भन्दै सरकारको रबैयाले पञ्चायतकालको झल्को दिएको टिप्पणी गरे ।

जनअधिकार अभियान नेपालका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता एकराज भण्डारीले मानव अधिकार विधेयकले सरकारले निरङ्कुसताको अभ्यास गरेको भन्दै यसको विषयमा सचेत रहन आग्रह गरे । यस्तै, वामपंथी बुद्धिजीवी एवम् वरिष्ठ अधिवक्ता दिल साहानी, जनअधिकार अभियान नेपालका उपाध्यक्ष देवबहादुर पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रमेश विष्टलगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV