भिमसेन मन्दिरका पुनर्निर्माण लागि बृहत् पदयात्रा



ललितपुर । भिमसेन मन्दिर पुनर्निर्माणका लागि एक दिनमै १० लाख रुपैयाँ संकलन भएको छ । पाटन दरबार क्षेत्रमा रहेको सो मन्दिर पुनर्निर्माणका लागि शनिबार आयोजित बृहत पदयात्राका सहभागीहरुबाट सो रकम जम्मा भएको हो । मन्दिरमा २०७२ बैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको थियो ।

ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा भइरहेको भिमसेन मन्दिर पुनर्निर्माणमा सहयोग जुटाउन र नेपाल भ्रमण वर्षको प्रचारात्मक अभियानको रुपमा पदयात्रा आयोजना गरिएको थियो । पदयात्रामा सहभागी हुने प्रति व्यक्तिको रजिष्टेशन शुल्क वापत प्रतिव्यक्ति ५०० रुपैयाँ लिइएको थियो । 

पदयात्रामा सहभागी २ हजार जनाले दिएको ५/५ सय रुपैयाँ बाट सो रकम जम्मा भएको संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । ‘रकम जम्मा हुनु मन्दिर पुनर्निर्माणमा सबैको अपनत्व भएको बलियो प्रमाण हो । सबैको अपनत्व हुनुपनि आवश्यक छ । ’ अध्यक्ष महर्जनले भने, ‘पदयात्रामा देखिएको उल्लेखीय सहभागीताले हाम्रो सम्पदा, हामी आफै बनाऔं भन्ने नारालाई सबैले मनैदेखि मनन गरेको रुपमा लिएका छौं ।’

पाटन दरबार क्षेत्रबाट शुरु भएको पदयात्रा ग्वार्को, सिद्धिपुर, हरिसिद्धि, धापाखेल, ठेचो, बुंङ्गमती हुँदै करिब १४ किलोमिटरको यात्रापछि खोकनामा समापन गरिएको थियो । लिच्छविकालीन र मल्लकालीन बस्तीहरुको परिक्रमाबाट ती बस्तीहरु पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएको संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले बताए ।

पदयात्रामा ललितपुर क्षेत्र नम्बर २ का सांसद् कृष्णलाल महर्जन, ३ का सांसद् पम्फा भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, प्रदेश ३ का सांसद्द्वय राजकाजी महर्जन, शोभ शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतको सहभागिता रहेको थियो ।

पदयात्रामा सहभागी हुनेलाई कुमारी बैंकले प्रायोजन गरेको टिसर्ट र खोकनामा नेवाः भोज खुवाइएको बैंकका प्रमुख अमिरप्रताप जबराले जानकारी दिए । यसअघि पदयात्राको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रले गरेको महत्वपूर्ण प्रयासको रुपमा पदयात्रालाई लिएको धारणा राखे ।

अध्यक्ष महर्जनका अनुसार मन्दिर पुनर्निर्माणका लागि एभरेष्ट बैंकका अध्यक्ष बि.के. श्रेष्ठबाट १ करोड रुपैयाँ प्राप्त भइसकेको छ । त्यसैगरी ललितपुर महानगरपालिका र प्रदेश नं ३ ले चालू आर्थिक वर्षमा क्रमशः १ करोड र ५० लाख रुपैयाँ विनियोजित गरेको बजेट पुस्तिकामा उल्लेख गरिएको छ । विभिन्न दाताहरुबाट ५० लाख रुपैयाँ जुटिसकेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV