आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ औं जन्मदिन


SHARES

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज १०१ औं जन्मदिन । वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरे नेपाली साहित्यको क्षेत्रमा स्वच्छन्दतावदी भावधारा र परिष्कारवादी शैली भएका प्रसिद्ध साहित्यकार हुन् ।

घिमिरेले फुटकर कविता, खण्डकाव्य, गीतीनाटक, कथा, अनुवाद लेखनजस्ता साहित्यका विधामा कलम चलाएका छन् । बाल्यवस्थादेखिनै साहित्य लेखनमा सक्रिय घिमिरेले हालसम्म पनि त्यसलाई निरन्तरता दिँदै आएका छन् ।

राष्ट्रकविका रुपमा सम्मानित घिमिरेले १४ वर्षको उमेरमा वि.सं. १९९२ सालको गोरखापत्रमा ज्ञानपुष्प शीर्षकमा पहिलो कविता प्रकाशित गराएका थिए । उनका नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नर–किन्नरी (२०३३) जस्ता कवितासंग्रह प्रकाशित छन् ।

उनले वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक पदमा रही काम गरे । २००५ सालमा गोरखापत्रमै सह–सम्पादक भए । घिमिरे वि.सं. २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए ।

‘गाउँछ गीत नेपाली’, ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखे सपना’ जस्ता कालजयी गीतका सर्जक घिमिरे वि.सं. २०१४ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भए । पछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे ।

राष्ट्रकवि माधव घिमिरेका केही कृतिहरु :

नव मञ्जरी
गौरी (शोककाव्य)
मालती मङ्गले (गीतिनाटक)
हिमालपारि हिमालवारि (गीतिनाटक)
राजेश्वरी
इन्द्रकुमारी
राष्ट्रनिर्माता
किन्नर–किन्नरी (गीतसङ्ग्रह)
चारु चर्चा (निबन्ध)
आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)

पुरस्कार तथा सम्मान :

राष्ट्रकवि माधवप्रसाद घिमीरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मानद्वारा सम्मान गरिएको थियो । त्यस्तै वि.स.२०७५ मा महाउज्ज्वल पदकबाट पनि घिमिरे सम्मानित भएका छन् ।

त्यस्तै वि.स.२०५४ सालमा हिमालपारि हिमालवारि, तथा २०५८ मा चारु चर्चाका लागि उनले साझा पुरस्कार प्राप्त गरेका छन् । उनलाई नेपाली सेनाको मानार्थ सहायक रथीका रुपमा पनि सम्मानित गरिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV