‘प्रधानमन्त्रीको पक्षमा सडकमा प्रदर्शन गर्न लगाएर पार्टी एकता विरोधी काम गरियो’ « Nagarik Khabar

‘प्रधानमन्त्रीको पक्षमा सडकमा प्रदर्शन गर्न लगाएर पार्टी एकता विरोधी काम गरियो’



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेका छ । विवाद सुल्झाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर छलफलमा छन् । यद्यपि, समाधान निकाल्न सकेका छैनन् । यहीबीच छिमेकी मुलुकका प्रतिनिधिहरुले पनि सक्रितिा बढाएका छन् । छिमेकी मुलुकका सञ्चारमाध्यमहरु पनि नेपालको विरोध र प्रधानमन्त्रीको विरोधमा उत्रिएका छन् । यही विषयवस्तुमा केन्द्रित रहेर नेकपा केन्द्रीय कमिटी सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालसँग कुराकानी गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादलाई कसरी हेरिरहनुभएको छ ?

यस बेला नेकपाले सरकार सञ्चालन गरिरहेको छ । सरकारले देशमा आएको संकटलाई नेतृत्व गरिरहेको छ । पार्टीभित्र यो बेला विवाद हुनु हुँदैन थियो । तर, त्यही भयो । विवादले कार्यकर्ताहरु चिन्तित छन् ।

यसको पृष्ठभूमिमा जानु पर्दा गत बैशाख ८ गते जसरी मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट दुईवटा अध्यायदेशहरु जारी भए । यहीँबाट पार्टीमा अविश्वासको वातावरण सिर्जना भयो । केका लागि अध्यायदेश आयो ? पार्टी फुटाउने अध्यायदेशको उद्देश्यले के हो ? संवैधानिक निकायहरुलाई मौजुदा परिस्थितिबाट परिवर्तन गरेर नियुक्ति गर्नुपर्ने किन आवश्यकता महसुस भयो ? राजनीतिक दलहरुसँग संवाद नगरेर त्योभन्दा पनि आफ्नै पार्टीभित्र छलफल नभएर त्यो कसरी भयो ?

यी कुराले नेतृत्वको बीचमा एकप्रकारको अविश्वास सिर्जना भयो । अहिलेको विवादको विन्दु त्यही नै छ । मार्क्सवादले कुनै पनि विवाद एकाएक सिर्जना हुन्छ भन्दैन । विवाद सिर्जना हुन केही कारणहरु हुन्छन् । विवाद सिर्जना हुन केही परिस्थितिहरु लामो समयदेखि विकसित भइरहेका हुन्छन् । त्यसलाई एउटा गुणात्मक रुपमा प्रकट हुनका लागि केही न केही कारण चाहिन्छ भन्ने कुरामा विश्वास गर्छ । नेकपाको विवाद चाँहि वैशाख ८ गतेको सरकारको कदमले सिर्जना भएको हो ।

पार्टी फुट्नु हुँदैन भनेर तल्लो तहदेखि शीर्ष नेतृत्व पनि वैचारिक बहसमा छ । तर, अहिलेसम्म परिणाम किन देखिएन ?

पूर्णरुपमा हामी त्यो भन्न सक्दैनौं । यद्यपि अपेक्षित बेलामा परिणाम आएन भन्न चाहिँ सक्छौं । म दोहोर्याउन चाहन्छु, जुन एकता भयो । एकताको नेतृत्व पार्टीका अध्यक्षद्वयले गर्नुभएको हो । दुईटा भिन्नभिन्न अवस्थाम रहेका कम्युनिष्ट पार्टीहरुलाई निर्वाचनको मोर्चामा लैजाने, जनअनुमोदन प्राप्त गर्ने, त्यसपछि सरकार निर्माण गर्नुका साथ साथै पार्टी एकता घोषणा गर्ने कामको नेतृत्व उहाँहरु दुईजनाले गर्नुभएको हो ।

मलाई विश्वास छ, यो अहिलेको संकटबाट समाधान दिने जिम्मेवारी पनि उहाँहरुको हो । उहाँहरु यसमा सफल हुनुहुनेछ । केही कोणहरु मिलेको छैन । पार्टीमा विभिन्न नेताहरुको क्षमता र विशेषताका साथै रुचिहरुको अवस्था, कार्यकर्ताहरुको व्यवस्थापन र सरकार सञ्चालनको सम्बन्धमा जुन खालको प्रश्न उठेका छन्, यसलाई वस्तुगत धरातलमा उभिएर हामीले केलायौं भने समाधान टाढा छैन । समाधान सम्भव छ । समाधान निस्किन्छ । पार्टी विभाजन हुँदैन ।

पार्टी एकताले अझै पूर्णता पाउन बाँकी छ । अध्यक्षद्वयको समर्थकहरुबीच केही स्थान विवाद समेत भइरहेको छ । यसले कस्तो सन्देश जाला ?

समस्या जहाँ छ, त्यहाँ उपाय खोज्नुपर्छ । समस्या नेतृत्वमा छ । नेतृत्वको बीचमा अन्तरविरोध उत्पन्न भएको छ । त्यो अन्तरविरोधलाई जनवादी केन्द्रीयताको अभ्यास, शैलीद्वारा समाधान गर्नुपर्नेछ । त्यसका लागि पार्टीका सर्वोच्चव कमिटीका बैठकहरु बसिरहेका छन् । स्थायी कमिटीको बैठक बसिरहेका छ । आवश्यकताअनुसार सचिवालयको पनि बैठक बस्छ । आवश्यकता पर्यो भने केन्द्रीय कमिटीको बैठक पनि बस्ला ।

यो बेलामा पार्टीका यो वा त्यो नेताको नाम दुरुपयोेग गर्दै सडकमा प्रदर्शन गरी उत्तेजना सिर्जना गर्ने, पार्टी विभाजनलाई अझ बल पुर्याउने, एकता खलल पार्ने र एउटा विषाक्त वातवरण बनाउने कोसिस भएको छ । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । अत्यन्त खेदजनक छ । यसले पार्टीलाई फाइदा गर्दैन । जो जसले यो काम गरेर बहादुरी कमाउँछौं । नम्बर बढ्छ भन्ने ठान्नुभएको छ, उहाँहरुले यो पार्टी एकतालाई बल पुर्याइराख्नु भएको छैन । कतिपय मानिसहरुलाई लागेको होला यसरी दवाव सिर्जना ग¥यो भने निर्णय प्रभावित हुन्छ कि ? हुँदैन पार्टीको निर्णय गर्ने आफ्नो स्थापित पद्धति छ । आफ्नो नेतृत्वको सुजबुझपूर्ण प्रयास जारी छ । यो बेलामा आफ्नो तर्फबाट दवाव दिनु आफ्नो ठाउँमा ठिकै होला । तर, यो कोरोनाको महामारीको बेलामा अझ काठमाडौं उपत्यकामा नै कोरोनाको संक्रमण देखिरहेको बेलामा युवाहरुलाई उचालेर उरालेर उनीहरुलाई सडकमा प्रदर्शनमा ल्याउनु चाहिँ यो अत्यन्त गैरजिम्मेवार र पार्टी एकता विरोधी काम हो ।

केन्द्रीय कमिटीकै सदस्यहरु धर्नामा छन् ?

सडकबाट त्यसलाई सच्याउन सकिँदैन । यो कुनै सडक संघर्षको विषय होइन । केन्द्रीय कमिटीका पहललाई उचित रुपमा लिनुपर्छ । उहाँहरुको पनि यसमा केही आफ्नो भूमिका होस्, पार्टीलाई सकारात्मक रुपमा दवाव पुगोस्, नेतृत्वलाई बल पुगोस् भनेर नै यो गरिरहनुभएको छ ।

पार्टी कार्यलयमा सिष्ट रुपमा आफ्नो विचार आदनप्रदान गर्ने चिन्ता आदनप्रदान गर्ने नेतृत्वलाई एकतावद्ध भएर जानका लागि बल पुर्याउने र सुझाव दिने जुन कुरा छ, यसलाई हामीले अरु कुरासँग जोड्न मिल्दैन । सडकमा भएको अराजकतासँग जोड्न मिल्दैन ।

प्रधानमन्त्रीको अभिव्यक्ति र अहिलेको विवादमा छिमेकी मुलुक भारत र विशेष चिनियाँ हस्तक्षेप बढेको हो ?

पहिलो कुरा प्रधानमन्त्री अभिव्यक्ति अत्यन्त गैरजिम्मेवार र पार्टी एकतालाई खलल पु¥याउने खालको छ । उहाँलाई प्रधानमन्त्री कुनै मुलुक विशेषले बनाएको होइन । नेकपाले बनाएको हो । नाम नै लिनुहुन्छ भने तत्कालीन एमाले संसदीय दलको नेताको रुपमा लिनुहुन्छ भने माधवकुमार नेपालले प्रस्ताव गर्नुभएको हो । बाहिरबाट समर्थन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको हो । उहाँ प्रधानमन्त्री हुँदा साढे दुई वर्षको लिखित सम्झौतासहित हुनुभएको थियो । पार्टी एकता भएपछि काम गर्ने क्रममा राजनीति अस्थितरता आउँछ, तपाईले नै पाँच वर्ष सरकार चलाउनुस् भनेर मार्ग प्रशस्त गरिदिने व्यक्तित्व पुष्पकलम दाहाल ‘प्रचण्ड’ नै हुनुहुन्थ्यो ।

आज कुनै कारणवस विवाद आयो भने त्यसलाई भारतसँग लिएर जोड्ने, नेताहरुको मानमर्दन गर्ने प्रवृत्तिले पार्टी पद्धति र पार्टी संस्कारलाई बढवा दिँदैन । यो अत्यन्त आपत्तिजनक छ । यसले पार्टीका नेताहरुको मन कुड्याएको छ । यसले पार्टीभित्र गम्भीर संसय पैदा गरेको छ । म नभई भने कसैले पनि गर्न सक्दैन भन्ने जुन मानसिकता यो कम्युनिष्टसँग सुहाउने मानसिकता होइन । प्रधानमन्त्रीले यस्ता कुराहरु अभिलम्ब सच्याउनु पर्छ । यस्तै, कारणले गर्दा अहिले विवाद उत्कर्षमा पुगेको छ ।

दोस्रो, चीनको प्रसंगमा । हो चिनियाँ राजदूतले हाम्रा केही नेताहरुलाई भेट्नुभएको छ । यसलाई पहाड खसेजस्तो गर्नु हुँदैन । हाम्रा दुई ठूला छिमेकी छन् । भारत र चीन । नेपालमा के हुन्छ भन्ने कुराले उनीहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति पनि प्रभावित हुने गर्छ । त्यसले गर्दा नेपालमा के हुँदैछ, कसो हुँदैछ भनेर चासो राख्नु, आफ्नो नीति बनाउनु नेताहरुको मुखबाट कुरा सुन्नु यसलाई हामीले अन्यथा मान्नु हुन्न । खाली उहाँहरुले भेटेर हामीलाई यो गर्नुस्, त्यो गर्नुस् भनेर कसैले डिक्टेट गर्नुहुन्छ कि गर्नुहुन्न त्यो गर्नु भएको छैन । त्यो हिम्मत कसैलाई छैन ।

नेकपाले बहुमत ल्याएको छ, नेकपाको नेतृत्व सक्षम छ । नेकपाभित्र छलफल हुन्छ । कुनै समस्या आयो भने हामीले समाधान गर्छाैं । हाम्रो मित्रहरुले चासो राख्नु, सरोकार राख्नु र त्यसअनुसार आफूलाई अपडेट गर्नुलाई हामीले अन्यथा रुपमा लिनु पर्दैन । कुनै हस्तक्षे भएको छैन । यसमा कुनै तलमाथि हुने प्रश्नै हुँदैन । आफ्ना धारण बनाउन के हुँदैछ नेपालमा भनेर बुझ्नका लागि नेपालका जिम्मेवार र आधिकारिक नेताहरुसँग भेटघाट गरेर कुराहरु आदानप्रदान गर्नुलाई न हस्तक्षेपको अर्थमा लिन मिल्छ न सहयोगको अर्थमा मिल्छ । यो एउटा शिष्टचार भेट हो ।

चीनको सक्रियता कम्युनिष्ट पार्टी एकताकै लागि भनिन्छ नि ?

त्यस्ता सुभेच्छाको हामी स्वागत गर्छौं । नेपालमा स्थिरता हुनुपर्छ, पार्टी फुट्नु हुँदैन भनेर चीन, भारत, अमेरिका, बेलायत जसले भन्नु हुन्छ उहाँहरु सबैलाई हाम्रोतर्फबाट हार्दिक धन्यवाद छ । चीनले नेपालमा कम्युनिष्ट पार्टी फुट्न हुुँदैन भन्यो भने त्यो के अपराध भन्यो ? पार्टी फुट्नुपर्छ, यहाँ छियाछिया हुनुपर्छ राजनीतिक अस्थिरता हुनुपर्छ भन्नु पो गलत हो त ।

चीनको चासो हुनुको अर्को अतिरिक्त कारण पनि छ । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच मित्रतापूर्ण सम्बन्ध छ । दुई पार्टी कयौं अन्तर्राष्ट्रिय फोरमहरुमा एकै ठाउँमा पनि छौं । हाम्राबीचमा विचारको आदानप्रदान पनि हुन्छ । त्यसले गर्दा पार्टीगत रुपमा पनि चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीकाबीच सम्बन्ध हुनुलाई संसारले बुझेको छ। स्वीकार्छ पनि । त्यस हिसाबले नेपालमा के हुँदैछ भनेर चीनले आफ्नो सरोकार प्रकट गरेको मात्र हो । यो कुनै हस्तक्षेपको तहमा होइन ।

अर्को कुरा के निवेदन गर्छु, नेपाल र चीनको बीचमा कुरा हुँदा भारतलाई ल्याउन आवश्यक छैन । भारत र नेपालबीचमा कुरा हुँदा चीनलाई बीचमा ल्याउन आवश्यक छैन । भारतको आफ्नो सरोकार र चासो हुन्छ । भारतले आफ्नो हिसाबले गतिविधि गर्छ । चीनको पनि आफ्ना चासो र सरोकारहरु छन् ।

देशका नागरिक बचाउनु पर्ने बेला पार्टी अन्तरविरोधका कारण सरकार पार्टी बचाउनमा लागेको छ । यसलाई छिमेकी मुलुकले कसरी हेरिरहेको पाउनुहुन्छ ?

हामी सरकारलाई बनाउन चाहन्छौं । प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन चाहन्छौं । सरकारविरुद्ध पार्टीभित्र प्रश्नहरु उठिरहे र त्यो प्रश्नहरुको निरुपण भएन भने सरकारले प्रभावकारी ढंगले काम गर्न सक्दैन । हामीले सरकारलाई प्रभावकारी बनाउने भनेकै पार्टीभित्र एकतावद्ध प्रयास अगाडि बढाएर मात्र हो । जब उठेका प्रश्नहरुलाई समाधान गर्छौं, अनि मात्र सरकारले प्रभावकारी काम गर्न सक्छ । यसका लागि पनि पार्टीमा कुरा उठिसके पछि सरकारका बारेमा छिनोफानो हुनुपर्ने आवश्यकता हुन्छ ।

यही सरकार जारी रहन्छ, यसलाई अझ प्रभावकारी बनाउनुपर्छ । यसभित्र के के कमिकमजोरीहरु हुन्छन्, यसलाई सच्याएर कमरेड केपी ओलीको नेतृत्वमा अझ प्रभावकारी ढंगले सरकार चलाउँछौं हामी । अब उहाँले पार्टीका काममा केन्द्रित हुनुस्, अर्को नेताले नेतृत्व गर्नुपर्छ भने यदि पार्टीले निष्कर्ष निकाले भने त्यसैगरी हामी सबै एकतावद्ध भएर त्यो सरकारलाई सफल बनाउन अगाडि लाग्छौं । त्यसले गर्दा भारतले, अमेरिकाले यसमा के गर्छन्, के भन्छन् भन्ने लेबलको हाम्रो अपेक्षा पनि होइन । यो लेवलले उनीहरुले भन्दा पनि भन्दैन ।

नेपालमा राजनीतिक स्थिरता, दलहरुबीच एकता र संविधान कार्यान्वयन होस् भन्ने बारेमा हाम्रा कुनै पनि छिमेकी मुलुक मात्र होइन, हाम्रा अन्य मित्र राष्ट्रहरुअपेक्षा छ ।

कोरोना महामारीका बेला सरकारको भूमिका कस्तो रह्यो ?

कोरोनाको बारेमा नेपाल सरकारले खेलिरहेको भूमिकालाई हामीले दुईवटा परिप्रेक्षमा हेर्नुपर्छ । एउटा विश्वव्यापी र अर्को राष्ट्रिय पक्ष । विश्वव्यापी रुपमा अहिले कुनै पनि मुलुकले उदार मनले सहयोग गर्ने अवस्थामा छैन । सबै मुलुक आक्रान्त नै छन् । यस्तो अवस्थामा अलि कति माथि आएको चीन हो । त्यहाँ पनि पुन बीचमा संक्रमण फैलिन्छ कि भन्ने त्रास पनि थियो । सम्भवतः त्यो नियन्त्रण पनि भइसक्यो ।

बाँकी मुलुकहरु हेर्नुहुन्छ भने ठूल–ठुला शक्ति राष्ट्रहरु पनि कोरोनका कारण अस्तव्यस्त भएका छन । सबैभन्दा धेरै मान्छे विकसित मुलुकमा मरेका छन् । सबभन्दा बढी बिरामी सबैभन्दा बढी स्वास्थ्य सुविधा भएको देशहरुमा भएका छन् ।

राष्ट्रिय परिप्रेक्षमा हेर्दा हामी यस्ता खालका महामारीका लागि तयार नै थिएनौं । हामीसँग अहिले पनि २०० को हाराहारीमा मात्र भेन्टिलेशन मेसिन छ । स्वास्थ्यकर्मीको संख्या एकदम न्यून छ । अस्पतालको संख्या न्यून छ । हामीसँग सामान्य ट्याबलेट पनि उत्पादन गर्न सक्ने क्षमता छैन । हाम्रो यति विकट गाउँहरु छन्, जहाँ स्वास्थ्य चौकीसम्म आउन दुई तीन दिन हिँड्नु पर्ने अवस्था छ । बाटा घाटो पुगेको छैन । बत्ति पुगेको छैन । स्वास्थ्य केन्द्र धेरै टाढाको विषय छ । त्यसले गर्दा यस्तो अवस्थामा पनि सरकारले कसरी भूमिका निर्वाह गर्यो । गरेको छ । नागरिकलाई सुरक्षित बनाउनका लागि सरकारले भूमिका निर्वाह ग¥यो यसका लागि नेपाल सरकार धन्यवादको पात्र हुनुहुन्छ । समयमै लकडाउन गर्यो । समयमा नै सुरक्षाका उपायहरु अपनाए जसले गर्दा धेरै मात्रमा कोरोना संक्रमण फैलिन पाएन ।

तर, सीमा जोडिएको कारणले भारतबाट मानिसहरु फर्केपछि कोरोनाको महामारीलाई रोक्ने सकेन । मजदुरीका लागि भारत पुगेको दाजुभाइहरु संकटका बेला आफ्ना गाउँठाउँ नआउ भन्नु मानवीय रुपमा पनि ठिक हुँदैन थियो । उनीहरु फर्किंदा सीमामा चेकजाँच गर्ने, होल्डिङ सेन्टरमा राख्ने, त्यही आइसोलेशन सेन्टरहरु बनाउने र स्वास्थ्य सुविधा त्यही उपलब्ध गराएर मात्र घर पठाउने गर्नुपथ्र्यो, त्यो हामी चुक्यौं । तर, नजानेर पनि होइन होला । सम्भवत हाम्रो क्षमता नै पुगेन । प्रदेश सरकारहरु पनि त्यति सक्षम हुन सकेनन् । केन्द्र सरकार पनि सीमानामा होल्ड गरेर उनीहरुको स्वास्थ्य उपचार गरेर घर घरमा पठाउने व्यवस्था गर्न सकेन ।

भारत बाहेकका देशबाट आएकाहरुको कुरा गर्नुहुन्छ भने सरकारले राम्रोसँग ह्यान्डिल गरेको छ । चीनबाट आएका हरुलाई खरिपाटीमा राखेर त्यत्रो दिन उपचार गर्याे । अहिले पनि विदेशबाट आएकाहरुको सिधै होल्डिङ सेन्टरमा लगेर उपचार पछि मात्र घर पठाउने गरेको छ । जसले गर्दा रोग फैलिन पाएन ।

अन्त्यमा, अब नेकपाको विवाद कसरी अगाढि बढ्छ ? मिल्ने आधार के छ ?

नकेपा फुट्दैन । नेकपा कुनै पनि हालतमा फुट्दैन । यहाँभित्र उठेका अन्तरविरोधहरुलाई हामी मित्रवत ढंगले हल गर्छौं । मिल्ने आधार तीन करोड जनता हो । ती जनताले निर्वाचनमा दिएको दुई तिहाई मत हो । त्यस मतको जगमा भएको निर्वाचित हाम्रा प्रतिनिधिहरु हुन् । जनताले हामीमाथि गरेका विश्वास हो । हामीले अबको पनि त्यो कुरा बुझ्न सकेनौं । अझै पनि टुटफुट भएर अर्को चुनावमा गयौं भने मैले भन्ने गरेको छु, अहिले त मास्क लगाएर जाउँला कोरोना छ । जनताबीचमा त्यो बेला कसरी मुख देखाउने, जनतालाई के जवाफ दिने, हामीले इतिहासमा गरेको जनताप्रति गरेको योभन्दा ठूलो भद्धा मजाक के हुन्छ । जनताले हामीलाई दुई तिहाई भोट दिने बदलामा जनताको सपना चकनाचुर पार्दै हामी विभाजित भएर जनतामा जाने ?

हामीले हिजो नेपाली कांग्रेसलाई जे आरोप लगाइराखेका थियौं, सत्ता सञ्चालन गर्न सकेन । बहुमत ल्याउँदा पनि सकेन, दुई तिहाई ल्याउँदा पनि सकेन, ठुलो पार्टी हुँदा पनि सकेन । त्यस कारण हामीलाई बहुमत दिनुस् भनेर जुन जनतालाई अपिल गरेका थियौं र हाम्रो अपिल जनाताले सुनेर हामीलाई मत दिएका थिए । ती जनतालाई चुनावमा हामीले के भनेर जाने ? यति नै सरकार बनाउनु थियो । एकचोटी सरकार बनाउने हाम्रो उद्देश्य भन्ने हो भने त मेरो भन्नु केही छैन । नेतृत्वको जेम्मेवारी के हुन्छ भन्दा उहाँहरुले पार्टी एकता गरेर यहाँसम्म ल्याउनु भयो । यसैगरी आफूभन्दा पछाडिको पुस्तालाई पनि सिंगो र एकीकृत पार्टी हस्तान्तरण गर्नु उहाँहरुको दायित्व हुन्छ । उहाँहरुको सफलता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: