वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि प्रचारप्रसार गर्न जानेनौं : प्रवक्ता भट्ट

अन्तर्वार्ता


SHARES

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ देखि वैदेशिक रोजगार बचतपत्रको विक्री सुरु गरेको थियो । १० वर्षमा सरकारले ११ अर्ब रुपैयाँको बचतपत्र निश्काषन गर्दा करिब ५५ करोड रुपैयाँको बचत पत्र मात्र विक्री भएको छ ।

अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा धेरै भए पनि वैदेशिक रोजगार बचतपत्र विक्री हुन किन सकिरहेको छैन ? आवश्यक प्रचारप्रसारको कमी भएर हो या ब्याजदरको कारणले हो अथवा परियोजनामा आधारित बचतपत्र जारी हुन नसकेर विक्री हुन नसकेको हो ।

यसै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टसँग गरेको कुराकानी ।


वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको १० वर्षमा यसको बिक्री खासै हुन सकेन । तथ्याङ्क हेर्ने हो भने पनि ५/७ प्रतिशत मात्र विक्री भएको छ । बचतपत्र विक्री नहुनुको कारण के हो ?

वैदेशिक रोजगार बचतपत्रको बिक्री नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा खुल्ला गरेको हो । त्यतिवेला यसको उद्देश्य वैदेशिक रोजगारीमा गएका नेपालीहरुको आर्जनलाई राष्ट्रिय पूँजी निर्माणमा उपयोग गर्ने र यसका लागि अन्तर्राष्ट्रिय बचतलाई राष्ट्रिय पुँजी निर्माणमा परिचालन गर्न सक्यौं भने यसले अर्थतन्त्रलाई सहज बनाउँछ र पूँजीको परिचालन हुन्छ, बचत बढ्छ र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई पनि राष्ट्रका लागि केही गरिराखेका छौं भन्ने भावनाको पनि विकास हुन्छ भन्ने हो । सरकारले यसमा आन्तरीक ऋण उठाउने विभिन्न उपकरणहरु मध्ये यसलाई पनि प्रयोग गरिएको हो । तर यसान धेरै जोड आन्तरिक ऋण उठाउने भन्दा पनि वैदेशिक रोजगारीमा गएकाहरुलाई बचत गर्न प्रेरित गर्ने र त्यो बचतलाई नेपाल सरकारले विभिन्न परियोजनाहरुमा विकास निर्माणका कामहरुमा उपयोग गर्न सकोस बचत प्रोत्साहित हुन सकोस भन्ने हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल जिवनस्तर सर्वेक्षणले के देखाएको छ भने अधिकांश रेमिट्यान्सको रकम उपभोगमा खर्च भइराखेको छ । त्यसैले बचतमा उपयोग गर्न सकिन्छ भन्ने पनि थियो त्यही क्रममा यसको सुरुवात गरिएको हो ।

बचतपत्रको बिक्रीका लागि आवश्यक प्रचार प्रसारमा खासै ध्यान दिइएन । त्यसैले १० वर्षको अवधिमा अपेक्षाकृत रुपमा बिक्री हुन नसकेको हो कि !

यसको बिक्री त्यति उत्साहजनक हुन सकेको छैन । अहिलेसम्म कुल ११ अर्ब रुपैयाँको बचतपत्र जारि गरिएको मध्ये ५८ करोड रुपैयाँको मात्र बिक्री भएको छ । जुन ५ प्रतिशतको हाराहारीमा हो । अहिले पनि पछिल्लो समय चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वैदेशिक रोजगार बचतपत्रको विक्री वर्षभरीका लागि खुल्ला राख्ने भनियो । पुषदेखि त्यसको बिक्री खुला गरेका छौं । पछिल्लो समय करिब २० करोड रुपैयाँको बचतपत्र निष्काशन गर्यौं तर करिब करिब २० लाख रुपैयाँको मात्र बिक्री भएको छ । यसको पछाडि दुई तीनवटा कारणहरु हुन सक्छन् । एउटा प्रमुख कारण के हो भने वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई हामीले यो विषयमा जानकारी गराउन सकेका छैनौं । यसमा तीन वटा कुरा महत्वपूर्ण छ । एउटा उनीहरुले प्राप्त गर्ने प्रतिफल दर अथवा ब्याज तुलनात्मक रुपमा उच्च छ । जस्तो बैंकमा मुद्यती निक्षेप खातामा पैसा राखिन्छ भने ९ दशमलव २५ प्रतिशत ब्याज पाइन्छ भने यसमा १० प्रतिशत पाइन्छ । त्यस्तै दोस्रो यो जोखिम रहति हो । सरकारी ऋणपत्रमा गरिएको लगानीलाई जोखिम रहित मानिन्छ । रिस्क फ्रि रेट अफ रिटर्न नै १० प्रतिशत हुने भनेको असाध्यै राम्रो हो । त्यसैले वैदेशिक रोजगारीमा जानुभएकाहरुलाई जानकारी गराउन सक्यौ भने विक्री बढ्ने हो । यसमा थप प्रयास गर्नुपर्ने देखिन्छ । तेस्रो यसलाई कुनै परियोजनासँग जोडेर विक्री गर्न खोज्यौं भने त्यसको माध्यमबाट विक्री बढ्न सक्ने देखिन्छ । जस्तो कुनै व्यक्ति कर्णाली प्रदेशको हुन सक्छ र उ वैदेशिक रोजगारीमा गएको हुन सक्छ भने कर्णाली प्रदेशको कुनै परियोजनासँगै जोडेर यसप्रकारको बचतपत्र निश्काषन गरियो भने उसलाई अपनत्व पनि हुन्छ र त्यसबाट यसको विक्री प्रवर्द्धन पनि हुन सक्छ । त्यसैले अहिले भइरहेकोलाई थप परिमार्जन गर्नुपर्ने पनि देखिन्छ ।

बचतपत्रका लागि विभिन्न एजेन्टहरु होलान् तिनको विषयमा जानकारी नहुन सक्छ । त्यस्तै कतिपय अवस्थामा बचतपत्रको ब्याजदर भन्दा बैंकको निक्षेपको ब्याजदर अली बढि पनि देखियो । यसले पनि बिक्री हुन नसकेको हो की ?

बैंक तथा वित्तीय संस्थाहरु यसका लागि बिक्री ऐजेन्टका रुपमा नियुक्त भएका छन् । केही रेमिट्यान्स कम्पनीहरु पनि बिक्री एजेन्टका रुपमा नियुक्त भएका छन् । उनीहरुले पनि बिक्री प्रवर्द्धनका लागि केही मेहनत गर्नुपर्ने देखिन्छ । प्रचार प्रसारमा बिक्री एजेन्टहरुले पनि सघाउने र केन्द्रीय बैंक र नेपाल सरकारले पनि यसको प्रवर्द्धन गर्नका लागि प्रचार प्रसार बढाउनु पर्ने आवश्यकता देखिन्छ । अब जाहाँसम्म बैंकहरुको मुद्यती तिक्षेप १० प्रतिशत भन्दा तल नै छ । अहिले मुद्यती निक्षेपको ब्याजदर नै ९ दशमलव २५ प्रतिशत छ । त्यस्तै बचतपत्रमा लगानी गर्दा जोखिम छैन भनेको के हो भने केहीगरी कुनै बैंकले भविश्यमा तिर्न सकेन अहिले त सबै बैंकिङ प्रणाली राम्रो छ । सामान्य तया बैंकिङ प्रणालीको पारदर्शिताका विषयमा कुनै प्रश्न छैन तर शैद्धान्तिक रुपमा कुनै समयमा कुनै बैंकले तिर्न सकेन अथवा निक्षेप फिर्ता गर्न सकेन भने निक्षेपकर्ताको नोक्सानी हुन्छ । त्यसमा राज्यले केही गर्न सक्दैन । दोस्रो कुरा सरकारले वैदेशिक रोजगार बचतपत्र मार्फत ऋण परिचालन गर्नु भनेको पूँजीगत खर्च विकास परियोजनामै उपयोग गर्ने हो । त्यसैले उपभोग बढाउनका लागि होइन बचत परिचालन गर्नका लागि बचतपत्र हो ।

यस वर्ष मौद्रिक नीतिमार्फत वर्षभरि नै वैदेशिक बचतपत्र खुल्ला राख्ने उल्लेख गरिएको थियो । तर अहिलेसम्म अर्थमन्त्रालयले तालिका सार्वजनिक गरेको छैन । अब कसरी सम्भव छ वर्षभरी बिक्री गर्न ?

सरकारले यो आर्थिक वर्षमा १ सय ९५ अर्ब ऋण उठाउने लक्ष्य राखेको छ । त्यो लक्ष्यमध्ये सरकारले सबै ऋण उठाउने प्रकृया सुरु भएको छैन । सरकारको खातामा अहिले १ सय ७२ अर्ब रकम रहेको अवस्था छ । यसमा स्थानीय तहको बचतलाई समेत जोडिएको छ । त्यसैले १ सय ७२ अर्ब रुपैयाँ स्थानीय तह र केन्द्रीय सरकारको केन्द्रीय बैंकमा निक्षेपको रुपमा रहिरहेको अवस्थामा सरकारले अहिले ऋण उठाउन आवश्यक देखेको छैन । त्यो आवश्यक नदेख्दा नदेख्दै पनि सरकारले यो वर्ष १ अर्बको ऋण वैदेशिक रोजगार बचतपत्र बिक्रीमार्फत परिचालन गर्ने भनिरहेको छ । त्यही क्रममा बचतपत्रको बिक्री पुष महिनादेखि सुरु भइसक्यो । अब निरन्तर एक अर्ब रुपैयाँ सम्मको विक्री नहुन्जेल सम्म वर्षैभरीका लागि हामीले खुला राख्छौं । निरन्तर रुपमा यसको विक्री प्रवर्द्धन गर्न हरेक महिना यसको बिक्री खुल्ला गरिन्छ । गत वर्षसम्म यस्तो हुँदैन थियो । सरकारबाट क्यालेन्डर पास भएर आउँथ्यो र त्यसमा नागरिक बचत पत्र, विकास ऋणपत्रमा लगानी गर्दा जस्तै यसलाई जारी गरिन्थ्यो । यो वर्ष त्यसो नगरौं वर्ष भरी खुल्ला राखौं र कम्तीमा यो वर्ष सचेतना निर्माण आधार विकास हुन सक्छ । यो वर्ष खुल्ला राख्छौं भन्यौं भने अर्को वर्ष मान्छेहरुलाई त्यहि किसिमको अपेक्षा रहन्छ । दोस्रो कुरा बैंकहरुको ब्याजदर ९ प्रतिशत हाराहारीमा छ र भविश्यमा यो भन्दा कम पनि हुन सक्छ । तर वैदेशिक रोजगार बचतपत्रमा कम्तिमा ब्याजदर अहिलेकै दर कायम राखौं भन्ने पनि छ । यसले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई बचत गर्न एउटा इन्सेन्टिभ पनि हुन्छ । तेस्रो कुरा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई वैदेशिक रोजगारीमा जाने बखतमै यो विषयमा प्रशिक्षण दिने अथवा जानकारी दिने गर्यो भने बिक्री बढ्न सक्छ । यसमा प्रतिफल उच्च छ जोखिम न्युन छ भन्ने विषयमा जानकारी गराउनु पर्छ भन्ने छलफल भइरहेको छ ।

वैदेशिक रोजगारी बचतपत्रको उद्देश्य के हो । किन भने सानो रकममा जारी गरिन्छ यसले सरकारको आन्तरिक ऋण उठाउने लक्ष्य पुरा गर्न सहयोग गरेको जस्तो त देखिदैन ?

सरकारले आन्तरिक ऋण परिचालन गर्ने महत्वपूर्ण माध्यमको रुपमा वैदेशिक रोजगारी बचतपत्रलाई लिएको होइन । त्यसो भएको भए यसको अंश ठूलो हुन्थ्यो । १ सय ९५ अर्बमध्ये जम्मा १ अर्बको बैदेशिक रोजगार बचतपत्र रहेको छ । यसको मुख्य उद्देश्य आन्तरिक ऋण परिचालनलाई सहयोग पुर्याउने र सरकारको बजेटलाई फाइनान्स गर्ने भन्दा पनि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको बचतलाई परिचालन गर्ने र राष्ट्रिय निर्माणमै समाहित गर्ने भन्ने हो । यसको माध्यमबाट बचत गर्ने बानीको विकास हुन्छ र जनचेतना पनि जागरण हुन्छ । भविश्यमा कुनै ठूला परियोजनामा लगानी गर्नुपर्याे भने अहिलेको अनुभवलाई हेरेर ठूलो परिमाणमा कुनै परियोजनालाई लक्षित गरेर पनि बैदेशिक रोजगार बचतपत्र निश्काषन गरी फाइनान्सीङ गर्ने एउटा माध्यमको रुपमा यसलाई लिन सक्छौं भन्ने पनि हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १२ गते, सोमबार

menu LIVE TV