मध्यपूर्वको तनावले नेपाललाई पाँच नोक्सान

काठमाडौं । मध्यपूर्वी मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरूले जनाएका छन् ।
विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने उनीहरूले चिन्ता जाहेर गरेका हुन् ।
उक्त तनावले खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरू जोखिममा रहेकाले मानसिक तनाव बढेर नेपाल फर्कन सक्ने हुँदा विप्रेषण आप्रवाहमा अधिक गिरावटको सम्भावना रहेको विज्ञहरूको विश्लेषण छ ।
नेपालबाट रोजगारीका लागि खाडी मुलुकमा जाने कामदारहरूको संख्या अधिक नै रहेको र त्यहाँ तनाव बढ्दा नेपाली कामदारहरू आतंकित भई नेपाल फर्कंदा रेमिट्यान्स घट्ने विज्ञहरू तर्क गर्छन् ।
अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी उक्त तनावको सबैभन्दा ठूलो प्रभाव विप्रेषणमा नै पर्ने बताउँदै भन्छन्, ‘मानवीय दृष्टिकोणले पनि नेपाली जनशक्तिलाई स्वदेश फर्काउनुपर्ने हुन्छ । यसको उचित प्रबन्ध मिलाउँदा खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’
उनीहरू नेपाल फर्किसकेपछि खाडी मुलुकबाट अधिक मात्रामा भित्रने रेमिट्यान्समा कमी हुने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पनि मध्यपूर्वमा तनाव जारी रहेमा नेपालमा सबैभन्दा ठूलो असर विप्रेषण आप्रवाहमा नै पर्ने बताए ।
यी हुन् नेपाललाई हुने पाँच नोक्सान
१. विप्रेषण आप्रवाहमा गिरावट
२. मूल्यवृद्धि
३. पर्यटकहरूको आगमनमा कमी
४. गरिबी निवारणमा असर
५. रोजीरोटी नै गुम्ने खतरा
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा परिवर्तन देवबोटाले लेखेका छन् ।