ओलम्पिक पदक विजेता किमियाको इरान छाड्ने घोषणा

एजेन्सी । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छिन् । २१ वर्षीया किमियाले सामाजिक सन्जालमा आफ्नो निर्णय सार्वजनिक गरेकी हुन् ।
उनले सन् २०१६ मा भएको रियो ओलम्पिकमा ताइक्वान्दोमा कास्य पदक जित्दै इतिहास रचेकी थिइन् । इरानमा प्रताडित लाखौं महिलाहरुमध्ये आफू पनि एक भएको बताउँदै उनले लेखेकी छिन्, ‘म पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहदिनँ ।’
किमियाले आफ्नो पोस्टमा ‘म इरानमा सताइएका लाखौं महिलामध्येकी एक हुँ । म वर्षौंदेखि देशका लागि खेलिरहेको छु । अधिकारीहरूले जे भने पनि मान्दै आइरहें, हर आदेशको पालना गरें तर उनीहरूका लागि हामी कुनै महत्त्व राख्दैन। हामी केवल उनीहरुका लागि प्रयोग हुने हतियार मात्र हौं ।’
उनको पोस्टमा इरानी अधिकारीहरुले कुनै महिलाले खुट्टा तन्काउनु पुन्यको काम होइन भनेर आफ्नो अपमान गर्ने गरेको बताएकी छिन् । त्यसैगरी उनले आफूलाई युरोपबाट आकर्षक प्रस्ताव मिलेको भन्ने आरोपलाई अस्वीकार गरेकी छिन् । कामियाले पोस्टमा आफ्ना आगामी योजनाहरुका बारेमा केही खुलाएखी छैनन् । उनले आफू सधैं इरानको छोरी बनेर बस्ने बताएकी छिन् ।