जम्बुडाँडा गोली काण्ड : ‘गोली हान्‍ने आदेश कसले दियो ?’


SHARES

काठमाडौं । सिन्धुपाल्चोकका विष्णु तामाङलाई प्रहरीले पक्राउ गरी कानुनविपरीत दुवै खुट्टामा गोली हानेको उनका आफन्तले दाबी गरेका छन् । तामाङका आफन्तले सोमार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले ज्यान मार्ने उद्देश्यले विष्णुलाई गोली हानेको जिकिर गरेका छन् ।

आइतबार विष्णुले आत्मसमर्पण गरेर प्रहरीले नियन्त्रणमा लिई गोली हानेको उनको आफन्तले दाबी गरेका छन् । आफन्तका अनुसार आइतबार दिउँसो साढे ३ बजे जोरपाटीस्थित नेपाल मेडिकल कलेज नजिकै खाजा खाइरहेको ठाउँमा प्रहरीको टोलीले विष्णुलाई पक्राउ गरेर लगेको थिए । त्यही साँझ जोरपाटीस्थित जम्बुडाँडामा लगेर गोली हानेको भन्दै आफन्तले आपत्ति जनाएका छन् ।

विष्णुकी पत्नी मनमायाले पतिलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएर गोली हानेको आरोप लगाइन् । ‘यसरी गोली हान्न पाइन्छ ?’ उनले आक्रोस पोखिन्‚ ‘सुरक्षाका लागि खटिएको प्रहरीले नै आत्मसमर्पण गरेको मान्छेलाई गोली हान्छ भने सुरक्षा कसले दिन्छ ?’ मनमायाले आफ्ना पतिलाई कानुनअनुसार कारबाही हुनुपर्ने पक्षमा आफू पनि रहेको तर गोली हान्नेविरुद्ध कानुनी उपचारमा जाने उनले बताइन् ।

‘श्रीमानको खुट्टामा प्रहरीले गोली हानेर घाइते बनाएको छ । ११ वर्षकी छोरी र १३ महिनाको छोरा छ । बालबच्चाको जिम्मेवारी कसले लिने?’ उनले भनिन्, ‘घाइते अवस्थामा उपचारत पतिलाई प्रहरीले भेट्न समेत दिएन ।’

विष्णुका भाइ विश्वले पनि दाजुलाई आफ्नै अगाडिबाट सादा पोशाकको प्रहरीले लिएर गएको बताए । 

स्थानीय पदमबहादुर श्रेष्ठले विष्णुलाई सरकारले लगाएको अभियोग जायज भए नभए पनि पक्राउ गरेर गोली चलाउनु कानुनविपरीत भएको बताए । उनले गैरकानुनी काम गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

‘हतकडी लगाएको अवस्थामा दुईटै खुछ्टामा किन गोली हानियो ?’ उनले प्रश्न गरे‚ ‘प्रहरी प्रमुखले जवाफ दिने कि नदिने ?’

यस घटनाबारे बौद्ध प्रहरी वृतका प्रहरी प्रमुख तथा डिएसपी रमेशबहादुर सिंह जानकारी लिँदा प्रहरी प्रवक्तासँग बुझ्न सुझाव दिए । उनले भने, ‘मैले तपाईलाई भनिसकें प्रवक्तालाई सोध्नू ।’ पीडितका आफन्तले यस विष्णुलाई पक्राउ गर्न महानगरीय प्रहरी वृत बौद्धबाट खटिएका प्रहरी गएको दाबी गरेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले विष्णुले प्रहरीलाई धक्का दिएर भाग्ने प्रयास गरेकाले गोली चलाइएको प्रष्टीकरण दिएका छन् । उनले भने,‘अभियुक्त विष्णु तामाङले प्रहरीलाई धक्का दिएर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।’

काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर २० मा उपचारत विष्णुको भनाइ :

आइतबार साढे तीन बजेतिर पाँचजना साथीहरुसँग खाजा खान लागेको थिएँ । गाउँकै चार दाजुभाइ र अर्को एकजना साथी थिए ।

खाजा खाँदै थियौं । सादा पोसाकमा आएका चारजनाले सोधे । तिमी विष्णु तामाङ हो ? मैले हो भनें । यसपछि दुईजनाले मलाई दाँयाँबायाँ समातेर हतकडी लगाए । उनीहरुले मलाई गोकर्ण वनमा लगे । त्यसपछि ट्याक्सीमा हालेर साँझ जम्बुडाँडामा ल्याए ।

दुईजनाले नै दायाबाया समाएका थिए । अर्कोले गोली हान्यो । र, भने ‘गाडी खोइ, गाडी खोइ ।’ म ढलेछु ।

डेढ वर्षअघि मेडिकल कलेज नजिकै खाजा खाने क्रममा नचिनेका केटाहरुसँग झगडा भएको थियो । झगडापछि म भागेको थिएँ । उनीहरु नेताको आफन्त भनेको सुनेको थिएँ । मेरो गाउँसम्म मलाई खोज्न गएका थिए ।

यस्तै, गाउँमा जात्रामा जाने क्रममा पनि झगडा भएको थियो । यही झगडालाई लिएर रिसइबी साँधियो । मैले कसैको हत्या गरेको छैन । म कुनै गुण्डा नाइके–साइके होइन ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV