एनआरएनए मलेसियाका अध्यक्षको 'सक्कली' चेक, किन खातामा जम्मा भएन ?


SHARES

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराई पछिल्लो समय विवादमा छन् । विवाद सतहमा आएपछि भने अध्यक्ष भट्टराई नैतिक संकटमा परेका छन् । तर, उनले आफ्नो बचाउ भने राम्ररी गरेका छन् ।

उनले श्रमिक कल्याणकारी कोषका लागि ५० हजार रिंगेटको चेक सार्वजनिक कार्यक्रममै हस्तान्तरण गरे । तर, सो चेक अहिलेसम्म पनि एनआरएनए मलेसियाले सञ्चालन गर्दै आएको खातामा जम्मा भएको छैन ।

एनआरएनए मलेसियाका महासचिव हेमराज सापकोटाले पनि अध्यक्षले कल्याणकारी कोषका लागि दिएको रकम अहिलेसम्म संस्थाले सञ्चालन गर्दै आएको खातामा जम्मा नहुँदा आश्चर्य माने । आफूले जुन संस्थाको नाममा काटिएको चेक हो, सोही खातामा जम्मा गर्नुपर्ने सुझाव दिएको बताए ।

उनले भने, ‘जुन संस्थाको नाममा चेक काटिएको हो, सोही खातामा हालौं भनेको हो, ढिला भयो, यसरी ढिला हुँदा राम्रो मेसेज नजाने भनेको हुँ । कोषाध्यक्षसँग हुनु भनेको टीममै रहनु हो भनेर अध्यक्षले भन्नुभयो, व्यक्तिको नाममा भन्दा पनि संस्थाले चलाउँदै आएको खातामा रकम राख्दा राम्रो हुन्छ भनेर सुझाव दिएको थिएँ ।’

एनआरएनए मलेसियाले सीआइएमबी बैंकमा PERSATAN KETURUNAN NEPAL-MALAYSIA नामको संस्थाको खाता (8602887855) स्थानीय दुई नेपालीको हस्ताक्षरमा चल्ने गरी प्रयोग गर्दै आएको थियो । यसअघि सोही खातामै भट्टराईले समेत रकम जम्मा गरेको देखिएको छ । तर, आफैले चेकमार्फत हस्तान्तरण गरेको रकम समेत सो खातामा जम्मा नगर्नुलाई भने एनआरएएन मलेसियाका पदाधिकारी लगायतले आश्चर्यका रुपमा लिएका छन् ।

अध्यक्ष भट्टराईले भने सो खातामा ५० हजार रिंगेट जम्मा गर्न खाता सञ्चालकहरुले नै नमानेको बताए । खातामा धेरै रकम जम्मा गर्दा सरकारले नै सोधखोज गर्ने र समस्या हुने बताएपछि जम्मा नगरेको बताए ।

त्यस्तै, सो खातामा रकम जम्मा गरेपछि रकम निकाल्न अनुरोध गर्न जानुपर्ने, भनेको समयम नहुने लगाएका समस्या पनि रहेकोले आफ्नै टीमको कोषाध्यक्षलाई पारदर्शी रुपमा काम गर्ने जिम्मा दिएको उनले बताए । उनले भने, ‘चेक र पैसा कोषाध्यक्षसँगै छ, पीडित नेपालीहरुलाई पनि समयमै कोषाध्यक्षले रकम दिने गरेका छौं ।’

सहयोग गरेको छ महिनापछि चेक नै नक्कली भन्दै खातामा रकम जम्मा नभएको समाचार सार्वजनिक भएको थियो । अध्यक्ष भट्टराईले भने, ‘मैले त्यति रकम सहयोग गरें, मलाई नै बदनाम गराउँदा मन कति दुख्यो होला भन्नुस त ।’

एनआरएनए मलेसियाका पदाधिकारीहरु नै अध्यक्षको कार्यशैली अपारदर्शी भएको आरोप लगाउँछन् । कोषाध्यक्ष कृष्ण नेपाल पनि अध्यक्ष भट्टराईकै कम्पनीको एकाउन्टेन्ट भएको भन्दै शंका गरेका हुन् । तर, अध्यक्ष भट्टराई भने कोषाध्यक्ष नेपाल आफ्नो एकाउन्टेन्ट नभएको दावी गर्छन् ।

अध्यक्ष भट्टराईमाथि विगतमा पनि विभिन्न आरोप लाग्ने गरेकाले पनि आफैले दिएको रकम खातामा जम्मा नहुँदा एनआरएनए मलेसियाकै अभियन्ताहरुले शंका गरिरहेका छन् ।

एनआरएनए मलेसिया अहिलेसम्म औपचारिक रुपमा मलेसिया सरकारबाट स्वीकृत प्राप्त संस्था बन्न सकेको छैन । त्यसैले पनि उसको खाता मलेसियामा रहेका स्थानीय नेपालीहरुले सञ्चालन गरेको संस्थामार्फत सञ्चालन गर्दै आएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २१ गते, आईतवार

menu LIVE TV