दुई महिनाभित्र जनकपुर–जयनगर रेल चल्छ : मन्त्री नेम्बाङ


SHARES

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्बाङले जनकपुर-जयनगर रेल दुई महिनाभित्रमा सञ्चालनमा आउने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्बाङले यस्तो बताएका हुन् । ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको उनले बताए ।

जिटुजि माध्यमबाट रेल खरिद गरिने छ । दुई महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनम आउने र त्यसपछि बर्दिबाससम्म बिस्तार हुनेमा ढुक्क रहन मन्त्री नेम्बाङले आग्रह गरे । ‘यति दिन भनेर मिति तोक्न सक्दिनँ तर नेपालमा चाँडै रेल सञ्चालन भएको देखिन्छ,’ उनले भने, ‘रेलको बाटो निर्माण भएको देखिन्छ । रेल एने आइसकेको छ ।’

सरकारले संघअन्तर्गत पर्ने बाटोहरुको पुनर्निर्माणका कामहरु गरिरहेको उनले बताए । मन्त्री नेम्बाङले खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको जानकारी दिए । संघअन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको काम भइरहेका र करिब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उनले बताए ।

समिति बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक इञ्जिनियर गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताए । दुई प्रदेश जोडिएको हकमा, समग्र यातायात व्यवस्थापनसम्बन्धी मापदण्ड नीति बनाउने काम संघीय सरकारले गर्ने गरी जिम्मेवारी तोकिएको उनले बताए । मन्त्री नेम्बाङले दुर्घटना कम गर्नका लागि ट्राफिक प्रहरी, गृहमन्त्रालयसँग पनि छलफल भई योजनाहरु बनाउने काम सुरु गरिएको बताए ।

समितिमा सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले जथाभावी डोजर किनेर जथाभाबी सडक निर्माण गरी गाडी गुडाउने गरेको अवस्था रहेको र त्यसलाई कम गर्नुपर्नेमा जोड दिए । जनताको आवश्यकताभन्दा जनप्रतिनिधिहरुले बिनाअध्ययन आफ्नो घरसम्म जाने बाटो निर्माण गरिरहेको तर्फ सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ ।

सांसद विमला राई पौडेलले चालकहरुसँग चालक अनुमतिपत्र छ छैन भन्ने कुरा यात्रुले थाहा नपाउने भएकाले यात्रुले देख्ने गरी कार्ड राख्ने व्यवस्था गर्नुपर्ने माग गरिन् । चालकको नाम ठेगना र लाइसेन्स नम्बर यात्रुले देख्ने गरेर राख्ने व्यवस्था भए यात्रु ठगिनबाट बच्ने उनको भनाइ छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV