घटेन तरकारीको भाउ



काठमाडौं । दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ ।

असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । यो अहिले केही सस्तो भए पनि गत वर्ष यसै अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले सबैभन्दा बढी महँगो सुकेको प्याज भएको छ ।

अघिल्लो वर्ष प्रतिकेजी २५ रुपियाँमा कारोबार भएको प्याज अहिले प्रतिकेजीको ११५ रुपियाँ थोकमा कारोबार भइरहेको छ ।

यस्तै बन्दाको मूल्य पनि अघिल्लो वर्ष यस अवधिको तुलनामा अहिले ३२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस अवधिमा प्रतिकेजी आठ÷नौ रुपियाँ थोकमा पाइने बन्दागोबी अहिले थोकमै प्रतिकेजीको ४० रुपियाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले आलु प्रतिकेजीमा ७० प्रतिशतसम्म महँगो भएको छ भने काउली ४० प्रतिशतसम्म भएको समितिले जनाएको छ ।

आलु पनि गत वर्ष यस अवधिको तुलनामा अहिले ७० प्रतिशतसम्मले महँगो भएको छ । प्रतिकेजी २७÷२८ रुपियाँ थोकमा कारोबार भएको आलु अहिले सो परिणामको आलु थोकमै ५० रुपियाँभन्दा बढी छ ।

समितिका अनुसार सो अवधिमा प्रतिकेजी १२ रुपियाँमा थोकमा किनबेच भएको सेतो मुला अहिले बढेर २५ रुपियाँ, मटरकोसा ३५ रुपियाँ केजीबाट बढेर ६५ रुपियाँ, पाकेको फर्सी २२ रुपियाँबाट बढेर ४२ रुपियाँमा कारोबार भएको छ ।

त्यसो त नेपाल राष्ट्र बैङ्कले यही साता सार्वजनिक गरेको पाँच महिनाको प्रतिवेदनमा तरकारीलगायत खाद्यवस्तुको मूल्य नौ दशमलव ७६ प्रतिशत महँगो भएको उल्लेख छ ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा समग्र महँगी ६ दशमलव ५५ प्रतिशतले बढेको पनि सोही प्रतिवेदनमा छ ।

सरकारले बजेट वक्तव्यमार्फत यस आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ९ दशमलव ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४ दशमल १० प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल, दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च छ ।

सो प्रतिवेदनमा समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा ७ दशमलव ६० प्रतिशत, तराईमा ६ दशमलव ६६ प्रतिशत, पहाडमा ५ दशमलव २७ प्रतिशत र हिमालमा ४ दशमलव ८३ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैङ्कले जनाएको खबर आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV